कात्तिक ३०,२०७८
सर्वोच्च अदालतमा आन्दोलनका नाममा मच्चाइएको भाँडभैलो मत्थर भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै अग्रसरतामा तीन सातादेखिको कचिंगल मत्थर बनाएका हुन् । न्यायाधीशहरुलाई विश्वासमा लिएर बाहिरी चलखेल रोक्न उनी एक हदसम्म सफल पनि भएका छन् ।
प्रधानन्यायाधीश राणाले सोमबार आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादमा आउन आग्रह गर्दै एक अपिल जारी गरे । उनको यो अपिल केही बार पदाधिकारीहरुकै आग्रहमा आएको थियो । त्यसैले बार आन्तरिक छलफलमा छ । ढिलोचाँडो बारले पनि प्रधानन्यायाधीशको आग्रहअनुसार वार्तामा बसेर समाधान खोज्न तत्परता देखाउनेछ । यस्तो वचन प्रधानन्यायाधीश राणाले पाएका छन् ।
इजलासमा जान हिच्किचाइरहेका न्यायाधीशहरुमा अब इजलास पस्ने हतारो छ । तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, कुमार चूडाल र मनोजकुमार शर्मा राणाको पक्षमा खुलिसकेका छन् । उनीहरुले आन्दोलनकारीका एजेन्डामा इमानदारिता र नियतमा स्पष्टता नभएको निष्कर्ष निकालेका छन् । हरिकृष्ण कार्की समितिको प्रतिवेदनअनुसार गोला प्रथाबाट पेसी तोक्न नियमावली संशोधन गर्न प्रधानन्यायाधीश तयार हुँदा पनि आन्दोलनकारीले नमानेको उनीहरुको भनाइ छ । यसैका निम्ति फुल कोर्ट बसौँभन्दा पनि नमानेको र प्रधानन्यायाधीशसँग फुल कोर्ट नबस्ने हो भने पनि सबै जनाले सही गरेर ल्याए आफू सही गर्न तयार रहेको सन्देश राणाले दिँदा पनि अस्वीकार गरेको कारण उनीहरुको नियतमा प्रश्न उठेको छ ।
यसरी निहुँ मात्र खोजेर बसेमा न्यायालय भयंकर अनिश्चयमा फस्ने र भोलि सेवाग्राहीको समेत तारो बन्नुपर्ने भएकाले समयमै सच्चिनुपरेको पाँच न्यायाधीशको भनाइ छ । उनीहरुकै भनाइमा, अरु केही न्यायाधीश पनि आन्दोलन छाडेर नियमित इजलास प्रवेश गर्नेछन् । आन्दोलनका कट्टर पक्षधर न्यायाधीशमा अहिले हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, प्रकाश राउत र मीरा खड्का छन् । यीमध्ये खतिवडा विदेशमा छन् र परमादेश प्रकरणमा विवादित भएकाले अब सेवामा फर्किन पनि इच्छा नभएको सन्देश उनले इमेलमार्फत् पठाएको बुझिएको छ ।
आन्दोलनका नेतृत्वकर्ता आनन्दमोहन भट्टराई हुन् । उनले पहिला राणालाई हटाउने र त्यसपछि हरिकृष्ण कार्की लगायत केही न्यायाधीशका विवाद उचालेर प्रधानन्यायाधीशको रोलक्रम नै भत्काउँदै आफू अघि सर्ने सपनाका साथ अहिले अदालतभित्र र बाहिर हुण्डरी मच्चाउन खोजेका छन् । त्यस्तै मीरा खड्काले पनि राजनीतिक पृष्ठभूमिका न्यायाधीशलाई फाल्न सके आफ्नो भाग्य चम्किने ठानेकी छन् । श्रीमतीलाई प्रधानन्यायाधीश बनाउन श्रीमान् शम्भुबहादुर खड्का न्वारानदेखिको बल लगाएर पूर्वन्यायाधीशहरुको भेला गरी आन्दोलनलाई उचाल्दै छन् ।
उता हरिकृष्ण कार्की राणाको विरोधमा लाग्नुको झन् रोचक कारण छ । राणाले प्रधानन्यायाधीश भएको केही दिनपछि निकटस्थहरुको एक भेलामा हरिकृष्णमा प्रधानन्यायाधीश बन्ने योग्यता र गुण नभएकोले अगाडि बढाउन नहुने धारणा राखेको र त्यसपछि उनी राणाप्रति नकारात्मक बनेको न्यायाधीशहरुबीच चर्चा छ । त्यतिखेर राणाले हरिकृष्णको सट्टामा आनन्दमोहन भट्टराईलाई प्रधानन्यायाधीश बनाउनुपर्ने धारणा राखेका थिए । भट्टराई नियमित राणाकहाँ गएर मीठा कुरा गर्ने भएकाले पनि यस खालका कुरा भएको हुन सक्ने सहकर्मीहरु बताउँछन् ।
सर्वोच्चका धेरै न्यायाधीश भने मध्यमार्गमा छन् । उनीहरु आन्दोलनप्रति त्यति सकारात्मक छैनन् । काममा फर्किनका लागि उचित बहाना चाहिएको छ । त्यसका लागि राणाको विज्ञप्ति आएको छ । राणाले गोला प्रथाबाट पेसी तोक्ने प्रतिबद्धता जनाएपछि अब सम्भवतः केही दिनमै मध्यमार्गी न्यायाधीशहरु पनि काममा फर्किनेछन् । यस धारमा रहेका न्यायाधीशहरु दीपककुमार कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरिप्रसाद फुयाँल र नहकुल सुवेदी छन् । राणाले निकै ठूलो आलोचना खेपेर न्यायाधीश बनाएका र भावी प्रधानन्यायाधीशको रोलमा समेत रहेकाहरुले अप्ठेरो पर्दा साथ दिनुको साटो विरोधी मोर्चामा सामेल हुनु आफैमा आश्चर्यको विषय थियो । ढिलोचाँडो उनीहरु बाहिरी उक्साहटमा नलागी अदालतमा नियमित न्याय सम्पादनका काममा फर्किने विश्वास प्रधानन्यायाधीश राणाको छ ।
अदालतभित्रको वातावरण सङ्लिएपछि बारको आन्दोलनको औचित्य पनि समाप्त हुनेछ । नागरिक समाज पनि हेरेको हेर्यै हुनेछ । अहिलेसम्म प्रधानन्यायाधीशविरुद्ध लगाइएका नाराहरु पनि आधारहीन प्रमाणित हुनेछन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८