काँग्रेसको इतिहासमा चितवन जिल्लाले पहिलो पटक कोइरालालाई केन्द्रीय सदस्य पाएको छ । स्थानीय चुनावमा भरतपुर महानगको मेयर दावी गर्दै केन्द्र पुगेका कोइरालाको काँधमा काँग्रेस सभापति शेरवहादुर देउवाले प्रचण्ड पुत्री रेनु दाहाललाई बोकाएर पठाएका थिए । त्यसैले चितवन झर्नासाथ उनको पहिलो बोली थियो , “अस्वभाविक र व्यक्तिलाई फाइदा पुग्ने गठवन्धनको विरुद्धमा दिनेश छ । ”
केपी शर्मा
पुस ६,२०७८ ।
नेपाली काँग्रेसका नबनिर्वाचित केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवनमा स्थानीय चुनावमा जस्तो अब ब्यक्ति केन्द्रित तालमेल नहुने बताएका छन् । मंगलबार भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् ।
पार्टीमा तालमेल स्वभाबिक भएको तर ब्यक्ति केन्द्रित तालमेलले पार्टीलाइ निकास नदिने उनले बताए । केन्द्रबाट अबका दिनमा आफूले चितवनमा ब्यक्तिलाई फाइदा पुग्ने गरी मात्र गठबन्धन हुन नदिने उनको भनाइ थियो । उनले भने,“सबै पार्टी संग गठबन्धन हुन्छ तर स्थानिय चुनावमा चितवनमा भएजस्तो अनायास गठबन्धन भने हुँदैन।” सवै व्यक्ति र पार्टीका नेताहरुसँग एक आपसको सम्वन्ध राम्रो हुनुपर्छ तर सम्वन्ध राम्रो भएकै आधारमा अस्वभाविक रुपमा व्यक्तिलाई फाइदा हुनेगरी कुनैपनि तालमेल हुन नहुनेमा उनको जोड थियो।
चितवनमा हुन बाकी रहेको काङ्ग्रेसको जिल्ला अधिबेशनमा सकेसम्म सर्बसम्मत गराउने पक्षमा आफू रहेको र यदि सो हुन नसके प्रजातान्त्रिक प्रकृयाबाट कार्यसमिति चुनिने उनले बताए ।
नेता कोइरालाले आफूले प्राप्त गरेको भरतपुर महानगरको मेयर टिकट समेत खोसेर रेनु दाहाललाई भोट हाल्नुपरेको यथार्थ सुनाउँदै अवका दिनमा यी कार्य हुन नदिनेगरी आफूले काम गर्ने बताए । साथै त्यो समयको गतिविधिवारे पार्टी समेत सचेत रहेकाले अपवित्र गठवन्धन हुन नदिई चितवनमा काँग्रेसको विरासत फर्काउने र आगामी निर्वाचनमा एक नम्वरको पार्टी बनाउने गरी आफूले काम गर्ने उनको भनाई थियो ।
आफू स्थानीय तथा संघीय कुनैपनि चुनावमा उठ्ने वा नउठ्ने भन्ने निर्णयमा नपुगेको उनले बताए । पदलाई हेरेर आफू केन्द्रमा नगएको उनको भनाई थियो । राजनीतिलाई आधार बनाएर आर्थिक फाइदा लिने नेताहरुका कारण जनतामा निराशा पैदा भएको भन्दै उनले आफू भने सेवा र निस्वार्थ जनताको काम गर्ने बताए । अहिलेको केन्द्रीय कार्यसमिति युवा र पाकापुस्ताको समिश्रण भएकाले आगामी दिनमा काँग्रेस एक ढिक्का हुँदै पहिलो पार्टी हुने उनको दावी थियो ।
काँग्रेसको हरेक आन्दोलनमा अग्रणी भूमिका रहेपनि पदमा रहने अवसर यो पटक कोइरालाले प्राप्त गरेका हुन् । कोइरालाले १७८१ मत पाएर ३५ जना खुल्ला केन्द्रीय सदस्यमध्ये ३० औँ स्थानमा रहेर निर्वाचित भए । ३५ जना आवश्यक पर्नेमा ९९ जना प्रतिस्पर्धामा रहेका थिए ।
कोइराला २०७४ को प्रदेश सभा निर्वाचनमा क्षेत्रनम्वर ३ क बाट उम्मेदवारी समेत बनेका थिए । २००८ मा जेसीजको केन्द्रीय अध्यक्ष रहेका कोइराला विद्यार्थी राजनीतिबाटनै आएका नेता हुन् । २०५७ मा नेविसंघको केन्द्रीय सदस्य, २०५८ मा काँग्रेस चितवनको प्रवक्ता तथा जिल्ला सदस्य र २०५९ सालमा काँग्रेस चितवन काठमाण्डौ मञ्चको अध्यक्ष समेत रहनुभएको थियो । आफू पद र प्रतिष्ठा भन्दापनि काँग्रेसलाइ योगदान दिन केन्द्रीय सदस्यमा आएको कोइरालाको भनाई थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८