• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

कात्तिक २२, २०७८

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेश सभामा १०९ सदस्य रहेकोमा मतदानमा १०४ उपस्थित रहेका थिए । पाण्डेले विश्वासको मतको पक्षमा ५९ मत पाएका हुन् । विपक्षमा ४३ मत र २ सदस्य मत दिन्न भन्ने पक्षमा रहेका थिए । तत्काल कायम भएका सदस्य मध्य ५९ सदस्य वहुमत रहेको सभामुख सानुकाजी श्रेष्ठले घोषणा गर्दै मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएको बताएका थिए ।

विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । १०४ जनाले सोमबार प्रदेशसभामा मतदान गरेका थिए । पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

उनलाई आफ्नै पार्टी नेकपा एकीकृत समाजवादी,नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।

कात्तिक ११ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिएका हुन् । विश्वासको मत लिन कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

तर उनलाई नेकपा एमाले, विवेकशील साझा पार्टी र नेपाल मजदुर किसान पार्टीले भने मत दिएनन् ।
संसदमा बोल्दै मुख्यमन्त्री पाण्डेले तीन महिनाभित्र स्वेत पत्र जारी गरी आफ्नो सरकारले गर्ने कार्य र विगतका सरकारको कमजोरी छरपष्ट पार्ने बताए । आफ्नो सरकारले आर्थिक अनुशासनको पालना गरी फजुल खर्च घटाउने र मन्त्रालय थप गर्नेवारे आफूहरु प्रवेशनै नगरेको दावी गरे । अति आवश्यक तथा नगरी नहुने खर्चलाई व्यवस्थित गरी जनताको मागलाई सम्वोधन गर्दै जाने उनको भनाई थियो ।
प्रदेश निर्वाचन क्षेत्रमा विनियोजन गर्ने बजेटहरुलाई सन्तुलन गर्ने र विगतका सरकारले असन्तुलन हुनेगरी बजेट बाँडेको भन्दै कतै बजेटनै नपरेको कतै ठूला आयोजनाहरु दोहोर्याएको आरोप लगाउदै आफूले त्यो नदोहोर्याउने बताए । असम्भव योजनामा हात नहाली सम्भव आयोजना मात्रै अगाडि बढाउने र योजना समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

विगतमा जस्तो संविधाननै मन परेन भनेर च्यात्ने काम आफूहरुले नगर्ने उनको भनाई थियो । जनताबाट निर्वाचित व्यक्ति तानाशाहको रुपमा विकास भएको भन्दै गठवन्धन भने सधैँ जनताको अभिमतलाइ कदर गर्दै संविधानको पूर्ण रक्षा गर्ने उनले बताए । मत दिएर राजनीतिक संस्कारको सुरुवात गर्न समेत विपक्षिलाई उनले आह्वान गरेका थिए ।

मत नदिएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का दिपक निरौलाले संसदमा बोल्दै जनताको मत नभए प्रतिपक्ष भन्दा तल बस्न तयार रहेको तर यो अपवित्र गठवन्धनबाट वनेको सरकारलाई मत नदिने भनाई राखेका थिए ।

प्रदेशसभाको स्थापनादेखि सत्तापक्षको रुपमा रहेको एमाले पहिलो पटक सदनमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । यसअघि बहुमतका आधारमा एमालेबाट डोरमणि पौडेल पहिलो र अष्टलक्ष्मी शाक्य दोस्रो मुख्यमन्त्री बनेका थिए । एमालेसँग हाल सभामुखसहित सदनमा ४३ मत रहेको छ ।
संसदमा बोलेका नेकपा माओवादी केन्द्रका नेता एवम प्रदेश सभा सदस्य शालिकराम जमरकट्टेलले केपी ओलीको असक्षमताका कारण वागमती प्रदेश विघटन भएर गठवन्धनले संचालन गर्नुपरेको भन्दै प्रदेशको हित र विकास गर्न चाहानेले पाण्डेलाई विश्वासको मत दिन आह्वान गरेका थिए । पक्ष विपक्ष नभई मत दिन र जनहितमा लाग्न उनले अनुरोध गरेका थिए ।

काँग्रेसका इन्द्रवहादुर वानियाले राजेन्द्र पाण्डे नेतृत्व सरकारले गरेको निर्णय राम्रो रहेको भन्दै जनतालाई भ्रम नछर्न एमालेलाई आग्रह गरे । संविधानको व्याख्या अनुसार केन्द्र र प्रदेशमा गठवन्धन बनेको भन्दै संविधानको वर्खिलापमा कुनै काम नभएको प्रष्ट पारे । गठवन्धन हुनुपर्ने परिस्थिती एमालेलेनै सृजना गरेको भन्दै जनताको अभिमत स्वीकार गर्न नसकेर एमाले सरकारबाट वाहिरनु परेको उनको भनाई थियो ।

जनता समाजवादीका प्रेम वहादुर तामाङले पाण्डे नेतृत्वको सरकारले महङ्गी हटाउने, जनजातीहरुको हक अधिकारको रक्षा गर्दै उत्पीडित जाती जनजातीहरुको पहिचान सुनिश्चित गर्ने आशा सहित मत दिने बताए ।

संसदमा आफ्ना भनाई राखेका विवेकशील साझा पार्टीका रमेश पौडेलले अहिलेको सरकारले मन्त्रालय फुटाउन लागेको भन्दै आपत्ती जनाए । यस अघिका मुख्यमन्त्रीलाई फुटाउन जरुरी नभएको भन्दै अहिलेको सरकारलाई किन जरुरत पर्यो ? उनको प्रश्न थियो । नेपाल मजदुर किसान पार्टीका प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइले कुनैपनि सरकारले जनताको वास्तविक समस्या नउठाएको र भोटको राजनीतिमात्रै गरेको बताए । शासक वर्गको कुर्ची तानातानबाट आफूहरु टाढा रहेर नेपाली जनताको आवाज उठाइरहने बताए ।

  • प्रकाशित मिति : कात्तिक २२, २०७८, सोमवार ११:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८