• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दसैंमा दिइने आशीर्वचनको अर्थ र सन्देश

  • खबरदाता

दसैंमा दिइने आशीर्वचनको अर्थ र सन्देश

असोज २८,२०७८

 

दसैँलाई धेरैले रामले रावणलाई पराजित गरेको, भवानी दुर्गाले राक्षसमाथि जिय प्राप्त गरेको आदि कारणले बनाउने गरेको ठान्छन् । दसैँको आशिर्वचनका कतिपय शब्द हेर्दा होजस्तो पनि लाग्छ ।अनि रावण र राक्षसको प्रतीकका रुपमा निर्दोष पशुपक्षीलाई बलि चढाएर विजयोत्सव मनाउने समुदाय पनि ठूलो छ । यस्ता मान्यताहरु समयक्रममा विकसित र विकृत हुँदै आजको स्वरुपमा आएको देखिन्छ ।

विकसित यसकारण कि दसैँले समयसापेक्ष विशेषताहरु ग्रहण गर्दै आयो । मानव समाजले आफूअनुकूलका विशेषता ग्रहण गर्यो भने असहजतामा त्याग्दै र परिमार्जन गर्दै पनि गयो । तर, यस क्रममा पशु बलिलाई प्राथमिकता दिने विकृत अभ्यास भने कहिल्यै छुटेन ।

हिन्दू धार्मिक संस्कार परिमार्जन गर्न ठूल्ठूला प्रतिभाशाली ज्ञानी व्यक्तिहरु नलागेका होइनन् । तर, मान्छेभित्रको आसुर प्रवृत्तिले कुनै न कुनै बहाना गरेर बलिको औचित्य देखाउँदै आयो । त्यसैले आज पनि निर्दोष पशुपक्षीलाई बलि चढाएर राक्षस मारेको वा दानवमाथि विजय प्राप्त गरेको भ्रम उत्तरोत्तर पुस्तामा फैलाउँदै आएको देखिन्छ ।

वास्तवमा दसैँको आशिर्वचन हेर्ने हो भने हत्या, हिंसा, युद्ध, दमन, अत्याचारजस्ता क्रियाकलापबाट आजित भएर मान्छेले शान्ति, उन्नति, भाइचारा, आत्मीयता, जीवनप्रति सकारात्मक दृष्टिकोण निर्माण आदि उद्देश्यले मनाउन थालिएको देखिन्छ ।

हुन पनि मानव समाजले ठूल्ठूला युद्ध र द्वन्द्वको सामना गर्यो । ससाना कारणले पनि ठूलो मानव सागर रणभूमिमा मर्न र मार्न तयार भयो । आफन्तहरुबीच नै पनि कुनै सीमारेखा रहेन । आत्मीयता, मित्रता, बन्धुत्वजस्ता मानवोचित व्यवहारहरु हराउँदै गए । कतिसम्म भने महाभारतमा एकै परिवारका पाण्डव र कौरव दाजुभाइबीचमै द्रौपदीका नाममा भीषण युद्ध भयो । त्यस युद्धमा पाण्डव पक्षका १५ लाख ३० हजार ८ सय ९२ जनाको ज्यान गयो भने कौरव पक्षका २३ लाख ५ हजार ६ सय ९७ मारिए । पाण्डवले विजय प्राप्त गरेको भनिए पनि युद्ध मैदानबाट जिउँदो फर्किने जम्माजम्मी ८ जना थिए– पाँच पाण्डव दाजुभाइ, कृष्ण, सात्यकी र युयुत्सु । हारेको भनिएको कौरव पक्षका जम्मा तीनजना अस्वत्थामा, कृपाचार्य र कृतवर्मा जीवित फर्किएका थिए ।

त्यस नरसंहारकारी युद्धले सारा पृथ्वीबाट मानवीयता सखाप भएको थियो । व्यापक निराशाले घर गरेको थियो । जिउँदाहरुमा पनि जीवनप्रतिको मोह लगभग समाप्त भइसकेको थियो । युद्धमैदानमा धेरै आफन्तहरुको आलो रगत आफ्नै आँखाले देखेकाहरुको मन पूरै वेचैन थियो । त्यो भत्भती पोलिरहेको मनलाई स्थिर राख्न मुस्किल थियो ।

