मंसिर २४, २०७८
राजनीतिमा आफू स्थापित हुन र हावी हुन अनेक औजार प्रयोग गरिन्छन् । तीमध्ये सबैभन्दा प्रभावकारी औजारचाहिँ दूरदृष्टि राखेर समयमै गरिने सही मुद्दाको उठान र निर्णय क्षमता नै हो । ‘बोल्ड’ निर्णयले एउटा राजनीतिज्ञलाई उठाउँछ, बचाउँछ र टिकाउँछ पनि ।
यस्तो निर्णयमा जति जोखिम उठाउन सक्यो, त्यसमा लाभको पक्ष पनि उत्ति नै हुन्छ । आफूले गरेको निर्णय स्थापित हुन सकेन भने केही पछि परिएला तर उक्त निर्णयमा टिकिरहेमा ढिलोचाँडो त्यसले अवश्य फल दिन्छ, दिन्छ । तर, नेपाली राजनीतिमा तत्कालको लाभहानि हेरेर निर्णय परिवर्तन गर्ने, आफ्नै बोली र वचनबद्धतामा नअड्ने रोग छ । यो रोगबाट सबैभन्दा बढी ग्रसित पार्टी कांग्रेस हो र त्यसमा पनि रामचन्द पौडेलको नाम अग्रपंक्तिमा आउँछ ।
कांग्रेसमा संस्थापनइतर समूहबाट सभापतिमा दावी गर्ने सबैभन्दा वरिष्ठ र बलिया दावेदार रामचन्द्र पौडेल नै हुन् । उनले आफ्नो समूहभित्र मात्र मिलाउन सके भने पनि हालका सभापति शेरबहादुर देउवालाई आच्छुआच्छु पर्नेछ । संस्थापन समूहकै नेता विमलेन्द्र निधिको उम्मेदवारी घोषणाले नै देउवाका नौ नाडी गलाइसकेको छ । त्यसमाथि संस्थापनइतर समूहभित्र एकमत कायम गर्न सफल भएमा पौडेल पहिलो चरणको निर्वाचनबाटै सभापतिको ताज भिर्न सक्ने सम्भावनाको नजिक छन् ।
संस्थापनइतर समूहबाट सशांक कोइरालाले आफ्नो दावी छाडी पौडेललाई समर्थन गरिसकेका छन् । यो चानचुने त्याग होइन । अघिल्लो महाधिवेशनबाट प्रत्यक्ष निर्वाचनमा सर्वाधिक लोकप्रिय मतले जितेका बहालवाला महामन्त्रीले आफ्नो दावी छाडेर वरिष्ठ नेता पौडेललाई काँध थाप्न तयार हुनु पौडेलका निम्ति आफैमा ठूलो उपलब्धि पनि हो । अब यसलाई उनले पुँजीकृत गरी बाँकी असमञ्जस्यता मिलाउँदै जान सक्नुपर्ने हो ।
खासगरी इतर समूहमा प्रकाशमान सिंह र शेखर कोइरालाले दावी छाडेका छैनन् । यिनै दुई पात्रको हठका कारण पौडेललाई गाह्रो परिरहेको छ । यी दुवैका आकांक्षाको सम्बोधन र व्यवस्थापन गाह्रो छैन । त्यसका लागि पौडेलले केही उदार दिल देखाउन जरुरी छ । महाधिवेशनपछिको शक्ति बाँडफाँटमा सम्मानजनक व्यवस्थापन गर्ने वचन उनले दिन सक्नुपर्छ । किनभने, राजनीति भनेकै शक्तिको संघर्ष र व्यवस्थापन नै हो । पौडेलले यसमा सानो चित्त गरेमा केही पाउने छैनन् । बरु बुढेसकालमा प्राप्त हुन सक्ने अन्तिम अवसरबाटै चिप्लिन सक्नेछन् ।
त्यस्तै प्रकाशमान सिंह र शेखर कोइरालाका निम्ति पनि आँखा चिम्लेर मैदानमा हाम फाल्नु आत्मघाती हुन सक्नेछ । यस खेमाबाट तीनजना सभापतिका उम्मेदवार उठ्दा पल्लाभारी शेरबहादुर देउवाकै हुनेछ । पहिलो चरणमै देउवाले सभापति जित्न मुस्किल छ । दोस्रो चरणका निम्ति सिंहले देउवासँग बार्गेनिङ गर्नेछन् र सरकार वा पार्टीमा ठूलो भाग पाउने गरी सम्झौता गर्नेछन् ।
