• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुर कारागारका कैदीवन्दीले लगाए भाइटीका


भरतपुर कारागारका कैदीवन्दीले लगाए भाइटीका

कुनैसमय कैदीवन्दी राख्ने घर भन्नेवित्तिकै मानिसहरुमा अपराधि बस्ने ठाउँको रुपमा लिएको पाइन्थ्यो । हुन त अहिले पनि वस्ने त कानुनले दोषी ठहर्याएका अपराधिहरु नै हो । तर यसरी गरिने गतिविधिले उनीहरुमा सकारात्मक सन्देशसँगै कारागार अपराधिहरु वस्ने ठाउँ मात्रै नभएर उनीहरुलाइ सुधार्नका लागि राखिने सुधार गृहको रुपमा परिचित हुन थालेका छन् ।

केपी शर्मा
कात्तिक २०, २०७८

यमपञ्चकको पाँचौ दिन अर्थात आज भाइटीका । नेपालभर कतिवेला ११ बजेर २ मिनेट आउला भनेर दिदीवहिनीले दाजुभाइलाई पर्खिरहेका छन् । कतिवेला साइतको समय आइपुग्छ र टीका लगाइदिउँला भन्ने कौतुहलता र इच्छा उनीहरुसँग छ।

सबैले ११ बजेर २ मिनेटको उत्तम साइत पर्खिरहदा मंगलपुरकी ज्ञानुदेवी घिमिरे भने हातमा सयपत्री फूलको माला, सप्तरङ्गी टीका र सेलरोटीको पोको लिएर विहान पौने ९ बजे नै भरतपुर कारागारको गेटमा आइपुगेकी थिइन् । तिहारको टीकाको दिन कारागार धाउने प्रकृया उनको यो पहिलो पटक भने थिएन । उनी गेटमा भन्दै थिइन्,“म पाँचौ वर्ष भयो यसरी भाइलाई कारगारामै टीका लगाइदिन आएको ।”

उनलाई कारागारमा रहेका भाइलाई टीका लगाइदिएर चाँडै घर फर्कनु थियो । किनकी अन्य दाजुभाईहरु ११ बजेर २ मिनेटको साइतमा उनको हातबाट टीका लगाउन पर्खीरहेका थिए । उनले भनिन्,“तिहारमा घरभन्दा पहिले कारागार आउनुपर्दा नरमाइलो त लाग्छ । तर जव भाइलाई टीका लगाइदिन्छु त्यो भन्दा खुशीको क्षण अर्को केही लाग्दैन । आशा छ चाँडै घर फर्कीन्छ र सवै दाजुभाइलाइ एकै लहरमा भाइटीका लगाइदिन पाउनेछु ।”

घिमिरे जस्तै कारागारको गेटमा आफ्नो पालो कुरिरहेकी थिइन शर्मिला मल्ल । तर शर्मीला मल्ल स्वयम्ले भने भाइटीका लगाइदिन आएकी थिइनन् । उनी आफ्नो बच्चालाई लिएर त्यहाँ पुगेकी थिइन् । आफ्नो दिदीको छोरा कारागारमा रहेकाले आफ्नै छोरीलाई लिएर उनी टीका लगाइदिन पुगेकी हुन् । उनले भनिन्,“दिदीको घर टाढा छ । त्यसैले मेरै छोरीहरुले वर्षेनी टीका लगाइदिने गरेका छन् । ”
उनको पनि पोको उस्तै थियो । उनी भन्दै थिइन्,“टिसर्ट,टोपी,मखमली फूलको माला र छोरालाई मन पर्ने फिनी रोटी लिएर आएकी छु । उसलाई फिनी रोटी एकदम मनपर्छ ।”

उनीहरु जस्तै धेरै ठूलो सख्ंयामा महिला दिदीवहिनीहरुको कारागार भित्र र वाहिर भीडभाड देख्न सकिन्थ्यो । कोही भित्र आफ्ना दाजुभाईलाई टिका लगाइरहेका थिए भने कोही भने वाहिर पालो कुरिरहेका थिए ।

कारागार व्यवस्थापनले भाइटीकाको दिन कारागार परिसरमा टेण्टनै टाँगेर टीका लगाउने व्यवस्था गरेको छ । साउण्ड सिस्टममा देउसी भैलोको गीत घन्कीरहेका थियो भने त्यसरी मिलाइएको ठाउँमा आआफ्नो समूहमा बसेर उनीहरु भाइटीका लगाइरहेका थिए । त्यहाँको दृश्यावलोकन गर्दा लाग्थ्यो यो कारागार होइन कुनै ठूलो परिवारको घर हो ।

टिका ग्रहण गर्न तयार भएका अमृत गुरुङले भरतपुर कारागारमा ९ वर्ष विताइसके । वर्षेनी आउने चाडपर्वले उनलाई घरी घरी परिवार सहित बसेर मनाएका चाडपर्वका क्षणहरुले सम्झाइरहन्छ । कानुनले कसुर प्रमाणित गरेर कारागारमा रहेका गुरुङले पनि आठ वटा वर्ष भइसक्यो कारागारमा चाडवाड मनाएको ।

पछिल्लो समय आएर त कारागार आफूलाई घर भन्दा प्यारो लाग्न थालेको उनले सुनाए । उनले भने,“धेरै वर्ष भयो चाडवाड यही मनाएको । त्यसैले कारागारमा रहेका सवै आफ्नै दाजुभाई दिदीवहिनी जस्तो लाग्छ । पहिला जस्तो घर सम्झिएर रुनै पर्ने अवस्था चाहिँ अहिले छैन ।”
गत वर्ष कोभिडका कारण केही नरमाइलो भएपनि यस पटक कोभिडको असर कम र कारागार प्रशासनले पनि उचित व्यवस्थापन गर्दा रमाइलो रहेको उनले सुनाए ।

कारागार प्रमुख कमलप्रसाद काफ्लेले कारागार पहिला जस्तो नभई सुधारगृह भएको बताए । भएका सामाग्रीलाई व्यवस्थापन गरेर ठूला चाडवाड खल्लो हुन नदिएको उनको भनाई थियो । आफ्नो पनि टीका भएको तर पनि कैदीवन्दीको खुशीयालीका लागि आफूले विहानै आएर व्यवस्थापन गरेको उनले बताए ।

भरतपुर कारागारको व्यवस्थापनका कारण विहान सवेरैदेखि सुरु भएको भाइटीका लगाउन पाउँदा कैदीवन्दी सवै खुशी देखिएका थिए ।

कारागारमा अहिले ७२४ जना कैदीवन्दी र ३ जना आश्रीत वालवालिका रहेका छन् । कैदीवन्दीमध्ये ५६ जना महिला छन् ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७८, शनिवार ०५:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८