• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एक वर्षमा ५४ प्रतिशतसम्म घट्यो आलुको मूल्य


एक वर्षमा ५४ प्रतिशतसम्म घट्यो आलुको मूल्य

असोज ३,२०७८

एक वर्षको अवधिमा आलुको मूल्य ५४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख भए अनुसार गतवर्षको यसै अवधिको तुलनामा अहिले आलुको मूल्यमा उक्त कमी आएको हो ।

यस वर्ष आन्तरिकका साथै बाह्य बजारबाट पनि पर्याप्त मात्रामा आपूर्ति भइरहेकाले गतवर्षको तुलनामा आलुको मूल्य घटेको बताइएको छ । समितिको तथ्यांक अनुसार गतवर्षको यस अवधिमा भारतीय रातो आलुको मूल्य प्रतिकिलो ५९ रुपैयाँ रहेको थियो । उक्त मूल्य यस वर्ष ५४ प्रतिशतले घटेर प्रतिकिलो २७ रुपैयाँमा सीमित भएको छ । नेपाली रातो आलुको मूल्य अघिल्लो वर्षको यस अवधिमा प्रतिकिलो ९४ रुपैयाँ रहेकोमा यस वर्ष ३९ दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी मुडेको आलुको मूल्य गतवर्ष प्रतिकिलो ८१ रुपैयाँ थियो भने हाल यो मूल्य ३९ दशमलव ५० प्रतिशतले घटेर ४९ रुपैयाँ रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले यस वर्ष आलुको आपूर्ति सहज भएको र भारतीय बजारमा समेत मूल्य घटेकाले नेपालमा पनि सस्तिएको बताए । गतवर्षको यस समयमा नेपालमा बन्दाबन्दीका कारण आपूर्ति प्रभावित हुँदा मूल्य बढेको थियो । उनका अनुसार अहिले कालीमाटी बजारमा भित्रिने कुल आलुमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत आन्तिरिक उत्पादन रहेको छ ।

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांक अनुसार झापा, इलाम, काभ्रे, सोलुखुम्बु, मोरङ, सप्तरी, मकवानपुर, बारा, रूपन्देही, कैलाली लगायत जिल्लाको करीब २ लाख हेक्टर क्षेत्रफल जमीनमा आलुखेती गरिन्छ । नेपालमा आर्थिक वर्ष २०७४/७५ मा १ लाख ९५ हजार १ सय ७३ हेक्टर जमीनमा आलुखेती गरिएकोमा आर्थिक वर्ष २०७५/७६ मा करीब १ लाख ९४ हजार हेक्टर जमीनमा गरिएको थियो । तर आर्थिक वर्ष २०७६/७७ मा भने आलुखेती हुने क्षेत्रफल घटेको पाइएको छ । केन्द्रको तथ्यांकले सो आवमा १ लाख ८८ हजार ९८ हेक्टरमा मात्रै आलुखेती गरिएको देखाएको छ । केन्द्रका सूचना बागवानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार नेपालमा आलुको कुल माग वार्षिक साढे ३२ लाख मेट्रिकटन छ, जसमध्ये करीब २८ लाख मेट्रिकटन आन्तरिक उत्पादन छ भने साढे ४ लाख मेट्रिकटन विभिन्न मुलुकबाट आयात हुने गरेको छ । स्वदेशी उत्पादन बाहेक नेपालमा वार्षिक ६ अर्ब मूल्य बराबरको आयातित आलु उपभोग हुने गरेको छ ।आर्थिक अभियानबाट

  • प्रकाशित मिति : असोज ३, २०७८, आइतवार ००:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८