जतिसुकै ठूलो भाग भए पनि सिंहले पाउने भनेको अन्तिममा उपसभापति वा उपप्रधानमन्त्री हो । पौडेलले कार्यवाहक सभापति दिने वाचा गरिदिएमा खेल खत्तम हुनेछ । त्यस्तै राष्ट्रपति र प्रधानमन्त्रीका पदमा पनि तालमेल गर्न सकिनेछ । पार्टीभित्रै बाँकी पदाधिकारीमा पनि कतिपय नेता व्यवस्थापन गर्न सकिनेछ । यसका लागि रामचन्द्र पौडेलले केही मात्र उदार भइदिए पुग्छ । बाँकी कुरा देउवालाई विस्थापित गर्नुपर्छ भन्ने आम कांग्रेसी मनोविज्ञानले नै काम गर्नेछ । यसका लागि एउटै सर्त छ, पौडेल खेमाभित्र एकता ।
विडम्बना के छ भने यति धेरै सम्भावनाको नजिक पुगिसकेर पौडेल थकित र हतास देखिन्छन् । उनी राजनीतिक विचार र तर्कका आधारमा बलियो दावेदारी पेस गरिरहेका छैनन् । कांग्रेसमा आफ्नो अभिभावककीय औचित्य प्रदर्शन गर्न सकिरहेका छैनन् । बरु घुर्कीको सहारा लिएर राजनीतिबाट सन्यास लिने पराजित मानसिकता प्रकट गरिरहेका छन् । मैदानमा ओर्लिनुअघि नै आएको उनको यो मनोविज्ञान विरोधीहरुलाई अमृतजल बन्न पुगेको छ ।
अझ पौडेलले बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमा नगएर अर्को ठूलो गल्ती गरेका छन् । यी पंक्ति लेखिरहँदा पनि उनी नेताहरुको सम्पर्कबाट टाढिएर बोहोराटारको एकान्तवास रोजेको बुझिँदै छ । शुक्रबार हुने उद्घाटन समारोहमा पनि उपस्थित नहुने हुन् कि भन्ने चिन्ता उनका शुभचिन्तकहरुमा छ । पौडेलका व्यवहार हेर्दा यो चिन्ता सही सावित नहोला भन्न सकिन्न ।
पौडेलले के बुझ्नुपर्छ भने सशांकले दावी छाडिसकेपछि कोइराला परिवारबाट उनलाई अब असहयोग हुने छैन । आगामी कार्यकालका लागि शेखरका नाममा सहयोगको प्रतिबद्धता जनाइदिए पुग्छ । प्रकाशमानलाई तत्कालै कुनै सम्मानजनक पदको सुनिश्चितता गरिदिए हुन्छ । महाधिवेशनबाट पौडेल निर्वाचित भएर आउनेबित्तिकै संसदीय दलको नेतामा पुनः निर्वाचन गरी देउवालाई प्रधानमन्त्रीबाटै विस्थापित गर्न सकिनेछ र चुनावी सरकारको नेतृत्व प्रकाशमानले गर्न सक्नेछन् ।
यी सारा सम्भावना हुँदाहुँदै पौडेल समूहभित्र आआफै भिडन्त गर्ने, मिलाउनुपर्ने अभिभावकीय उमेरका पौडेल घुर्की लगाएर कुनातिर बस्ने र पलायनवादी सोच सार्वजनिक गर्ने अनि अल्लारेहरु मेरै पालो हो भनेर मैदानमा भिड्ने हो भने कांग्रेसमा देउवाले बाँचुन्जेल राज गर्नेछन् । पार्टीमा पुस्तान्तरण, नवीनता, ताजापन, रचनात्मकता र गतिशीलताका सपना सबै टुकुचामा बग्नेछन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८