• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तीन कोइराला तीनतिर, गुम्दै बिरासत !

  • खबरदाता

तीन कोइराला तीनतिर, गुम्दै बिरासत !

कात्तिक ७,२०७८

सात दशक लामो राजनीतिक पृष्ठभूमी बोकेको सबैभन्दा पुरानो दल कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ।

गत महिना नेतृ सुजता कोइरालाको टिप्पणी थियो- वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालासँग पार्टी हाँक्ने क्षमता छैन। पौडेलका बारेमा उनले भनिन्, ‘रामचन्द्रजीको सानो सोच र मुटु छ। उहाँले गिरिजाप्रसाद कोइरालालाई दुःख दिनुभयो, सुशील कोइरालालाई दुःख दिनुभयो । रचनात्मक काम गर्नुहुन्‍न, दुःख मात्र दिनुहुन्छ। रामचन्द्रजीसँग अब म छैन, नेता मानेर हिंड्न सक्दिनँ।’

उनी त्यतिमा मात्र रोकिइनन्। शशांकप्रति पनि उनी आक्रोशित थिइन्। ‘शशांकजीको लाइफस्टाइल सभापति बन्‍न लायक छैन। बीपीको छोरा भन्दैमा कसैले भोट दिँदैनन्, काम हेरेर भोट दिन्छन्। त्यसैले म शशांकलाई समर्थन गर्न सक्दिनँ।’

खासगरी कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको क्याबिनेटमा वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालले मन्त्री नबनाएपछि सुजताले पौडेल र कोइरालाको साथ छोडेको घोषणा गरेकी हुन्।

‘सुजाता दिदीलाई मन्त्री बनाउने वचन दिइएको थियो। गिरिजाबाबुकी छोरी, त्यसमाथि महिला पनि। धोका दिइयो, त्यसको प्रतिक्रियास्वरुप उहाँले रामचन्द्र दाइ र शशांक दाइका विषयमा टिप्पणी गर्नु भएको हो,’ कोइराला परिवारको सानिध्यमा रहेर राजनीति गरिरहेका एक नेता भन्छन्, ‘कारण जे होस्, महाधिवेशनको संघारमा सुजाता दिदीको यो टिप्पणीको गहिरो अर्थ छ।’

कोइराला परिवारका उत्तराधिकारीहरुबीचको खटपटले १४ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा कोइराला परिवारको पुनरोदयलाई धक्का दिएको विश्लेषण भइरहेको छ।
सुजताको यो टिप्पणीले कांग्रेसको संस्थापक कोइराला परिवारको उत्तराधिकारीबीचको बेमेललाई प्रष्ट पार्छ। १४औं महाधिवेशनको मुखमै सुजताको यो टिप्पणीले कोइराला परिवारभित्रको तिक्तता थप बढेको छ।

कांग्रेसको नेतृत्व लामो समय कोइराला परिवारको वरिपरि घुमेको छ। बीपीले २५, मातृकाप्रसादले ४, गिरिजाप्रसादले १४ र सुशीलले ६ वर्ष गरी कोइरालाहरुले ४९ वर्ष कांग्रेसको नेतृत्व गरेका छन्। कोइराला परिवारबाहेक सुवर्ण शम्शेरले २ र कृष्णप्रसाद भट्टराईले २० वर्ष कांग्रेसको नेतृत्व गरेका छन्। १३ औं महाधिवेशनबाट देउवाले कांग्रेसको नेतृत्व गरिरहेका छन्।

देउवाको नेतृत्वमा कांग्रेस कमजोर बनेको टिप्पणी पार्टीभित्र र बाहिरबाट हुँदै आएको छ। र, १४ औं महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा पुग्‍ने प्रयत्‍न कोइराला परिवारले गरिरहेको छ। कांग्रेसको राजनीतिमा अहिले कोइराला परिवारका तीन जना नेता छन्– बीपी पुत्र शशांक, नोना पुत्र शेखर र गिरिजाप्रसाद पुत्री सुजता। यस्तो अवस्थामा कोइराला परिवारका उत्तराधिकारीहरुबीचको खटपटले १४ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा कोइराला परिवारको पुनरोदयलाई धक्का दिएको विश्लेषण भइरहेको छ। यद्यपी तीन कोइराला सक्रिय रहेको वरिष्ठ नेता पौडेल समूहमा मुख्यरुपमा चार जना सभापतिका आकांक्षी देखिन्छन्- पौडेल, शशांक, प्रकाशमान सिंह र शेखर। उनीहरुबीच सहमतिको प्रयास भइरहेको भनिए पनि आफू कुनै पनि हालतमा पछि नहट्‍ने दाबीसमेत गरिरहेका छन्। चारै जना न त मिल्न सकेका छन् न त मिलाइएका नै।

तीन कोइराला तीनतिर

कोइराला परिवारका तीन नेताहरु शशांक, शेखर र सुजाताबीचको बेमेल सार्वजनिकरुपमा देखिँदै आएको छ। तीनजना नै कोइराला परिवारको विरासत धान्‍ने उत्तराधिकारीकारुपमा आफूलाई अर्थ्याइरहेको छन्। १४ औं महाधिवेशनमा तीन जनाले नै सभापति पदमा दाबी गरेका छन्। उनीहरु मध्ये पनि शेखर र शशांक भने एकअर्कालाई नछोड्ने मनस्थितीमा देखिन्छन्। १४औं महाधिवेशनबाट कांग्रेसमा कोइराला परिवारको विरासत फर्किएलारु उत्तराधिकारी को होला रु प्रश्‍न थप पेचिलो बन्दै गएको छ।

