केही दिन अघि मात्रै चितवन काँग्रेसका सभापति जितनारायण श्रेष्ठले गठबन्धन नहुने संकेत गर्दै प्रचण्ड र रेनुलाई कुनै हालतमा चितवनबाट लखेट्नुपर्ने बताइरहदा शनिवार चितवन आएका प्रचण्डले भने चितवनमा गठवन्धन पुरानै पारामा हुने बताएका छन्। के काँग्रेसले प्रचण्डलाई भोट हाल्लान् त?
केपी शर्मा , असोज २३, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठवन्धन आउँदो चुनावसम्म रहने बताएका छन् ।
शनिवार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने,“यो गठवन्धन चुनावसम्मका लागि बनेको हो । त्यसमाथि पनि चितवन जस्तो ठाउँमा गठवन्धन अझै मजबुद हुनुपर्छ ।”
आउँदो चुनावमा चितवनमा पुनः गठवन्धन सहित अघि बढ्ने उनको संकेत थियो । विभिन्न समय चितवन आउँदा उनले प्राय गठवन्धनलाई जोड दिइरहनुले उनी एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको देखाउँछ । केही समय अघि मात्रै एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा बादलले प्रचण्डसँग चुनाव लड्न पार्टीले पठाएमा पार्टीको निर्णय आफूलाइ मान्य हुने बताउँदै तयार रहेको बताएका थिए ।
यसै कुराको सन्दर्भलाई लिएर पत्रकारले सोधेको जिज्ञासामा उनले बादलवारेमा आफ्नो कुनै टिप्पणीनै नभएको बताए । उनले भने,“ त्यस्तो तल्लो स्तरको भनाई प्रति मैले कुनै टिप्पणी गरिरहनुपर्ने आवश्यकता नै छैन । हामी गठवन्धनमा छौँ । चितवनका जनतालाइ थाहा छ चुनाव कसले जित्दछ । ”
शुक्रवार मात्रै पूर्णता पाएको मन्त्रीमण्डलको विषयमा आफू पूर्णरुपमा सन्तुष्ट रहेको उनले बताए ।
उनले भने,“मन्त्रीमण्डल विस्तार गरिएको मात्रै होइन यसले पूर्णता पनि पाएको छ । अव सिङ्गो मन्त्रीमण्डलले विकास निर्माणका कामहरुमा केन्द्रीत हुनेछ । अझै पनि कोभिड १९ पूर्णरुपमा समाप्त भइनसकेकोले यो सरकारले कोभिड विरुद्ध प्रस्तुत भइरहनु पहिलो काम हुनेछ ।”
फरक प्रसंगमा उनले एमसीसी र कालापानी लिपुलेकलाई जोड्दै भने,“ एमसीसी अहिलेकै अवस्थामा कुनै हालतमा पनि पास गर्न हुँदैन । परिमार्जन भए सहजै पास हुन्छ । लिपुलेक र कालापानी ओलीको एजेण्डा नभइ हाम्रो थियो । त्यसैले भारतसँग सहकार्य गरेर अहिलेको जनगणनामा स्थलगत रुपमै टोलीहरु सो स्थानमा पुग्नुपर्छ । ”
माडीको राममन्दीको प्रसंग उठाउँदै ओलीले राजनीतिक षडयन्त्रको नाउँमा भगवानको नाम बेचेको आरोप लगाए । उनले भने,“भगवानको नाम बेच्दै राजनीतिक षडयन्त्र गर्नु महापाप हो ।”
नेकपा एमालेले संसद चल्न नदिएको प्रसंगमा प्रचण्डले सधैँ विरोध मात्रै गर्ने भए संसद छाडेर जान एमालेलाइ आग्रह गरे ।ओलीले दुई दुई पटक संसद विघटन गर्न खोजेको कुरालाई अहिले संसद चल्न नदिएर पुष्टि गर्न खोजीरहेको उनको भनाई थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८