• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राजश्व नतिर्ने इन्टरनेट कम्पनीहरु सेवा ठप्प पार्दै आन्दोलनमा


राजश्व नतिर्ने इन्टरनेट कम्पनीहरु सेवा ठप्प पार्दै आन्दोलनमा

विद्युत प्राधिकरणले ताकेता गरेपछि केबुल टिभी प्रदायक संस्थाले दुई महिनामा ४८ लाख बढि राजश्व बुझाउँदा इन्टर सेवा प्रदायक कम्पनीले चाहिँ शुल्क किन नतिर्ने ? सेवाग्राहीसँग चर्को शुल्क असुल्ने उनीहरु राज्यलाई तिनुपर्ने दायित्वबाट भने भागिरहेका छन् । सेवाग्राहीको सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका उनीहरु आफ्ना ग्राहकप्रति अनुउत्तरदायि देखिएका छन् । सेवा नदिएको समयको शुल्क ग्राहकलाई फिर्ता गर्लान त?

 

केपी शर्मा–असोज १६, २०७८

विद्युत प्राधिकरण भरतपुर चितवनले इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले प्रयोग गर्ने तार काटिदिएपछि सेवाप्रदायक कम्पनीहरु आन्दोलित भएका छन् ।

उनीहरुले चितवनको भरतपुरमा आज विद्युत प्राधिकरण विरुद्ध चर्को नारावाजी गर्दै बजारपरिक्रमा गरे । विद्युत प्राधिकरणले बढाएको पोल भाडा फिर्ता गर्नुपर्ने र प्राधिकरणले काटिदिएको तारको क्षतिपूर्ति पाउनुपर्ने उनीहरुको माग थियो ।

भरतपुर विद्युत प्राधिकरणको गेटबाट सुरु भएको आन्दोलनले चौविसकोठी, लायन्सचोक, पुल्चोक, पोखरा बसपार्क हुँदै बजारपरिक्रममा गरेको थियो ।

सेवाप्रदायक कम्पनीहरुले दिउँसैदेखि आफ्नो सेवा समेत अवरुद्ध गर्दै आन्दोलनमा निस्किएका थिए । ‘बढाएको भाडा फिर्ता गर’, ‘कुलमान मुर्दावाद’, जस्ता नाराहरु लगाउँदै उनीहरु आन्दोलनमा उत्रिएका हुन। चितवनमा आठ वटा इन्टरनेट सेवाप्रदायक कम्पनी रहेका छन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनी (एनआईएसपीएन) का अध्यक्ष दिपक अधिकारीले एकैपटक विद्युत प्राधिकरणले ४ सय प्रतिशत भाडा बढाउनु भनेको अत्यन्तै ज्यादती भएको बताए । असोजको ११ देयिख १३ गतेसम्म विद्युत प्राधिकरणमा कुलमान घिसिङ, दुरसंचार प्राधिकरण लगायतसँग सौहार्दपूर्ण छलफल सकेर आउँदै गर्दा एक्कासी भरतपुरमा तार काटेपछि आन्दोलनमा जानु परेको उनले बताए । उनले भने,“सामान्य रुपमा भाडा बढेको भए केही थिएन । एकै पटक चार सय प्रतिशत बढाउनु अत्यन्तै हास्यस्पद जस्तो देखिन्छ ।”

अधिकारीका अनुसार प्राधिकरणले ३० देखि ४० ठाउँमा तारहरु काटिदिएकाले त्यो जोडेर सेवा संचालन गर्न सकिने अवस्था छैन । उनले भने,“वैँक तथा वित्तिय संस्था, सरकारी कार्यालय लगायत कुनैपनि ठाउँमा भोलिपनि इन्टरनेट सेवा उपलब्ध गराइने छैन । ”

यता विद्युत प्राधिकरण भरतपुरले भने सांकेतिक रुपमा मात्रै तार काटिएको बताएको छ । प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार केन्द्रको निर्देशन अनुसार शनिवार चितवनमा विद्युत इन्टरनेट सेवा प्रादायक कम्पनीका तार काटिएको हो ।

