असोज ३,२०७८
२०७२ सालको साउनको महिनाको पहिलो साता नयाँ संविधानको मस्यौदा जारी हुँदा मधेस विन्द्रोह( ३ सुरु भयो । नयाँ जारी हुने संविधानमा मधेस विद्रोह-१ र २ को २२ बुँदे र ८ बुँदे सम्झौताहरू सम्बोधन नहुने देखिएपछि आन्दोलनरत पक्ष संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट साउनको पहिलो हप्तादेखि नै मधेस आन्दोलन-३ को बिगुल बज्यो ।
तराई मधेसको २२ वटै जिल्लामा मस्यौदाको प्रतिलिपि जलाउनेदेखि अनेकौं थरिका विरोधका कार्यक्रमहरू जारी रहयो । संविधानको मस्यौदाअनुसार मधेसी र उत्पीडितको अधिकार र पहिचानसहितको संघीयता सुनिश्चित नभएको कारण तेस्रोपटक मधेसमा आन्दोलनको आगो बलेको थियो । उक्त आन्दोलन साउन ३० गते राँके जुलुस प्रदर्शन गर्दै ३१ गतेदेखि अनिश्चित कालको लागि तराई(मधेस बन्द घोषणा भयो ।
मधेसकेन्द्रित दलहरूको अगुवाइमा जारी आन्दोलनको रापतापले तराई-मधेस ठप्प भए र त्यसको प्रभाव पूरै नेपालमा पर्यो । साउन ३१ गतेदेखि घोषित आमहडतालमा प्रदर्शनको क्रममा भदौ १ गते सप्तरीमा प्रहरीको गोलिबाट मधेस विन्द्रोह- ३ का पहिलो सहिद राजिव राउत भए ।
सप्तरीमा चलेको गोलिका कारण आक्रोशस्वरूप पुरै मधेसमा आन्दोलनमा जनसहभागिता हृवातै बढयो । साउन २५ गते कैलालीमा मधेसवादी नेताहरूको क्रान्तिकारी सम्बोधनले यसपटक थारू समुदायको व्यापक सहभागितामा पश्चिमी मधेसमा पनि आन्दोलनमा जोश र उर्जा थपिएको थियो ।
भदौ ७ गते कैलालीमा भएको घटनापछि आन्दोलन र प्रदर्शनमा सुरक्षाकर्मीको रवैया झन् आक्रमक देखिन थाल्यो र बलपूर्वक पश्चिमको आन्दोलन दबाउने प्रयास भयो र धेरै आन्दोलनकारी पलायन हुन बाध्य भयो र दर्जनौं गिरफ्तार भए ।त्यहीँ टीकापुर घटनाको मुद्दामा राजपाका तर्फबाट भारी मतले विजय भएका प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरी अहिले पनि जेल जीवन बिताइरहेका छन् । उनीजस्ता अन्य आन्दोलनकारिहरू अहिले पनि मुद्दा खेपिरहेका छन् ।
यता आन्दोलनको केन्द्रबिन्दु रहेको वीरगन्जमा भदौ १३ गतेसम्म आन्दोलन शान्तिपूर्ण नै रहेको थियो तर स्थानीय प्रशासनले भदौ १४ गतेदेखि कर्फ्यु आदेश जारी गर्यो र कर्फ्यु आदेशको उलंघन गरी हजारौंको संख्यामा आन्दोलनकारिहरू बाजागाजाको साथ गाउँ गाउँबाट वीरगञ्जमा प्रवेश गरी प्रदर्शनलाई तीव्र बनाए ।
नयाँ बन्ने संविधानले आफ्नो अधिकार, पहिचान र स्वभिमानमा घात पुर्याउने भन्दै संविधानलाई पुर्व सम्झौता र अन्तरिम संविधानलाई टेकेरमात्र जारी गर्न खबरदारीस्वरूप जनजन आन्दोलित हुन पुगेका थिए । सोही क्रममा आन्दोलनको केन्ऽबिन्दु वीरगन्जमा प्रहरीद्वारा आन्दोलन दबाउन तावरतोड गोली प्रहार हुन थाल्यो र प्रहरी दमन बढ्न थाल्यो ।
