साउन १९,२०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको आज २२ दिन पुगेकोे छ । गठबन्धन दलको बलमा केपी शर्मा ओलीलाई हटाएर प्रधानमन्त्री बन्न सफल भएका देउवाले सबैलाई समेटेर सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
कसले कति मन्त्रालय लिने भन्नेमा गठबन्धनमा आवद्ध दलका नेताहरूबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद विस्तारबारे सहमति हुन नसकेको स्रोतको दावी छ ।देउवालाई प्रधानमन्त्री बन्न जति सजिलो भएको थियो मन्त्रिमण्डल विस्तार गर्न भने निकैनै मुस्किल परिरहेको छ ।
हुन त उनको एकल निर्णयबाट सरकार विस्तार गर्न सक्ने स्थिति छैन । आफ्नै पार्टी नेपाली कांग्रेस, एमालेको माधव नेपाल पक्ष, माओवादी केन्द्र,जसपा र जनमोर्चा लगायतका दलका नेताहरुको सहमति चाहिने स्थितिछ ।
बहुमतको कम्युनिष्ट सरकार यसरी बिचैमा ढल्छ र सरकारमा जाउँला भनेर विपक्षी दलहरुले पाँचवर्ष यता सायद सोचेका पनि थिएनन् । त्यस कारण मन्त्री बन्नका लागि गठबन्धन दलभित्र सबैले रुची देखाएको हुँदा दलहरुलाई व्यक्ति तोक्न मुस्किल परिरहेको छ ।
माओवादीमा धेरै आकांक्षी देखिएपछि सोमबार मन्त्री तोक्न बस्ने भनिएको स्थायी कमिटीको बैठक पनि स्थगित भयो । त्यसो त कांग्रेसमा पनि मन्त्री बन्न हानाथाप छ ।
संस्थापनइतर समूहका नेताहरूले सम्मानजनक सहभागिता निश्चित नभए सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेका छन्। युवा पुस्ताका नेताले सम्मानजनक हैसियतबिना सरकारमा जान नहुने बताएका छन्। प्रधानमन्त्री देउवा केही दिन अघि व्यापारी समेत रहेका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।
उनले एकलौटी ढंगबाट नियुक्ति गरेको भन्दै आफ्नै दल र गठबन्धनबाट समेत व्यापक आलोचना भएको थियो । त्यसयता कुनै पनि सदस्य मन्त्रिमण्डलमा थपिएका छैनन् । शपथ ग्रहणका दिनमा प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादीबाट दुईरदुई जना सदस्यलाई मन्त्रिमण्डलमा सामेल गराएका थिए । कांग्रेसमा मन्त्री बनेकाहरु पनि देउवा पक्षकै हुन् ।
संस्थापनइरबाट हालसम्म कसैलाई मन्त्री बनाइएको छैन । यस्तै जसपाले पनि मन्त्रिमण्डलमा सहभागी हुनेको टुंगो लगाउन सकेको छैन । सरकारमा जानुअघि उसले प्रधानमन्त्रीबाट रेशम चौधरीको रिहाईको सुनिश्चितता व्यक्त हुनुपर्ने,नागरिकताको विषयमा पनि सरकार प्रष्ट हुनुपर्ने चाहेको छ।
दलहरुको अवस्था हेर्दा तत्काल सरकार विस्तार भईहाल्ले स्थिति देखिदैन ।महाधिवेशन नजिकिदै गर्दा क्रियाशील सदस्यता विवादले रन्थनिएका देउवालाई सरकार विस्तारको सुस्तताले थप तनाव गराएकोछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८