भरतपुर ११ विद्युत शव स्टेशन आसपासमा रहेका तारहरुलाई काटिएको उनले बताए । उनले भने,“हामीलाई पनि थाहा छ, इन्टरनेट नभई मिनेट चल्दैन । तर वाध्यतावश लाइन काट्नु परेको छ ।

ग्राहक बाट पैसा उठाउने अनि सरकारलाई पैसा नतिर्ने ? यो सांकेतिक रुपमा मात्रै काटिएको हो । उनीहरुले काटिएको तार जोडेर चलाएपनि हामी छुट दिन्छौँ । तर त्यो एक हप्ताका लागि मात्रै हुनेछ । अवको एक हप्ता भित्र सरकारले तोकेको शुल्क नतिरे यो भन्दा ठूलो कदम चाल्न प्राधिकरण वाध्य हुनेछ ।”

२०७३ सालदेखि इन्टरनेट सेवा प्रदायक तथा केबुल टिभीका निजी कम्पनीहरुले विद्युत प्राधिकरणको पोल प्रयोग गरे वापत एक रुपैयाँ पनि बुझाएका छैनन् । तर भदौ १ देखि असोज १ गतेसम्म विद्युत प्राधिकरणको ताकेता पछि केवुल टिभी प्रदायक कम्पनीहरुले ४८ लाख २० हजार १ सय ३३ रुपैया पोल प्रयोग वापतको भाडा तिरेका हुन् ।

इन्टरनेट सेवाप्रदायकहरुले भने अझै भाडा नतिरेको प्राधिकरणले जनाएको छ । इन्जिनियर पौडेलले भने,“ विद्युतको पोल प्रयोग गर्ने, जनताबाट पैसा उठाउने अनि सरकारलाई पैसा नतिर्ने ?” सरकारलाई राजश्व बुझाउनुका सट्टा आन्दोलनमा उत्रिएका सेवाप्रदायक कम्पनीविरुद्ध नागरिकले पनि असन्तुष्ट पोखेका छन् ।

भाडा कति थियो र कति भयो?

पुरानो निर्णय अनुसार सेवाप्रदायक कम्पनीले महानगरपालिकामा रु.२ सय रुपैया प्रति महिना प्रति पोल भाडा रहेको थियो । उपमहानगरपालिकामा रु.१५० रुपैया, नगरपालिकामा रु. १ सय रुपैया र गाउँपालिकामा रु. ५० रुपैयाँ रहेको थियो ।

तर २०७७ साल भदौ ५ गते संचारमन्त्रालयका सह–सचिव राधिका अर्यालको संयोजकत्वमा बसेको बैठकले पोलको भाडादर बृद्धि र परिमार्जन गरेको थियो । पहिला प्रतिपोल बुझाउनुपर्ने भाडालाई अहिले प्रतिकिलोमिटरमा परिमार्जन गरी कार्यान्वयन गर्न भनिएको थियो ।

जस अनुसार महानगरपालिका र उपमहानगरपालिकामा प्रतिकिलोमिटर रु.९ हजार र गाउँपालिका र नगरपालिकामा प्रतिकिलोमिटर रु.७ हजार रुपैया लिने सरकारी निर्णय भएको थियो ।

दुरसंचार प्राधिकरण, नेपाल टेलिकम,नेपाल विद्युत प्राधिकरण लगायतले संयुक्त रुपमा बसेको बैठकले सो निर्णय गरेको हो ।

सरकार र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक र केवुल नेटवर्क प्रालिहरुको लडाईले पैसा तिरेर इन्टरनेट र टिभीको सेवा लिने ग्राहकहरु भने चेपुवामा परेका छन् ।

शनिवार देखिनै इन्टरनेट सेवा अनिश्चितकालका लागि बन्द हुँदा अनलाईन कक्षा, बैँक तथा वित्तीय संस्था,संचारमाध्यम लगायत निजी कम्पनीहरु अत्यधिक मारमा परेका छन् । यो लडाई अन्त्य नभएसम्म सेवाग्राहीहरु मारमा परिरहने निश्चित देखिन्छ।

  • प्रकाशित मिति : असोज १६, २०७८, शनिवार १२:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८