पछिल्लो समय काँग्रेसले कुनै पार्टीसँग पनि सहकार्य नहुने बताउँदै चितवनमा प्रचण्ड र रेनुलाई लखेट्ने अभिव्यक्ति दिँदै गर्दा नेकपा एमालेले १० औँ महाधिवेशन पनि चितवनमानै गर्ने भनेर निर्णय गरिनुले प्रचण्ड र उनको पार्टीर्लाइ ठूलो धक्का लाग्ने प्रचण्डको बुझाइ रहेको छ । त्यसैले उनी चुनाव केन्द्रीत कार्यक्रममा लागेका हुन् ।
केपी शर्मा
कात्तिक १२, २०७८ ।
अकस्मात चितवन आएका प्रचण्ड धेरै कार्यक्रममा सरिक भए । करिव तीन दिन चितवन बसेर विभिन्न कार्यक्रममा भाग लिँदै उनी काठमाण्डौ फर्किएका छन् ।
मंगलवार भरतपुर विमानस्थलमा उत्रिए लगत्तै प्रचण्डले विमानस्थलमै पत्रकारहरुसँग भेटघाट गरे । भेटघाटमा उनले आगामी निर्वाचनमा आफू चितवनबाटै उठ्ने बताउँदै कुनैपनि भ्रममा नपर्न जनतालाई आह्वान समेत गरे ।
पछिल्लो समय वाँक्लै चितवन आउन लागेका प्रचण्ड आगामी निर्वाचन लक्षित कार्यक्रमहरुमा सहभागी हुन थालेका छन् । यस्तै कार्यक्रम अन्तर्गत बुधवार उनी माडीको यात्रामा निस्किए । जम्वो टोली सहित निस्किएका प्रचण्ड बिहीवार बाँदरझुला पुगेर नागरिकता बाँड्न सम्म भ्याए ।
विभिन्न कार्यक्रममा सक्रिय भएर भरतपुर फर्किएका प्रचण्डले चितवनका डाक्टरहरुलाई पनि भेला पारी कार्यक्रम गरे । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको ब्यानरमा प्रचण्डले डाक्टरहरुका गुनासा सुने ।
डाक्टरको समस्या र गुनासो सुन्न पनि उनलाई झण्डै चार वर्ष लागेछ क्यारे । शुक्रवार वल्ल कार्यक्रम गरी उनले डाक्टरहरुको गुनासो सुनेका हुन्। प्रायशः सधैँभरी कुनै कुनै रुपमा सत्तामा रहीरहने प्रचण्डले अकस्मात डाक्टरहरुलाई सम्झनुको पछाडी आउँदै गरेको चुनावी फण्डा भनेर सहजै अनुमान गर्न सकिन्छ । तथापी उनले भेला पारेर सुनेका डाक्टरका समस्या भने वास्तविक समस्यानै हुन् । तर यतिका समय पछि वल्ल किन ? भन्ने प्रश्न भने उब्जिरहेको छ ।
डाक्टरहरुले त्यहाँ राखेका समस्यालाई आफूले टिप्ने र चुनावको लागि यो गर्छु र उसो गर्छु भन्दै महोल बनाउन प्रयोग गर्छन कि भन्ने आशंका धेरैमा छ । तर डाक्टरका ती समस्या भने अहिले गठवन्धन सरकार हुदैमा समाधान गरिनुपर्ने देखिन्छ ।

चितवनका डाक्टरले प्रचण्डलाई के सुनाए ?
कार्यक्रममा बोल्न दिइएका अधिकाँश डाक्टरहरुले प्रचण्ड समक्ष खुलेर आफ्ना समस्याहरु राखेका थिए । डाक्टरले पाउने पारिश्रमिक, सुरक्षा,सरुवा बढुवा, व्यक्तित्व विकास,तालिम लगायतका विषयमा देखिएका समस्याहरु राखेका थिए ।
देशकै राजनीतिका मुख्य पात्र प्रचण्ड भएकाले पनि राखेका समस्या समाधान हुनेमा उनीहरु आशावादी देखिनु स्वभाविकै होे । कार्यक्रममा निजी तथा सरकारी अस्पतालका चिकित्सक,नर्सहरुको समेत उपस्थिती थियो ।
कार्यक्रममा बोल्दै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले नीतिगत समस्या र शैक्षिक प्रतिष्ठानका विषयमा कुरा राखेका थिए । उनले क्यान्सर अस्पतालमा विद्यार्थी पढाएपछि सर्टिफिकेट दिन नपाउँदाको पीडा समेत व्यक्त गरे ।
नेशनल क्यान्सर इन्स्टीच्युटको अवधारणा तयार भएको तर यसमा नयाँपन नभेटिएको हुँदा परिमार्जन गर्न आग्रह गरे । २१ वर्ष पहिलाको क्यान्सर अस्पतालको अवस्थालाई अहिले पनि सोही प्रावधान राखेर ल्याइन खोजीएको भन्दै परिमार्जन गर्न उनको जोड थियो ।
उनले क्यान्सर प्रतिष्ठान बनाउने विषयमा भरतपुरमा रहेको क्यान्सर अस्पतालका भौतिक संरचना, कर्मचारी, विरामीको संख्या सवैले उपयुक्त ठाउँ यही भएकाले अन्य ठाउँमा प्रतिष्ठान बनाउने विषयमा सोच्न सम्म नसकिने भन्दै यसतर्फ विशेष ध्यान दिन आग्रह गरे । शैक्षिक प्रतिष्ठान कुनैपनि हालतमा भरतपुरनै हुनुपर्ने उनको जोड थियो ।
