केपी शर्मा- मंसिर ६, २०७८
चितवन । बहुतै चर्चामा आउने गरेको भरतपुर महागनर । मेयरको चुनावमा होस या त्यसपछिका दिनहरुमा, भरतपुर महागनरको देशभरनै चर्चा हुनेगरेको छ । सायद प्रचण्डको गृहजिल्ला भएरपनि होला।
जिल्लाको भरतपुर महागनरपालिकाले सोमवार आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रमलाई साम्वोधन गर्ने भन्दै काठमाण्डौबाट मन्त्रीको जम्बो टोलीनै आइतवार अवेर चितवन आइपुगेको थियो । जसमा अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, पर्यटन मन्त्री प्रेम बहादुर आले लगायत मन्त्रालयका सचिव तथा कर्मचारीहरु थिए ।
बिकास बहसमा मुख्य भूमिका रहेको हुन्छ अर्थमन्त्रालयको । हरेक क्षेत्रमा आर्थिक गतिविधिले प्रभाव पारीरहेको हुन्छ । भरतपुर महागनरले पनि अर्थमन्त्रीलाई बोलाउनुको मुख्य कारण अलपत्र परेका योजनाहरुलाई बजेट उपलब्ध गराएर पूर्णता दिउन् भन्ने नै हो ।
तर त्यसरी निमन्त्रणा गरिएका अर्थमन्त्री जनार्दन शर्माले आफूलाई मन्तव्य राख्न दिइएको समयमा प्रचण्डको गुणगान र कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएजसरी भाषण सुनाए । आम सरोकारवाला तथा उपस्थितीहरुले अर्थमन्त्रीले महागनरलाई ठूलै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्लान् भन्ने लागेको अवस्थामा उनले भने नारायणी किनारमा पार्टीले दिएको प्रशिक्षण, प्रचण्डसँग भएको भेटघाट, चितवनबाट सुरु भएको आन्दोलनका कुराहरुलाई लिएर लामै समय खर्चिए । उनले भने,“अध्यक्ष प्रचण्डसँग म ४२ सालदेखि सँगसँगै छु । नारायणी किनार………………”
करिव १५/२० मिनेट खर्चेका शर्माले १० मिनेट त यस्तै गफमा विताइदिए । यतिमात्रै होइन, यो पंक्तिकारले अर्थमन्त्रीले देशको वर्तमान अर्थसम्वन्धी के कुरा व्यक्त गर्लान र सो कुरालाई क्यामेरामा कैद गरौँ भनेर धेरै प्रयास गर्यो तर अर्थमन्त्रीका पारिवारीक र मनगणन्ते कुराले पट्यार लाग्दो अवस्था सृजना भएको थियो ।
सायद यो पंक्तिकारको मात्र नभएर सवै पत्रकारहरुको अवस्था उस्तै उस्तै रहेको अनुमान गर्न सकिन्थ्यो । किन पनि अर्थमन्त्रीको अर्थसँगै सम्वन्धीत भाषणको महत्व थियो भने गठवन्धन सरकार बनेपछि उनी चितवन आएको सायदै यो पहिलो पटक पनि हो । त्यसैले उनले हाल राज्यले अंगिकार गरेको अर्थनीति, आगामी योजना र वर्तमान बजेट आदिका विषयमा धेरै भन्नुपर्दथ्यो ।
अर्थमन्त्री शर्माले कतिसम्म प्रचण्डको गुनगान गाए भने प्रचण्डले आफ्नो मन्तव्य सुरु गर्ने समयमै भने,“जनार्दन शर्माले यति पुरानो सिद्धान्तको कुरा गर्नुहुन्छ भन्ने मलाई लागेकै थिएन। यो भन्दा अघिका कार्यक्रम तथा भेटमा माडी,नारायणी तटवन्धन र रिउ खोला जस्ता क्षेत्रको बारेमा मात्रै कुरा हुन्थ्यो तर यो पटक भने उहाँले विचारको महत्व, दर्शनको महत्व, राजनीतिक लाइन भनेको कस्तो हुन्छ भन्ने कुरा राम्रोसँग बुझिसकेको हुनाले ……….।”
प्रचण्डले व्यक्त गरेको अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ की अर्थमन्त्री कुन विषयमा केन्द्रीत रहेर भाषण गरे ।
उक्त कार्यक्रममा उनकै पार्टीका मात्रै नभई अन्य दलबाट प्रतिनिधित्व गर्ने राजनीतिक दल, प्रदेश मन्त्री, विषयविज्ञ,बुद्धिजिवी,मन्त्रालयका सचिव, सरकारी ओहादाका कर्मचारी, बरिष्ठ पत्रकारहरु,जिल्लाका अगुवा, डाक्टर, कानुन व्यवसायि, यातायात व्यवसायी, होटल व्यवसायी, सामाजिक अभियान्ताहरुको समेत वाक्लो उपस्थिती थियो ।
यस्तो परिस्थितीमा शर्माले देशको वर्तमान अर्थसम्वन्धी बढि कुरा नगरी किन आफ्नो पार्टी र प्रचण्डको विगत र वर्तमानको कुरा गरे ? आश्चर्यको कुरा यही छ । त्यतिमात्रै होइन कतिपयले प्रचण्डको गुनगान उनकै निर्वाचन क्षेत्रमा गरिदिँदा कतै चुनावी प्रचारप्रसार त सुरु भएन भन्ने सम्मको आकलन गर्न थालिएको छ । उनले आफ्नो पार्टी र प्रचण्डको बर्णन गरिरहदा दर्शकदिर्घमा बसेका केही व्यक्तिहरु हलबाट बाहिर फ्लोरमा निस्किएको देख्न सकिन्थ्यो ।
तर अन्त्यतिर वल्ल उनी आफ्नो मन्त्रालयसँग सम्वन्धीत रहेर कुरा राखे । आफैले बजेटको बारेमा ढुक्कले भन्न नसकेर सचिवको भनाईलाई साहारा लिँदै उनले स्रोतको समस्या नभएको बताए । उनले चितवनमा तटवन्धन,त्यसपछिको करिडोर, निकुञ्जमा जाने बाटो,शिक्षक अस्पताल,विमानस्थलको कुरा आदि र समग्र चितवनको विकासका लागि पहल गर्ने बताए ।
तर संख्यामा बजेटबारे भने कतै केही उल्लेख गरेनन् । त्यस्तै अलपत्र पर्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको कामलाई पूर्णता दिनेवारे महागनरप्रमुख सँग छलफल भइरहेको उनको भनाई थियो । तर उक्त रंगशालाका लागि बजेट दिनेनदिनेबारे दृढ भएर भने केही जानकारी दिन सकेनन् ।
साथै उनले शिक्षक अस्पताल खोल्नेवारे महानगरले जग्गा उपलब्ध गराइदिए काम अघि बढाउन आफू तयार रहेको बताए । धेरै कुरा कार्यक्रममा बोलेर भाषण गरेरभन्दा पनि काम गरेर देखाउने बताएर आफ्नो भनाई सकेका अर्थमन्त्री शर्माले भरतपुर महानगरको विकासका लागि कति बजेट देलान त ?
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८