दमनको क्रममा प्रहरीको गोलि लागी भदौ १४ र १५ गरी वीरगन्जमा मात्र पाँचजना युवा प्रदर्शनकारीहरूको मृत्यु भयो । भदौ १४ गते सोहन कलवार र दिलिप चौरसिया र १५ गते दिनानाथ साह गोढ, धर्मराज सिंह र जयप्रकाश साह प्रहरीको गोलिले सहिद भएका थिए । वीरगञ्ज(१६ नगवा पोखरा नजिक मेरो आन्खाको सामुन्नेमा नै प्रहरीको गोलीले सोहन साह कलवारको टाउको उडाएको घटना वेदनापूर्ण र कहिले नबिर्सिने घटना बनेको छ ।
२०७२ असोज ३ गते अर्थात नयाँ संविधान जारी हुने दिन पहाडतिर नयाँ संविधानको अवसरमा दिपावली मनाउने तयारी हुँदै थियो भने तराई मधेसमा कालो दिन बनाउन तयारी हुँदै थियो । नयाँ संविधानमा मधेसी र उत्पीडितले आफ्नो अपनत्वबोध नभएको र लामो आन्दोलन र असन्तुष्टिलाई सम्बोधनभन्दा पनि पेलेरै संविधान जारी गर्न लागेकाले यता कालो दिवस मनाउन गाउँगाउँबाट ढोल तर्सा लिएर, कालो पहिरन लगाएर सहर-सहर, चोक-चोकमा एकाबिहानदेखि नै प्रदर्शन सुरु भएको थियो ।
जिल्लाभरिबाट आएका आन्दोलनकारीहरू सदरमुकाम वीरगन्ज बजारमा निषेधाज्ञा तोड्न आतुर देखिन्थे त्यसै क्रममा हजारौंको सहभागितासहितको जुलुस माइस्थान चोक पुग्न लाग्दा प्रहरीको अन्धाधुन्ध गोलि फायरिङबाट पकहा मैनपुर निवासी युवा आन्दोलनकारी शत्रुघन पटेलको घटनास्थलमै मृत्यु भएको थियो । त्यसको केहीबेरपछि नै मुन्सी पटेललाई पनि गोलि लाग्यो र मुन्सी पटेल आज पनि जिउँदो सहिदका रूपमा थला परेका छन् । त्यहीँ दिन राति विरोधस्वरूप मधेसमा ‘ब्ल्याक आउट’ गरियो र पहाडमा नयाँ संविधानको स्वागतमा दिपावली मनाइयो ।
‘असोज ३ गतेको दिन मधेसको लागि र मेरो जीवन तथा घर परिवारका लागि यथार्थ मै कालो दिन रहेको छ, यहीँ दिन मधेसी बिरोधि संविधान जारी हुँदै गर्दा त्यसको शान्तिपुर्ण बिरोध गर्दा प्रहरीले अपांग बनायो, मेरो जीवन र जवानी बर्बाद गर्यो । त्यसकारण संविधानमा हाम्रो माग सम्बोधन नहुँदासम्म हामी यो संविधानलाई स्वीकार गर्दैनौं र हाम्रो सपना साकारको लागी मधेसी नेता पनि ईमानदार हुनुपर्छ’ भावुक हुँदै जिउँदै सहिद मुन्सी पटेलको भनाइ छ ।
मधेस आन्दोलनका घाइतेहरूको उपचारमा सहयोग गर्दै आएका समाजिक अभियन्ता प्रकाश थारू भन्नुहुन्छ, ‘यो संविधानले सीमान्तकृत र उत्पीडित समुदायका मुलभुत समस्याहरू सम्बोधन गर्न नसकेको र निहत्था मधेसीको रगतले लेखिएको संविधान भएकोले पनि यो संविधान प्रति अपनत्वको अनुभूति हुन सकेको छैन । त्यसकारण पनि असोज ३ गतेलाई कालो दिवसकै रूपमा आफूहरूले मनाउने गरेका छौं ।’
यो संविधानले जन आन्दोलन र मधेस आन्दोलनका सहिदहरूको सपनालाई पूरा गर्न नसकेको प्रकाशको भनाइ छ । उनका अनुसार महान वीर सहिदहरूको सम्मान भएको छैन, घाइते र सहिदप्रति राज्य उदासीन छ । यो संविधानमा आफ्नो असन्तुष्टि व्यक्त गर्दा आन्दोलनका क्रममा करिब ६० जना सहिद भए । सयौं घाइते भएका थिए भने धेरैले अझै पनि मुद्दा खेप्दै आएका छन् ।
