कात्तिक १८, २०७८
भरतपुर महानगरपालिका १ मा रहेको योगी नरहरीनाथ वागेश्वरी आश्रममा सामूहिक गौपूजन सम्पन्न भएको छ ।
वागेश्वरीमा रहेको गौ संरक्षण केन्द्रमा पालिएका २५० गाईलाई आज लक्ष्मी पूजाको अवसर पारेर मिठामिठा खानेकुरा दिइएको हो । घरमा गाई गोरु नभएकाहरु विशेष गरी पूजा गर्न त्यहाँ पुगेका थिए ।
सामूहिक गौ पूजन तथा लक्ष्मी पूजा कार्यक्रमका प्रमुख अतिथि महेश सन्यास आश्रमका पीठाधीश १००० स्वामी रमानन्द गुरु महाराजाले राष्ट्रिय जनावर गाई घोषणा गरेपनि सरकारले यसको संरक्षणमा चासो नदिएको बताए ।
गाईको हत्या, दुर्घटनाबाट मृत्यु आदि हुँदापनि नेपालीका मन नदुख्नु दुखद भएको उनको भनाई थियो । ‘राष्ट्रियताको पक्षबाट हेर्ने हो भने त हरेक नेपालीको मन दुख्न पर्ने हो , तर किन यसको संरक्षणमा ध्यान दिइएको प्रश्न उठीरहेको छ’ उनले भने ।
लक्ष्मी पूजाका दिनमा समेत गाइ पाउन कठिन भइरहेको बेला बागेश्वरी आश्रमले भने स्थानीय जातका गाई पाल्दै वर्षेनी सामूहिक गौपूजन गर्दै आइरहेको अध्यक्ष शैलेन्द्र पियाले बताए ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले अन्य राष्ट्रिय चिन्हहरुलाई कसैले धावा बोले विरोध भइहाल्ने नेपालमा राष्ट्रिय जनावरको भने हत्या हुँदापनि कारवाहीको दायरामा ल्याउने प्रयास नगरिनु दुखद भएको बताए ।
यहाँ गाईलाई काटेर खाएका समाचारहरु प्रसस्तै आइरहेका हुन्छन् भन्दै सरकारले तीनीहरुलाई कानुनी दायरामा ल्याउन नसकेको उनको भनाई थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८