असोज २४,२०७८
प्रगतिउन्मुख समाज काममा विश्वास गर्छ । समस्या देखिए समाधान खोज्छ । उठ्न नसकेकालाई टेको देखिन्छ । हिँड्न नसक्नेलाई सहारा दिन्छ । हिँड्नेहरुलाई दौडन प्रेरित गर्छ । अरुको उन्नति र प्रगतिमा पनि खुसी मनाउँछ ।
संकुचित सोच र दरिद्र मानसिकताबाट ग्रसित समाजका सदस्य न अरुको प्रगति देखी सहन्छन्, न आफू प्रगति गर्न सक्छन् । जहाँत्यहीँ समस्या मात्र देख्ने दीर्घरोगले दिमाग कुँजिएको हुन्छ । एकले अर्कालाई शंका मात्र गर्ने, त्याग र तपस्याको मूल्य नबुझ्ने अनि जब कसैले प्रगति गर्छ, उसको निन्दा गरेर समय बिताउने यस्तो समाजको विशेषता हुन्छ ।
लामो समयदेखि नेपाल यही अवस्थाबाट गुज्रिरहेको छ । आशंका, विरोध, निन्दा, विद्रोह, ध्वंस आदिको दुष्चक्रमा आममनोविज्ञान नराम्ररी फसेको छ । हालै सरकार विस्तारका क्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना पुराना राजनीतिक सहयोद्धालाई प्रकाशमा ल्याएर महत्त्वपूर्ण जिम्मेवारी सुम्पिँदा काठमाडौँको एउटा वर्गमा भुइँचालो गएको छ ।
आजीवन आफूलाई कांग्रेस राजनीतिमा समर्पित गरेका, जेलनेल भोगेका अनि कोइराला खेमाको थिचोमिचोमा परेका गजेन्द्रबहादुर हमाल संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा धेरै कांग्रेसीलाई समेत सकसको समाचार बनेको छ । कसैले गैरसांसद भनेर टिप्पणी गरेका छन् त कसैले नातागोता केलाएर प्रधानन्यायाधीश एवं न्यायपालिकासम्मलाई हिलो छ्याप्ने काम गरेका छन् ।
वास्तवमा नेपाली कांग्रेसमा लामो समय राजनीति गरे पनि उचित ठाउँ नपाएका नेतामा गनिन्छन् हमाल । सिंगो परिवारलाई नै लोकतान्त्रिक आन्दोलनमा होमिए पनि अहिलेसम्म कांग्रेस नेतृत्वको नजर पर्न सकेको थिएन । पार्टीको राजनीतिमा सबै अवसर गुमेपछि पनि सामाजिक तथा धार्मिक गतिविधिमार्फत् उनले लोकतन्त्रप्रति आफ्नो आस्थाको जगेर्ना गरिरहेका थिए ।
बाँके जिल्लाकै पुराना कांग्रेस नेतामध्येमा गनिने हमाल बाँकेको कांग्रेस सभापति पनि भइसकेका हुन् । हमाललाई धेरैले सादगी र सन्त नेताका रुपमा पनि चिन्छन् । नेविसंघको स्थापनाकालदेखि नै सक्रिय हमालको योगदान नेपाली कांग्रेसका लागि अविस्मरणीय रहेको कुरा उनलाई चिन्ने हरेक कांग्रेस कार्यकर्ताले मुक्तकण्ठले बताउँछन् ।
यति मात्र होइन, हमाल परिवारले नै कांग्रेसको संगठन विस्तारमा ठूलो योगदान गरेका छन् । उनका दाइ स्वर्गीय रनेन्द्रबहादुर हमाललाई कांग्रेसमा भाइराजा भनेर पुकारिन्थ्यो ।
मन्त्री गजेन्द्रबहादुर हमाल २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा नेविसंघ बाँकेको जिल्ला अध्यक्ष भएका थिए । २०४० सालमा स्थानीय त्रिभुवन चोकमा तत्कालीन राजा र रानीको फोटो च्यातेपछि उनको चर्चा चुलिएको थियो ।
