• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मोदीलाई रिझाउन बहालवालादेखि पूर्वप्रधानमन्त्रीद्वारा रामदेवको चाकडी

  • खबरदाता

मोदीलाई रिझाउन बहालवालादेखि पूर्वप्रधानमन्त्रीद्वारा रामदेवको चाकडी

मंसिर ८, २०७८

योगगुरु भनिने भारतीय व्यापारी रामदेवको स्वागतमा नेपालका बहालवाला प्रधानमन्त्री अरु दुईजना भूतपूर्व प्रधानमन्त्री पनि पुगे । राज्यको नियमसंगत प्रक्रिया नपुर्याई अनुमति पनि नलिई खोलिएका दुईवटा टेलिभिजनको उद्घाटन पनि उनीहरुले गरे ।

पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले रामदेवलाई क्रान्तिकारीदेखि समाजवादीसम्म भन्न भ्याए । प्रधानमन्त्री शेरबहादुर देउवाले त रामदेवलाई सरकारी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा पनि गरे । उनको त्यो घोषणा अहिले राष्ट्रिय चर्चा र आलोचनाको केन्द्रमा छ ।

रामदेव पतञ्जली योगपीठ, पतञ्जली आयुर्वेद तथा पतन्जली ब्रान्डका अरु उपभोग्य सामान उत्पादन गर्ने उद्योगका मालिक हुन् । झट्ट हेर्दा उनलाई जोगी, त्यागी एवं ब्रम्हचारीजस्तो देखिए पनि झण्डै ५ खर्ब रुपैयाँबराबरको सम्पत्ति उनीसँग छ । उनका नेपाली साझेदार आचार्य बालकृष्ण मुख्य ‘बिजनेस माइन्ड’ हुन् । सम्पत्ति बढ्दै गएपछि केही समयअघि बालकृष्णको हत्या गर्ने प्रपञ्च गरिएको थियो, लड्डुमा विष हालेर । उपचारपछि उनलाई जीवित फर्काउन सम्भव भयो ।अहिले पतञ्जली परिवारमा सम्पत्ति कसको हुने भन्ने ठूलो संघर्ष छ । सम्पत्तिको लफडाकै कारण उत्पादनको गुणस्तर खस्किएको छ । सेवा प्रभावित भएको छ । भारत र अरु विश्वमा पहिलाजस्तो व्यापार नभएपछि नेपालमा उसले नबिकेका सामानहरु ‘डम्पिङ’ गर्न खोजिरहेको छ । अनि तिनै रामदेव नेपाल आएपछि नेपालीले जागिर पाउने र राज्यलाई ठूलो राजस्व बुझाने लोभमा सारा राज्यशक्ति नै उनका पछाडि लगाउन खोजिएको छ ।

त्यसो त रामदेव भारतीय संस्थापन बीजेपीबाट पूरापूर संरक्षणप्राप्त छन् । गुजरात प्रान्त हुँदै भारतको केन्द्रीय सत्तामा बीजेपी उदाएपछि नीतिगत सहजता तथा सत्ताको निकटताको फाइदा उठाएर उनले अझै धेरै ठूलो आम्दानी गरे । बीजेपी र त्यसमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीसँगको प्रत्यक्ष सम्पर्कले रामदेवलाई व्यापार विस्तार गर्न थप सजिलो भयो । अहिले नेपालका नेताहरु भने रामदेवलाई व्यापारीका रुपमा निम्त्याएर नीतिगत लाभ दिलाउने, अनि रामदेवमार्फत् मोदीको समीपमा पुग्ने दाउमा देखिन्छन् । यसैको सिलसिलाअनुरुप बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधव नेपाल समेत कार्यक्रमबारे कुनै कुरै नबुझी उपस्थित हुन पुगे । इजाजत नै नपाएका र नेपालले वैदेशिक लगानी निषेध गरेका टेलिभिजनको उद्घाटन गरे ।

भारतसँग कूटनीतिक सम्बन्ध मात्र चाहिएको छैन हामीलाई, कूटनीतिकरुपमा सम्बन्धको गाँठो पनि फुकाउनुपर्नेछ । भारतका व्यवहारलाई लिएर हाम्रा निश्चित अडान छन् । नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी छ । भारतीय नोटबन्दीताका बैंकिङ प्रणालीभित्रै रहेको रकमसमेत उसले फिर्ता लिएको छैन । सीमा समस्यासहित दुई देशबीचको समग्र सम्बन्धकै पुनरवलोक गर्न बनाइएको ईपीजीको प्रतिवेदन बुझेको छैन । हाम्रो मुख्य निर्यातजन्य वस्तु चियालाई भारतले निकासीमा रोक लगाइदिएको छ । सीमा क्षेत्रमा गोविन्द गौतमदेखि जयसिंह धामीजस्ता नेपाली नवयुवक मारिएका छन् । सीमा क्षेत्रमा कयौँ नेपाली चेली बलात्कृत भएका छन् ।

यी विषयमा नेपालले आफ्नो शिर नझुकाईकन कूटनीतिक तवरमै वार्ता हुनुपर्ने हो । हाम्रा अडानको जायज सम्बोधन नभएसम्म अरु प्रकारका शिष्टाचार र लेनदेन बन्द हुनुपर्ने हो । तर, भारतले एकोहोरो पेलिरहने, अनि हाम्रा नेताहरु सारा राष्ट्रको शिर झुकाएर मोदीलाई रिझाउने नाममा रामदेवजस्ता विवादास्पद व्यापारीको चाकडी बजाउने । यो हदसम्मको गैरजिम्मेवारीपन अर्को के होला रु योभन्दा लाचारी र कूटनीतिक अक्षमता अरु के होला?

  • प्रकाशित मिति : मंसिर ८, २०७८, बुधवार ००:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८