कात्तिक ११, २०७८
सधैँ राजनैतिक सरगर्मी बढिरहने देशमा अहिले न्यायालयको विवादले चिया पसल देखि सांसदहरु तातिएको देखिन्छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक सम्म संसद विघटन गरेर सर्वोच्चले फैसला दिई शेरवहादुर देउवा नेतृत्वमा नयाँ सरकार वनेको छ ।
गठवन्धन सरकारमा गजेन्द्र हमाललाई मन्त्री बनाएपछि न्यायालय एकाएक चर्चामा आएको हो । त्यसमा पनि प्रधानन्यायाधीशनै यो विवादको केन्द्रविन्दुमा छन् । हमालले राजीनामा दिएपछि अझ यो विषय सलाउँछ भन्ने अनुमान विपरीत यसले अझै विश्राम लिने छाँट देखिदैन।
यसै विषयलाई लिएर न्यायालय भित्र पक्ष र विपक्ष देखिन थालेको छ । न्यायाधीशनै पक्ष र विपक्षमा देखिदा राजनीतिक हस्तक्षेप बढेको भनिएको छ भने अर्को तर्फ प्रधानन्यायाधीशले राजीनमा दिनुपर्ने आवाज पनि उठीरहेको छ ।
नेपाल बार देखि पूर्व प्रधानन्यायाधीश र कानुन विद तथा न्यायाधीशहरुले राजीनामा मागिरहेको अवस्थामा चितवन जिल्लामा रहेर वकालत गरिरहने वकिलहरु के भन्छन् त ?
रामकृष्ण अधिकारी
अध्यक्ष, चितवन जिल्ला अदालत बार एशोसियसन
न्यायालय राजनीतिक गर्ने थलो होइन । पछिल्लो समय राजनीतिक दलले न्यायालयभित्र हस्तक्षेप गर्दाको परिणाम अहिले हामीले भोगिरहेका छौँ। जहाँसम्म प्रधानान्यायधीशले राजीनामा दिनुपर्ने सवाल छ, त्यो उनले आफैले स्वविवेक प्रयोग गर्ने कुरा हो ।
सडक देखि सदनसम्म कुरा उठीसकेपछि राजीनामा दिनुपर्छ पर्दैन हामीले भन्ने भन्दा पनि प्रधानन्यायाधीश आफैले जान्न सक्नुहुन्छ । यूरोपियन देशहरुको अभ्यास हेर्ने हो भने जहाजको एउटा चक्का हल्लीदा जहाज मन्त्रीले राजीनामा दिन्छ अव भन्नुहोस यो अवस्था सम्म आइपुग्दा प्रधानन्यायधीशले राजीनामा दिने की नदिने ? यदी प्रधानन्यायधीशले राजीनामा दिएनन अरे, अन्य न्यायधीश राजीनामा दे भन्दै आन्दोलनमा उत्रने ? सरकारी मानो खाएर राजनीतिक खिचातानीमा सहमती जनाउन न्यायाधीशलाई छुट छैन ।
नेपालमा एउटा न्यायाधीश नियुक्ती गर्न करोडौँको खेल हुने परिपाटी तपाई हामीले बुझिराखेका छौँ । जवसम्म राजनीतिक भागवण्डाका आधारमा न्यायाधीशहरु नियुक्ति गर्ने प्रथाको अन्त्य हुँदैन तवसम्म यस्ता सयौँ प्रधानन्यायाधीशले राजीनामा दिइरहनुपर्ने हुन्छ ।
माधव प्रसाद खनिया
बरिष्ठ अधिवक्ता
सवैतिरबाट विरोध आएपछि प्रधानन्यायाधीशले राजीनामा दिनु उचित देख्छु । किनभने सवै न्यायाधीशले अर्थात सिङ्गो टिमले भोलिका दिनमा सहयोग नगर्ने अवस्था भयो भने पदमा बसिरहेर पनि औचित्य छैन । तर कानुनी हिसावले हेर्ने हो भने कुनै कोणबाट पनि प्रधानन्यायाधीशले राजीनमा दिनुपर्ने देखिदैन। हामीले न्यायालयमा सयौँ चोलेन्द्र जन्माइसकेका छौँ ।
आज एउटा फाल्यो ९९ वाँकी रहन्छ , फेरि बढेर बरावरी भइहाल्छ । त्यसले गर्दा यसको अन्त्यका लागि राजनीतिक हस्तक्षेपलाई नै न्यायलयले हस्तक्षेप गर्नुपर्छ । अनि मात्रै सुध्रन्छ । चोलेन्द्र आफैले बेन्च वहिष्कार गर्नुभएकै हो । दिपकराज जोशीको पालामा पनि हालत त्यही थियो । गोपाल पराजुलीको पालमा पनि अवस्था त्यही थियो । भनेपछि अवस्था अहिलेसम्म यथावत छ । यो सुधार्नुपर्छ।
खगराज कडेँल,
अधिवक्ता
अहिलेकै अवस्थामा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने कुनै आधारनै छैन । उनले राजीनामा दिनलाई संवैधानिक प्रकृया छ । संविधानले कानुनले जे भन्छ त्यही आधारमा राजीनामा हुन्छ । कुनै व्यक्तिले राजनीतिक दलले राजीनामा माग्दैमा प्रधानन्यायाधीशले राजीनामा दिँदै जाने हो भने कुनै पनि प्रधानन्यायाधीशको पूरा कार्यकाल रहने छैन ।
अहिलेको अवस्था विल्कुलै राजनीतिक आस्थाका कारण भएको हो । कुनै सांसदलाई लगेर प्रधानन्यायाधीश बनाएपछि त्यसको अवस्था के होला ? हामी सोझै अनुमान गर्न सक्छौँ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पालामा पनि यस्तै समस्या आएको थियो । अहिले पुन दोहोरिदै छ । समाधान कहिले त ?
उद्धव लोहनी
अधिवक्ता
न्यायालय जहिलेपनि स्वतन्त्रतामा अडिएको हुनुपर्छ । राज्य भित्र कलह झगडा, अस्थिरता भएपनि न्यायालयमा भने एकरुपता अनिवार्य छ। दलिय अभिष्ट पुरा गर्नका लागि सरकार र राजनीतिक दलहरु जवसम्म लागिरहन्छन्, तवसम्म यस्ता समस्याहरु आइरहन्छन् । तर अहिलेको मात्र परिस्थितीलाई हेर्ने हो भने प्रधानन्यायाधीशले राजीनमा दिएर निकास निकाल्नु उचित देखिन्छ । तर यो भने अस्थायी समाधान मात्रै हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८