बन्दै गरेको संविधान विभेदकारी रहेको भन्दै करिब ६ महिनासम्म चलेको मधेस आन्दोलन बजार, सडक संघर्ष, सीमा नाकामा धर्ना, राँके जुलुस, मेची-महाकाली मानव साङ्लो लगायतका कार्यक्रमहरू चलेका थिए ।
देशको समग्र बिकास, समृद्धि र स्थायी एवं दिगो शान्तिका लागि पनि राज्य र आन्दोलनरत पक्षबीच संवाद, छलफलको विकल्प छैन । विभेद रहेसम्म देशमा समृद्धिको सपना कहिले पूरा हुनै सक्दैन । अतः भुसको आगोजस्तै बिस्तारै सल्किरहेको आगो देशको हितमा हुँदैन । बेलैमा सबै पक्षलाई समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउनैपर्छ । मधेसी र उत्पीडितलाई राज्यको मूलधारमा नल्याएसम्म एकाइसौं सताब्दिको समावेशी लोकतन्त्रको परिकल्पनासमेत गर्न सकिँदैन।
एउटै देशमा आधा भूभागमा ‘संविधान दिवस’ र आधामा ‘कालो दिवस’ मनाउने परम्पराको छिटै अन्त्य होस् । असोज ३ गते सबै नेपालीका लागि दिपावली मनाउने र हर्षोल्लासका साथ संविधान दिवस मनाउने वातावरण बनाउने दायित्व राज्यकै हो ।लोसपाले ‘ब्ल्याक आउट’ कार्यक्रम गर्न निर्देशन जारी गर्दै गर्दा मधेसकै अर्को सशसक्त पार्टी जसपा भने मौन छ । जसपाले विरोधका कार्यक्रम वा उत्सवका कार्यक्रम दुवैमा सहभागि नहुने जनाएको छ ।
जसपा प्रवक्ता डम्बर खतिवडाले पार्टीले विरोध वा उत्सवको कार्यक्रममा सहभागि नभई संविधानमा संशोधन गर्नुपर्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गर्न सकिने बताए ।
‘हामीले गणतन्त्र, संघीयता, समावेशिता लगायतका मुद्धा स्वीकार गरेका छौं । हामी यसको विरोधी होईनौं । तर संघीयताको सिमांकन मिलेको छैन्, निर्वाचन क्षेत्रको बिषयसहित अनेक मुद्धाहरु सम्बोधन गर्न बाँकी नै रहेको छ । यस बिषयमा हामी अन्तरक्रिया कार्यक्रम गरेर संविधानमा के–के संशोधन गर्नुपर्छ रु भन्ने बिषयमा छलफल गर्छौ । विरोध वा उत्सव दुवै कार्यक्रममा हामी सहभागि हुदैनौं’ प्रवक्ता खतिवडाले भने ।
तत्कालिन राजपा नेपालले संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा लिएपछि मधेस केन्दिद्रद दलले संविधान जारी भएको दिन विरोधका कार्यक्रम गर्दै आएको छ । गत वर्षसमेत लोसपा पक्षधरहरुले विरोधका कार्यक्रम गरेका थिए । तर उपेन्द्र यादव नेतृत्व पक्षधर नेताहरु गत वर्ष पनि मौन नै बसेका थिए । यद्यपि, मधेसमा निर्वाचित जनप्रतिनिधिहरुसमेत विरोधका कार्यक्रममा सहभागि हुनुका साथै कार्यक्रमको नेतृत्वसमेत गरेका थिए ।
गत वर्ष संविधान दिवस कसरी मनाउने रु भन्नेबारे जसपाभित्र विवाद बढेको थियो । त्यतिबेला जसपाको एउटा पक्ष मौन रह्यो भने अर्को पक्षले सडकमा संविधान दिवसलाई ‘कालो दिन’ का रुपमा मनाएको थिए । जसपा नेपाल विभाजित भएर लोसपा बनेपछि भने यो पटक जसपाले संविधान दिवसमा मौन रहने र लोसपाले विरोधका कार्यक्रम गर्ने तयारी गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८