मतगणना जारी रहदा कसले बाजी मार्ला भन्ने कौतुहलता मेटिनका लागि मध्यरातसम्मै कुनुपर्ने देखिन्छ ।
केपी शर्मा – मंसिर ३, २०७८
चितवन । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेशनका लागि चितवनमा शुक्रवार भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
चितवन जिल्लाका ६ वटा प्रदेश सभा क्षेत्रीय अधिवेशनमा कुल २ हजार ९४४ मतदाता रहेका छन् । ती मध्ये ४० जनाभने मतदानमा सहभागी भएनन् । अर्थात २ हजार ९०४ जनाले मात्रै भोट हालेका छन् ।
जसअनुसार प्रदेश नम्वर १ ‘क’ मा काँग्रेसका ३६४ जना मतदाता रहेकोमा ३५७ जनाले भोट हालेका छन् । ७ जनाले मतनै नहालेको मतदान अधिकृत प्रदिप वाग्लेले जानकारी दिए । यो समाचार तयार पार्दा सम्म मतगणना जारी रहेको छ ।
त्यस्तै सोही क्षेत्रको ‘ख’ मा ५८७ मतदातामध्ये ५८१ जनाले मात्रै मतदान गरेको मतदान अधिकृत शिवराज अधिकारीले जानकारी दिए । उनका अनुसार ६ जनाले भने भोट हालेनन् । यस क्षेत्रको पनि अहिले मतगणना जारी छ ।
प्रदेश नम्वर २ को ‘क’ मा ५०२ मतदाता मध्ये ४९५ जनाले मत हाले भने ७ जना अनुपस्थित रहे । केहीवेर अघिमात्र मतगणना सुरु भएको मतदान अधिकृत सुसिल घिमिरेले जानकारी दिए ।
सोही क्षेत्रको ‘ख’ मा ५०२ जना मतदातामध्ये ४९५ जनाले भोट हाले । तर ७ जना भने अनुपस्थित रहे । सो क्षेत्रमा मतगणनाको केही परिणाम आइसकोको मतदान अधिकृत मुन्नाविक्रम खातीले जानकारी दिए । खातीका अनुसार प्रदेश क्षेत्रीय कार्यसमिति सदस्यमा राधादेवी शर्मा,कमलप्रसाद पाण्डे र किरण अधिकारी निर्वाचित भइसकेका छन् ।
त्यस्तै प्रदेश ३ को ‘क’ मा ६१८ मतदातामध्ये ६०९ मत खसेको छ भने ९ जना उपस्थित भएनन् । यहाँपनि मतगणना जारी रहेको मतदान अधिकृत हरिहर दवाडीले जानकारी दिए । यो समाचार तयार पार्दासम्म ५० मत मात्रै गणना भएको छ ।
त्यस्तै प्रदेश ३ कै ‘ख’ मा ३७१ मतदाता रहेकोमा ३६७ जनाले मतदान गरेका छन् । ४ जना भने मतदानमा सहभागी भएनन् । यो क्षेत्रको अहिले मतगणना जारी रहेको मतदान अधिकृत खगराज कडेँलले जानकारी दिए ।
बिहीवारदेखि सुरु भएको अधिवेशनमा ६ वटा क्षेत्रका मतदान अधिकृतहरुले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेपछि शुक्रवार मतदान भएको हो । शुक्रवार विहान ९ बजेदेखि भएको चुनाव सकिएपनि मतपरिणाम आउन वाँकी रहेको हो । केही पदमा मात्रै सर्वसम्मत भएपछि मतदान भएको थियो ।
चितवनमा ३ वटा प्रतिनिधि सभा क्षेत्रमा ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । प्रदेशसभा समितिका लागि सभापति १ जना, उपसभापति २ जना,सचिव २ र सह–सचिवमा २ जना मात्रै आवश्यक पर्दछ । तर आवश्यक भन्दा बढीले आकांक्ष व्यक्त गरेपछि सवै क्षेत्रमा व्यापक प्रतिस्पर्धा हुने देखिएको छ । चितवनका ६ वटा क्षेत्रमा ६ जनामात्रै सभापति आवश्यक पर्नेमा १८ जनाले उम्मेदवारी दिएका थिए ।
प्रदेशसभा क्षेत्रीय अधिवेशन १ ‘क’ मा सभापतिका लागि २ जनाले उम्मेदवारी दिएका छन् । जसमा कृष्ण वहादुर श्रेष्ठ र गणेश मल्ल ठकुरी छन् ।
त्यस्तै प्रदेश १ को ‘ख’ का लागि सभापतिमा ३ जनाले उम्मेदवारी दिएका छन् । जसमा गोविन्द गौतम, रामहरी न्यौपाने र सुजन थापा रहेका छन् ।
प्रदेश २ ‘क’ हाँक्नका लागि सभापतिमा ३ जनाले उम्मेदवारी दिएका छन् । जसमा जनार्दन प्रसाद दाहाल, राजकुमार गुरुङ र हरिप्रसाद भण्डारी रहेकाछन् ।
त्यस्तै प्रदेश २ ‘ख’ हाँक्न ३ जनाले सभापतिमा उम्मेदवारी दिएका छन् । जसमा करुण कान्त पोख्रेल, रचन कार्की र रोशन शाही ठकुरी रहेका छन् । २ सय मत गन्दा करुणकान्तको ८८ मत, रचनको १० र रोशनको १०२ मत आएको छ ।
प्रदेश ३ ‘क’ हाँक्न सभापतिमा ३ जनाले उम्मेदवारी दिएका छन् । जसमा कमलनाथ पौडेल, खेमनारायण सापकोटा र शालिकराम पौडेल रहेका छन् । त्यस्तै प्रदेश ३ ‘ख’ का लागि सभापतिमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा अशोक लामा,ओमप्रसाद पोख्रेल,राम वहादुर कुँवर र शोभाकर चापागाईले उम्मेदवारी दर्ता गराएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८