कार्यक्रमलाई सहजीकरण समेत गरेका भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले हालसम्मका स्वास्थ्य प्रतिष्ठानको इमेज खासै राम्रो नभएको बताए । त्यसैले एकीकृत स्वास्थ्य प्रतिष्ठान बनाउन पहल थाल्न आग्रह गरे ।
केन्द्रीय अस्पतालमा १५३ दरवन्दी र ६ सय वेड क्षमताले मात्र नपुग्ने भन्दै तत्काल केन्द्रीय अस्पतालले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउन उनको माग थियो । साथै कोभिडको समयमा गरिएको उपचार वापत सरकारबाट पाउनुपर्ने रकम निजी र सरकारी अस्पतालमा गरी २ अर्ब रुपैयाँ अझै नपाएको गुनासो गरे । साथै कोभिड खोपमा आत्मनिर्भर हुन चितवनलाइ केन्द्र बनाएर कार्यक्रम ल्याउन समेत उनको आग्रह थियो ।
कार्यक्रममा डा मधु न्यौपाने र आविष्कार चापागाईले सरकारी तथा निजी अस्पतालले उपलब्ध गराउने सेवा सुविधा कमी हुँदा धेरै नयाँ चिकित्सकहरुमा फ्रष्ट्रेशन हुने गरेको बताए । उचित सेवा सुविधा, सुरक्षा, व्यक्तित्व विकास हुने गरी ऐनमै व्यवस्था सहित कार्यान्वयनमा ल्याइदिन उनीहरुले आग्रह गरे ।
अन्यथा धेरै युवा चिकित्सक विदेशीन वाध्य हुने र दक्ष जनशक्ति वाहिरीने खतरा बढीरहेकोमा ध्यानाकर्षण गराए । ४० देखि ५० लाख खर्च गरेर एमविविएस अध्ययन गरेर आएपछि काम सुरु गर्दा जम्मा मासिक ३० हजार तलवमा चित्त बुझाउनुपर्ने वाध्यता रहेको दुखेसो उनीहरुले पोखे ।
स्वास्थ्य आयोग बनाउन माग
कार्यक्रममा आफ्नो भनाई राखेका चिकित्सक संघका उपाध्यक्ष डा अनिलविक्रम कार्कीले सवै क्षेत्रको आयोग भएको तर स्वास्थ्य क्षेत्रको आयोग नभएकाले आयोग बनाइदिन माग गरे । शिक्षकलाई नियुक्ती र तलवभत्ता वृद्धि,क्षमता विकास आदिमा शिक्षक सेवा आयोग, निजामति कर्मचारीका लागि लोकसेवा आयोग लगायत सुविधा छन् ।
तर स्वास्थ्य क्षेत्रको लागि आयोग खै ? उनको प्रश्न थियो ।एउटा शक्तिशाली स्वास्थ्य आयोग बनाउनुपर्नेमा जोड दिए । अहिलेका कर्मचारीहरु स्वास्थ्य क्षेत्रका कर्मचारी चिकित्सकलाई जति हो काममा लदाउन खोज्ने मानसिकता रहेका कर्मचारी भएको भन्दै आफूहरु अन्यायमा परेको बताए । अर्थमन्त्रालयका कर्मचारीहरु करोडौँको भवन बनाउन तत्काल रकम दिन तयार हुने तर चिकित्सकको सेवा सुविधा बढाउन फाइल लैजादा ढिलासुस्ती गरिदिने प्रवृतीका कारण दुख पाउनुपरेको बताए ।
तत्काल स्वास्थ्य आयोग गठन गरी समस्या समाधानको पहल थाल्न प्रचण्डलाई आग्रह गरे । कार्यक्रममा बोल्दै क्यान्सर अस्पतालका निर्देशक डा. कृष्णसागर शर्माले संविधानमै शिक्षा र स्वास्थ्य मौलिक हकको रुपमा उल्लेख भएपनि जनताले उपभोग गर्न नपाएको भन्दै यसमा माओवादीले नै पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उठेका समस्याहरुमाथि आफ्नो भनाइ राखेका प्रचण्डले कार्यक्रममा उठेका सवाललाई दस्तावेजनै बनाएर आफूलाई उपलब्ध गराउन आग्रह गरे । तत्काल समाधान गर्न सक्ने भए गरिहाल्ने अन्यथा क्रमश कार्यक्रममा राख्दै जाने बताए ।
उनले अहिले गठवन्धनका सरकार भएको र त्यसमा पनि अर्थ मन्त्रालय आफ्नै पार्टीले पाएको भन्दै यथासक्य राखिएको मागहरुलाई पूरागर्ने तर्फ पहल गर्ने बताए । उनले भने,“राजनीतिक दस्तावेजमा त हामीले राम्रो कुराहरु लेख्यौँ तर कार्यान्वयन नभएको सत्य हो । साथै सरकार चलाउने स्थायी सरकार भनेर चिनिने कर्मचारी प्रशासन नसुध्रिएको सत्य हो । पुरानै ऐन नियमले काम गर्दा समस्या छ । अव यो सवै परिवर्तन गर्दै जानुपर्नेछ ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८