• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सर्बोच्चमा न्यायाधीशको ‘कु’ असफल , जोगिए राणा

  • खबरदाता

सर्बोच्चमा न्यायाधीशको ‘कु’ असफल , जोगिए राणा

कात्तिक ११,२०७८

 

 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका विरुद्ध ट्रेड युनियन शैलीमा हडतालमा उत्रिएका न्यायाधीशहरु अन्ततः चिसै पानीले नुहाउने भएका छन् । योसँगै राणामाथि प्रायोजित लाञ्छना लगाएर अदालतमा कू गर्ने प्रयास पनि विफल भएको छ ।

भित्री स्रोतहरुका अनुसार, इजलास बहिष्कार गरेका न्यायाधीशहरुबीच अब कसरी काममा फर्किने भन्ने विषयमा छलफल भइरहेको छ । प्रधानन्यायाधीश राणाले पेसी व्यवस्थापनका क्रममा उनीहरुका असन्तोषको सम्बोधन गर्ने वचन दिएपछि सबैजसो न्यायाधीश काममा फर्किन सकारात्मक देखिएका हुन् ।

पूर्णिमाको भोलिपल्टदेखि खुलेको अदालतमा गत सोमबारबाट न्याय सम्पादनका नियमित काम प्रभावित भएका छन् । पूर्वन्यायाधीश र पूर्वप्रधानन्यायाधीशकोे लहैलहैमा लागेर बहालवाला न्यायाधीशसमेत एकैपटक हड्तालमा उत्रिएपछि अब पछाडि फर्किनका लागि फेस सेभिङको उपाय खोज्न भने कठिन भएको छ । यस्तो उपायलाई कतिपय न्यायाधीशले मध्यमार्गको खोजी भनेका छन् ।

राणाले न्याय सम्पादनको काममा भएका त्रुटि तथा विवादलाई मुद्दाकै रोहमा सम्बोधन गरिने स्पष्ट पारेका छन् । यस्तै पेसी व्यवस्थापनमा देखिएका असन्तुष्टिलाई स्वचालित प्रणालीमा लगेर सम्बोधन गर्ने वचन दिइसकेका छन् । यससम्बन्धी धेरै तयारी पनि अघि बढिसकेको छ, जुन आन्दोलन नभए पनि तत्कालै लागू गर्ने तय भइसकेको थियो । सफ्टवेयरमा केही प्राविधिक पक्षमा काम गर्नुपर्ने भएकाले ढिलाइ भइरहेको थियो । न्यायाधीश मीरा खड्काको संयोजकत्वमै यो काम भइरहेको छ ।

राजीनामाको माग भने प्रधानन्यायाधीश राणाले ठाडै अस्वीकार मात्र गरेका छैनन्, न्यायाधीशहरुसँग उल्टै राजीनामा मागेपछि धेरैको होस् हवास् उडिसकेको छ । राणालाई विवादित भन्नेहरु नै सर्वाधिक विवादित देखिएकाले आन्दोलनको अगुवाइ गर्ने न्यायाधीशले नै राजीनामा दिनुपर्ने राणाको तर्क थियो ।

विवाद कायम रहेसम्म राणाले आफूलाई इजलास नै तोकेका थिएनन् । मंगलबार उनलाई भेट्न पुगेका १५ न्यायाधीशको नेतृत्व गर्ने आनन्दमोहन भट्टराई लगायतसँग राणाले उल्टै राजीनामा मागेपछि अदालतभित्रको परिस्थिति नै उल्टिएको छ । अब कहिलेसम्म सेवाग्राहीलाई रित्तो हात फर्काएर दुःख दिने भन्नेसम्मको प्रश्नबारे न्यायाधीशहरुबीच मंगलबार नै छलफल भएको थियो ।

प्रधानन्यायाधीश राणाले परिस्थिति सहज भएपछि बुधबारबाट आफ्नो इजलासमा पनि मुद्दा तोकी सुनुवाइ गरिसकेका छन् । उता राजनीतिक तहबाट राणामाथि कसैले प्रश्न गरेको छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त राणा बाहिरिने हो भने परमादेश जारी गर्ने सबै न्यायाधीशले पद छाड्नुपर्ने अडान राखेपछि हड्तालमा उत्रिएका धेरै न्यायाधीशको मुटु हल्लिएको छ । किनभने, यो संसदमा महाभियोग लगाउन सक्ने एक मात्र पार्टी नेकपा एमाले हो र यसको समर्थनबिना अरु कसैले लगाएको महाभियोग पारित पनि हुन सक्दैन ।राणाले मुद्दा नै हेर्न थालिसकेपछि अब हड्तालको नेतृत्व गरेका न्यायाधीश बढी नैतिक संटकमा परेका छन् । राणालाई प्रधानन्यायाधीशका रुपमा स्वीकार गर्न नसकिने भन्दै ज्ञापनको मसौदा गर्नेहरुलाई यसले बढी अप्ठेरो पारेको छ । किनभने, राणासँगै अरु न्यायाधीश पनि बिस्तारै इजलासमा फर्किँदै छन् ।

प्रधानन्यायाधीश प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेता ओलीबीच पनि कुनै विमति छैन । राजनीतिक तहबाट अदालतलाई गिँजोल्न नहुने भन्दै कांग्रेस नेताहरुले विद्यमान बहसमा सत्ता गठबन्धन निरपेक्ष बस्नुपर्ने धारणाको वकालत गरिरहेका छन् । ओली पनि तत्काल न्यायालयमा हात हालेर चुनावको मुखमा विवादित हुन चाहेका छैनन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले न्यायालयलाई गिँजोल्न खोजेको आज होइन, २०६३ देखि नै हो । तर, अहिलेसम्म माओवादीले राजनीति घुसाउन खोजेको तर नसकेको भनेको न्यायालय र नेपाली सेना नै हो । अहिले राणालाई हटाउने र अरु केही न्यायाधीशको पनि पद खाली गराएर भागबण्डा लिने प्रचण्डको दाउ छ, जुन सजिलै पूरा हुने देखिँदैन ।

उस्तै परे देउवा र ओली मिलेर चुनाव घोषणा गर्ने, माओवादी र नेकपा ९एस०ले नमाने पनि सरकारलाई ओलीले समर्थन गर्नेसम्मको परिस्थिति बन्न सक्ने देखिएको छ । यसअघि एमसीसी प्रकरणले नै देउवा–ओली गठबन्धनको सम्भावना देखाइसकेको हो । अन्तिम समयमा प्रचण्डले मन्त्रिपरिषद बिस्तारमा दबाब दिएपछि त्यो सम्भावना टरेको थियो । अहिले प्रधानन्यायाधीश प्रकरणले ओली र देउवालाई थप नजिक ल्याएको छ ।

  • प्रकाशित मिति : कात्तिक ११, २०७८, बिहीवार ००:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८