असार ६,२०७८
चितवन । भरतपुर महानगरले महानगरपालिकाको बेरुजु ३१ दशमलव ०४ प्रतिशत मात्र भएको जनाएको छ ।
आइतबार महानगरपालिकाले एक बिज्ञप्ति जारी गर्दै जनप्रतिनिधि निर्वाचित भएर आएदेखि हालसम्म भरतपुर महानगरपालिकामा ३१ दशमलव ०४ प्रतिशत बेरुजु रहेको पाइएको जनाएको हो ।
महानगरपालिकामा स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधि आइसकेपछि बेरूजुको परिमाण र प्रतिशत क्रमशः घट्दै गएको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत भोजराज खतीवडाले बेरूजुमध्ये निर्वाचन हुनुभन्दा पहिलाको ६८.९६ प्रतिशत र जनप्रतिनिधि आइसकेपछिको ४ वर्षमा जम्मा ३१.०४ प्रतिशत बेरूजु रहेको जानकारी गराएका हुन।
बेरुजुको ठूलो हिस्सा नियमित तथा पेश्की बेरूजुको रहेको र असुल उपर गर्नुपर्ने बेरूजु निकै कम रहेको खतीवडाले जनाएका छन। त्यसमा पनि अधिकांश बेरूजु असूल उपर भएको र बाँकी बेरूजु फछर्यौटको लागि महानगरपालिकाले बेरूजुको लगत राख्ने, वर्गीकरण गर्ने तथा अध्ययन गर्नको लागि बेरूजु फछर्यौट समिति गठन गरेको बताएका छन।
लेखा समितिले निरन्तर कार्य गरिरहेको र नियमित गर्ने बेरूजुको लगत तयार गरी सोको प्रमाण जुटाई लेखा समिति, बेरूजु फछर्यौट समिति हुँदै लेखा उत्तरदायी अधिकृतको निर्णयबाट नियमित गरी फछर्यौट गरेको प्रमाण महालेखा परीक्षकको कार्यालयमा पेश गरी संपरीक्षण गराइ लगतकट्टा गर्ने चरणमा रहेको खतीवडाको भनाई छ ।
महालेखा परीक्षकको कार्यालयले भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७५ र०७६ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै लेखापरीक्षणबाट रु.२२ करोड ४४ लाख ८८ हजार बेरुजू देखिएको उल्लेख छ । सो मध्ये असुल गर्नुपर्ने रु.२ करोड ६८ लाख १५ हजार, नियमित गर्नुपर्ने रु.११ करोड २३ लाख ६५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु १ करोड २ लाख ९ हजार र पेश्की रु.७ करोड ५० लाख ९९ हजार रहेको महालेखाले जनाएकोछ ।
साथै प्रमुख प्रशासकीय अधिकृत खतीवडाले विज्ञप्तीमा लेखापरीक्षणको प्रतिवेदनमा नियमित गर्नुपर्ने भनी दिएको सुझावलाई भ्रष्टाचार अनियमितता गरेको भनी सार्वजनिक सञ्चार माध्यमहरूमा आएका समाचारहरूप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको जनाइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८