२०३९ र २०४४ सालमा वडाध्यक्ष बनिसकेका हमाल २०५३ सालमा कांग्रेस विभाजन हुँदा बाँके कांग्रेसको सभापति बनेका थिए । नेपाली कांग्रेसका नेता सुशील कोइरालासँगको टकरावका कारण त्यतिखेर उनी देउवासँगै प्रजातान्त्रिक कांग्रेसमा लागेका थिए । कोइराला बाँचुञ्जेल उनलाई राजनीतिमा माथि उठ्नै दिएनन् । सधैँ दबाबमा बस्नुपर्यो ।
पहिलो संविधान सभाको निर्वाचन २०६४ मा उनले बाँके क्षेत्र नम्बर १ बाट चुनाव लडे पनि त्यतिखेर देशव्यापी माओवादीको लहर भएकाले तिलक परियारसँग पराजित भए । तर, उनले आफ्ना आस्था र आदर्श कुनै कुरासँग साटेनन् । कसैसँग सम्झौता गरेनन् । पार्टी नेतृत्वले उनलाई जुनसुकै व्यवहार गरे पनि उनले पार्टीलाई घात गरेनन् । पार्टीभित्र उनले विद्रोह पनि गरेनन् । आफू भूमिकामा हुँदा वा नहुँदा, जुनसुकै अवस्थामा पनि पार्टीको हितका निम्ति कुरा गरे । लोकतन्त्रलाई सुदृढ बनाउने विचारको पैरवी गरे । त्यसैअनुकूलका व्यवहारको अभ्यास गरे । नेपाली राष्ट्रियता, पहिचान र सांस्कृतिक मूल्यमान्यताको जगेर्नाका निम्ति सँधै खट्ने र डट्ने नेताको नाम पनि गजेन्द्रबहादुर हमाल हो ।
यसर्थ, हमालको व्यक्तित्वसँग जल्नुपर्ने कुनै कारण छैन । कांग्रेसीहरुले त झन् ओझेल परेका यस्ता इमानदार, कर्तव्यनिष्ठ एवं सिद्धान्तनिष्ठ नेताले अवसर पाएकामा खुसी मनाउनुपर्ने हो ।
वास्तवमा प्रधानमन्त्री देउवाको यस निर्णयले धेरै इमानदार, कर्तव्यनिष्ठ एवं सिद्धान्तप्रेमी नेता–कार्यकर्ता पंक्तिमा आशा र उत्साहको सञ्चार गरेको छ । खोजीखोजी पार्टीले जिम्मेवारी दिन्छ भन्ने विश्वास पैदा भएको छ । यस्तो व्यक्तित्वलाई खोजीखोजी जिम्मेवारी दिएपछि देउवाले महाधिवेशनमा धेरैको मन जित्न सक्ने र यसले उनलाई झन् बलियो बनाउने भएकाले पनि कतिपयलाई औडाहा भएको हुन सक्छ ।
तर, यसो गर्दा ख्याल गर्नुपर्ने कुरा के हो भने लो प्रोफाइलमा रहने, विकृत तवरले षड्यन्त्र र खेलखण्ड नगर्ने एक इमानदार, सादगीपूर्ण व्यक्तिले देशको गरिमामय मन्त्री पद पाउँदा अरु यस्तै इमानदार र पार्टीप्रति प्रतिबद्ध नेता–कार्यकर्ताको भावनामा पनि ठेस पुग्न सक्छ । अझ योभन्दा पनि चिन्ताको विषय, जबरजस्ती देशको प्रधानन्यायाधीश एवं न्यायपालिकालाई राजनीतिक विवादमा तान्दा संस्थाको संवेदनशीलता पटक्कै ख्याल गरिएको पाइँदैन । अहिले अरुमाथि हिलो छ्याप्ता कतिपयलाई आनन्द आएको हुन सक्छ । भोलि त्यही संस्थाको संरक्षण नपाउँदा निकै ठूलो मूल्य चुकाउनुपर्ने पनि हुन सक्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८