त्यसो त १३औं महाधिवेशनमा पौडेल समूहबाट महामन्त्रीका आकांक्षी थिए  शशांक र शेखर  तर, अन्तिम समयमा पौडलको रोजाइमा बीपीपुत्र शशांक परे। एकपटक भाइका लागि त्याग गर्ने भन्दै शेखर केन्द्रीय सदस्य लडे र पपुलर मतसहित विजयी भए। पौडेलले महामन्त्री नपत्याएपछि शेखर देउबासँग पनि नजिक हुन सकेनन्। सोही कारण १४औं महाधिवेशनमा सभापतिमा लड्ने तयारीस्वरुप देश दौडाहामा निस्किए।

शशांक पनि शेखरको देश दौडाह र आफ्नाबारे उनले गरेका टिप्पणीप्रति सन्तुष्ट नरहेको उनी निटक नेताहरु बताउँछन्।

शशांक महामन्त्रीमा निर्वाचित त भए, तर उनको कार्यशैलीका विषयमा भने न शेखर सन्तुष्ट देखिएका छन्, न त सुजता नै। सुजताले त हालै शशांकको कार्यशैलीका विषयमा सार्वजनिकरुपमा असन्तुष्टि पोखेकै छन्। शेखरले एक वर्षअघि नै आफ्नो असन्तुष्टि पोखेका थिए। उनले भनेका थिए, । शशांकलाई महामन्त्री छोड्नु मेरो भुल थियो। १४औं महाधिवेशनमा सभापति शशांकलाई छोडेर अर्को भुल दोहोर्‍याउन नचाहेको उनले बताएका थिए। शेखरले सार्वजनिकरुपमा दिएका अभिव्यक्तिले पनि त्यसको पुष्टि गर्छ। तर, शशांकको दाबी पनि उस्तै छ। सभापति देउवालाई पराजित गर्न सक्ने एकमात्रै पात्र आफू भएको दाबी उनले पटक–पटक गर्दै आएका छन्। शशांक पनि शेखरको देश दौडाह र आफ्नाबारे उनले गरेका टिप्पणीप्रति सन्तुष्ट नरहेको उनी निटक नेताहरु बताउँछन्।

कांग्रेसको एउटा जमात शशांकमा उनका पीता बीपीको अनुहार देख्छ। तर,बीपीको छोराकारुपमा उनले पाएको ‘सेन्टिमेन्ट’ अनुसारको काम भने उनले गर्न सकेका छैनन्। ०६६ सालको संविधानसभा निर्वाचनमा उनी कोइराला परिवारबाट निर्वाचन जित्‍ने एक्ला सदस्य थिए। १३औं महाविधेशनपछि शशांकलाई कांग्रेस कार्यकर्ताले बीपीको उत्तराधिकारीकारुपमा कांग्रेस कार्यकर्ताले महामन्त्रीको कुर्सीमा विराजमान गराए। तर, महामन्त्रीकारुपमा उनले कमजोर कार्यसम्पादन गरेको सुजाताको मात्रै होइन उनको समूहका अन्य नेताहरुको बुझाइ पनि उस्तै नै छ।

सुजातामा पनि धेरै कांग्रेसीहरू गिरिजाप्रसादको अनुहार देख्छन्। गिरिजाप्रसादले शेखर र शशांकलाई भन्दा सुजातालाई अघि बढाउने प्रयत्‍न पनि गरेका थिए। त्यसका लागि उनले आफ्नो अन्तिम कालमा सुशीललाई कार्यवाहक सभापति बनाएको तर्क गर्नेहरु पनि छन्।

शेखरले कार्यकर्ता पंक्तिमा राम्रो छाप बनाएका छन्। उनी राजनीतिक मामिलामा प्रस्ट दृष्टिकोण त राख्छन्। यद्यपि उनी पोर्टफोलियोमा केन्द्रीय सदस्य मात्रै रहेको र शशांक र सुजाताजस्तो बीपी वा गिरिजाप्रसादको ‘लिगेसी’ नभएको टिप्पणी पार्टी भित्रैबाट हुने गरेको छ।

सुजाताको टिप्पणीको अर्थ के होरु त्यसले शशांकको सभापति बन्‍ने यात्रामा असर गर्छ तरु भन्‍ने प्रश्‍नमा ती नेताको जवाफ छ, ‘सुजाता दिदीको त्यो टिप्पणीले शशांकलाई सभापति हुन घाटा गर्छ नै। बीपी संस्थापक नेता हो। सबैले उहाँलाई मान्छन्। तर, बीपीसँग काम गरेको नेता–कार्यकर्ता कमै मात्र बाँकी छन्। तर, गिरिजाबाबुसँग काम गरेका नेता–कार्यकर्ताको अहिले पनि वर्चश्व छ। यो मात्रै होइन, कोइराला परिवारका तीन नेतामध्ये दुई एक ठाउँमा आउँदा अर्कोलाई घाटा पनि गर्छ।’

कोइराला परिवारभित्रको तिक्तता सार्वजनिकरुपमा सतहमा आएपनि तीन नेताले आफू निकट नेताहरुसँग भने एकअर्काका विषयमा टिप्पणी भने गर्दैनन्। ‘आफू निकटका नेता–कार्यकर्तासँग उहाँहरुले एक अर्काकाबारेमा टिप्पणी गर्नुहुन्‍न। किनभने उहाँहरुले एकअर्कालाई मजाले चिन्‍नुभएको छ। एकअर्काको क्षमता र सामर्थ्य उहाँहरुले राम्ररी बुझ्नु भएकै छ,’ उनी भन्छन्

  • प्रकाशित मिति : कात्तिक ७, २०७८, आइतवार ०८:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८