त्यस्तै रामायणमा पनि मानव सभ्यताले ठूलो क्षति भोग्नुपरेको थियो । यस्ता विनाशकारी युद्धमा मर्ने त मरिगए, बाँच्नेहरु पनि जिउन नसक्ने अवस्था थियो । त्यो अवस्थामा थोरै भए पनि आशाको सञ्चार गर्नु थियो । बाँच्नका लागि ढाढस दिनु थियो । समाप्तप्रायः भइसकेको मानवीयतालाई पुनःजागृत गराउनु थियो । मान्छेलाई जीवनप्रति आशावादी बनाई पुनः सभ्यतातर्फ फर्काउनु थियो । त्यसैले ती ठूला युद्धमा बगेको रगतको सागर सुकाउँदै, युद्धको दुन्दुभीमा बलेको आगो निभाउँदै, त्यही खरानीमाथि आशाको सञ्चार गर्न रामायण, महाभारत लगायतको कथाको सार खिच्दै सबै पात्रका सदगुणको कामना गर्दै दसैँको आशिर्वचन रचिएको देखिन्छ ।

आशिर्वचनका मुख्य पंक्ति र तिनको अर्थ हेरौँ–

आयुर्द्रोण सुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
शौर्यं शान्तनवे बलंहलधरे सत्यञ्च कुन्तिसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु, दशरथ राजाजस्तो श्री सम्पत्तिले परिपूर्ण, मर्यादापुरुष भगवान् श्री रामचन्द्रजस्तो शत्रु नाश गर्नसक्ने क्षमता, सम्पूर्ण ऐश्वर्य आनन्दको भोग गर्ने नहुष राजाजस्तो, हावाको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यको जस्तो शान्त, अटल र तेजवान, बलमा बलराम (श्रीकृष्णका दाजु) जस्तो, सत्यवादीमा कुन्तीपुत्र युधिष्ठिरजस्तो र अनन्त कीर्ति राख्ने विश्व ब्रह्माण्डका कर्ता (मालिक) स्वयं ईश्वर श्री नारायणको जस्तो होस् ।

जीवकल्प सहस्रेषु तेजो वृद्धि जय प्रदा ।
प्रथमं देवी कल्याणम् तीलकं रिपुमर्दनम् ।।

हजारौं कल्प कीर्ति बाँचोस्, तेजमा वृद्धि, जय प्रदान होस् । पहिलो कुरा देवीले कल्याण गरुन् । तिलकले शत्रुनाश (खराब प्रवृत्तिको) हुन् ।
स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु गोवाजिहस्ति धनधान्य
समृद्धिरस्तु ।
ऐश्वर्यमस्तु विजयोऽस्तु रिपुक्षयोऽस्तु सन्तानवृद्धिसहिता
हरिभक्तिरस्तु ।।

परम आनन्द, कुशल (सक्षम), दीर्घायु, गाई, घोडा र हात्ती आदिले युक्त, धनधान्य सम्पत्तिले सम्पन्न,
सुख समृद्धि, ऐश्वर्य (सबै सुखबाट सम्पन्न), प्रतिस्पर्धामा विजय प्राप्त, शत्रुभावको नाश, अविरल सन्तान वृद्धि (वंश वृद्धि )सहित श्री हरिको चरणकमलमा भक्ति लागोस् ।

लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे ।
वर्धन्तां वन्धुवर्गासकलरिपुगणास् यान्तु पातालमूलम् ।।
देशे देशे च कीर्तिस् प्रसरतु भवतां दिव्यकुन्देन्दुशुभ्रा
।
जीव त्वं पुत्रपौत्रैसकलसुखयुतैर्हायनानां शतैश्च ।।
हातमा र घरमा लक्ष्मीको निवास होस् ,
वाणीमा सरस्वतीले निवास गरुन् , दाजुभाइ

इष्टमित्र वन्धुवर्गादि वृद्धि होउन्, शत्रुहरु पैतालामुनि रहुन् । देश विदेशमा पनि कीर्ति बढोस् । ठाउँठाउँमा उचित कार्यको प्रशंसा होस् । छोरा, नाति र पनाती आदि सबै सुखसहित भई तिम्रो आयु सय वर्षको होस् ।
यिनै आशिर्वचनका साथै सम्पूर्ण पाठकवर्गमा बडादसैँ २०७८ सालको हार्दिक मंगलमय शुभकामना।

  • प्रकाशित मिति : असोज २८, २०७८, बिहीवार ००:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८