अब देउवाले दुईजना रामचन्द्र पौडेल खेमाबाट र एकजना कृष्ण सिटौलाको समूहबाट मन्त्री चयन गर्ने सम्भावना
असार ३०, २०७८
कांग्रेस सभापति शेरबहादुर देउवाले पाँचौँपटक प्रधानमन्त्रीमा शपथ लिएलगत्तै चार मन्त्री नियुक्त गरेका छन् । चारैजनाको शपथ पनि राष्ट्रपति कार्यालयमा मंगलबार नै सम्पन्न भएको छ ।
उनले आफ्नो पार्टीबाट मन्त्रिमण्डलमा कस्तो टिम बनाउँदै छन् भन्ने सर्वाधिक चासोको विषय बनेको छ । पहिलो चरणमा उनले बालकृष्ण खाँड र ज्ञानेन्द्रबहादुर कार्कीलाई चयन गरेका छन् ।यी दुवै नेता देउवाका विश्वासिला सहयोगीमध्ये पर्छन् । नेविसंघको राजनीति गरी अध्यक्षसम्म भइसकेका यी दुवैजनाको कांग्रेस संगठनमा राम्रो पकड रहेको मानिन्छ । यस हिसाबले हेर्दा उनले महाधिवेशनलक्षित छनोटलाई प्राथमिकता दिएको देखिन्छ ।
देउवाले खाँडलाई मन्त्री बनाएर विजय गच्छदारको पनि चित्त बुझाएका छन् । किनभने, खाँड देउवाभन्दा गच्छदारको रोजाइ र जोडबलमा बढी परेका नेता हुन् । देउवाले आगामी महाधिवेशनमा प्रमुख पदाधिकारीमध्ये एकमा खाँडलाई उठाउनुपर्ने बाध्यता छ ।
कार्कीका हकमा भने देउवाले पदाधिकारीमा दावी नगरुन् भनेर अहिले नै मन्त्री बनाएर थामथुम पार्न खोजेको देखिन्छ । राष्ट्रपति विद्या भण्डारीका आफन्तसमेत रहेका र गत निर्वाचनमा पनि कांग्रेसको भोटले भन्दा एमालेको समर्थनबाट जित्न सफल कार्की यसअघि अर्थमन्त्री थिए । प्रधानमन्त्री पत्नी आरजू देउवासँग पनि कार्कीको घनिष्ट सम्बन्ध रहेकाले पहिलो छनोटमै मन्त्रिमण्डलमा पर्न सफल भएका हुन् ।
अब देउवाले दुईजना रामचन्द्र पौडेल खेमाबाट र एकजना कृष्ण सिटौलाको समूहबाट मन्त्री चयन गर्ने सम्भावना छ । सिटौलाले गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एकजनालाई पठाउनेछन् । यद्यपि, यसपालि गगन थापा मन्त्रिमण्डलमा पर्ने सम्भावना निकै कम छ । किनभने, उनले केही समययता कित्ता परिवर्तनको संकेत गरेका छन् । गगनले आफ्नो साथ छाडेको अनुभव सिटौलाले गरेका छन् । त्यसैले आफ्नो कोटाबाट उनले प्रधानलाई पठाउने सम्भावना प्रबल छ । चौधरीलाई पार्टीकै गतिविधिमा केन्द्रित हुन भन्न सक्नेछन् ।
देउवाको सत्तारोहणले सबैभन्दा सकस रामचन्द्र पौडेल र उनको खेमालाई पारिदिएको छ । एक त देउवा प्रधानमन्त्री भएपछि पार्टीमा थप शक्तिशाली बन्दै गएका छन् । अर्कोतिर, दुईवटा सिट मात्रमा चित्त बुझाउनुपरेकाले पौडेलले कसको नाम पठाउने र कसको नपठाउने भन्ने अन्यमनष्क सिर्जना गरेको छ । नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार भएको छ ।अझ पौडेलले सशांकदेखि शेखर कोइराला र प्रकाशमान सिंहसम्मको चित्त बुझाउनुपर्नेछ । यस्तो अवस्थामा दुईजना मात्र मन्त्री छानेर देउवालाई दिनुपर्दा खुसी हुनेभन्दा रिसाउने बढी हुनेछन् । यसको सोझो असर महाधिवेशनमा पर्ने जोखिम छ ।
देउवालाई पनि इतर खेमाभित्र जति धेरै द्वन्द्व र असन्तुष्टि बढाउन सक्यो, त्यति नै फाइदा हुनेछ । यसकारण पनि अहिलेको मन्त्रिपरिषद गठन देउवाका लागि महाधिवेशनको माहोल निर्माणको सुवर्ण अवसर हो । सत्ता राजनीतिका चतुर खेलाडी देउवाले यो नबुझ्ने कुरै भएन । उनको पहिलो छनोटले नै उनी महाधिवेशनलक्षित पाइला चालिरहेको स्पष्ट पारेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८