• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आफ्नै सांसद बिक्री भए देउवा के गर्लान ?

  • खबरदाता

आफ्नै सांसद बिक्री भए देउवा के गर्लान ?

राष्ट्रपति कार्यालयले विश्वासिलो आधारका रुपमा नलिएर दावी अस्वीकार गरिदिएपछि तिनै हस्ताक्षर बोकेर देउवा सर्वोच्च अदालत पुगेका छन्।

जेष्ठ १३,२०७८

आफू प्रधानमन्त्री बन्न कांग्रेस सांसद शेरबहादुर देउवाले अन्य दलका सांसद र हस्ताक्षर चोरचार पारेर राष्ट्रपति कार्यालयमा बुझाए । राष्ट्रपति कार्यालयले त्यसलाई विश्वासिलो आधारका रुपमा नलिएर दावी अस्वीकार गरिदिएपछि तिनै हस्ताक्षर बोकेर देउवा सर्वोच्च अदालत पुगेका छन् ।

दलीय व्यवस्थामा निर्दलीय अभ्यास गर्न देउवा यसरी अघि सरेका छन् कि भोलि आफ्नै दलका सांसदहरु अरु कसैले टप्काइदिए कुन नाकले विरोध गर्ने भन्नेसम्मको ठाउँ राख्न बिर्सिएका छन् । सार्वभौम सांसद जता पनि जान सक्छ, जसलाई पनि समर्थन गर्न सक्छ भन्ने उनको तर्क देखिन्छ ।

राजनीतिक दलको आधिकारिक निर्णयबेगर सांसदहरुले जता मन लाग्यो उतै मत दिन पाउने, जसलाई मन लाग्यो उसैलाई समर्थन गर्न पाउने व्यवस्थाको पैरवी अहिले देउवा र उनका समर्थकहरुले गरिरहेका छन् । पार्टीका सभापति एवं संसदीय दलका नेताले यस खालको पैरवी गरेपछि सबैभन्दा स्वतन्त्र अब कांग्रेसकै नेता एवं विघटित प्रतिनिधि सभाका सांसदहरुलाई भएको छ ।

देउवाले आफ्नो वचन र कर्मबाटै आफ्ना सांसदलाई पार्टी अनुशासनको सीमा र बन्धन नलाग्ने स्पष्ट पारेका छन् । अर्थात्, जोकोही सांसद बिक्री हुन सक्ने गरी मार्ग प्रशस्त गरिदिएका छन् । एमाले र जनता समाजवादी पार्टीका बागीहरुको हस्ताक्षर बोकेर अदालत धाइरहेका उनले आफ्ना सांसदलाई पनि ‘सेल’मा राखेका छन् । जसले सक्छ, उसैले लैजान्छ । त्यसमा देउवाको कुनै आपत्ति हुने छैन ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो सरकारलाई सर्वदलीय स्वरुप दिने तयारी गरेका छन् । सर्वदलीय भन्नुको अर्थ अब मुलुकमा कोही पनि प्रतिपक्ष रहने छैन । सबै दलको प्रतिनिधित्व सरकारमा हुनेछ । त्यस्तो सरकारले गराएको चुनाव निष्पक्ष हुनेछ । महामारीविरुद्धको लडाइँ पनि एकताबद्ध भएर लड्न सकिनेछ ।

ओलीले अबको केही दिनमा जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गराउँदै छन् । माधव नेपाललाई प्रधानमन्त्री बनाउने भनेर गरिएको हस्ताक्षर देउवाका नाममा दुरुपयोग भएको भन्दै असन्तुष्ट बनेका केही एमाले सांसदहरु राष्ट्रपति कार्यालय र अदालत गएर आफ्नो नाम फिर्ता लिँदै छन् । त्यस्तै कांग्रेसका पनि केही सांसदहरुसँग धेरै चरणमा कुरा भएको छ । उनीहरु पनि मन्त्रीको शपथ लिन तम्तयार भएर बसेको बुझिएको छ ।

माओवादीका नेताहरुको एक समूहलाई ओलीले यसअघि नै मन्त्री बनाइसकेका छन् । अर्को एक समूहलाई पुनः मन्त्रिमण्डलमा प्रवेश गराउँदै छन् । संसदमा विश्वासको मत लिँदा ९३ मत पाएका ओलीले अहिले एमालेभित्रै सय जनाभन्दा बढी सदस्य पुर्याइसकेका छन् । त्यस्तै माओवादीको आकार घटाइदिएका छन् । अब कांग्रेसका सांसद पनि केहीले ओलीसँग गठबन्धन गरेपछि देउवाको दावी थप कमजोर बन्नेछ र सत्ता गठबन्धन बलियो बन्दै जानेछ । जसपामा पनि महन्थ ठाकुर बलियो बन्दै गएका छन् । उनको पक्षमा विघटित संसदका २० भन्दा बढी छन् । उनले उपेन्द्र यादव खेमामाथि कारवाहीको प्रक्रिया अघि बढाइसकेका छन् ।

अन्य दल कमजोर र विभाजित हुँदा ओली बलिया बन्दै गएका छन् । एमाले र कांग्रेसका केही सांसदलाई हस्ताक्षर फिर्ता लिन लगाउने तयारी भित्री रुपमा भइसकेको छ । देउवा अदालतमै अल्पमतमा पर्ने स्थिति बनेको छ ।

त्यसो त अदालतले अल्पमत र बहुमत हेर्ने होइन । बाहिरको शक्ति प्रदर्शन हेरेर निर्णय गर्ने पनि होइन । उसले संविधानका प्रावधान हेरेर आफ्नो राय दिने हो । तर, देउवाको दावीमा कुनै संवैधानिक आधार र सैद्धान्तिक आदर्श छैन । छ त केवल गणित मात्र । जब उनको गणित कमजोर हुन्छ, अदालत र राष्ट्रपति कार्यालयमा गरिएको दावी पनि कमजोर बन्नेछ । अनि बाध्य भएर चुनाव स्वीकार गर्नुपर्ने हुन्छ ।

अदालतमा मुद्दा हारेर भित्ते प्रधानमन्त्री बनेर निन्याउरो अनुहार लिएर चुनावमा जानु भनेको जनताको सहानुभूतिका लागि पनि लायक छैन भनेर स्वघोषणा गर्नु हो । त्यस्तो बेलामा पाँचौँ प्रधानमन्त्री बन्ने उनको सपना मात्र चकनाचुर हुने छैन, पार्टी सभापतिमा पुनःनिर्वाचित हुने बाटो पनि बन्द हुनेछ । आफ्नै खुट्टामा बन्चरो हान्ने देउवा डक्ट्रिनले उनको राजनीतिक अवसानसँगसँगै नेपाली कांग्रेस पनि रसातलमा पुग्नेछ । कांग्रेसको हविगत अघिल्लो चुनावमा भन्दा पनि गएगुज्रेको हालत हुनेछ ।

अब यसो गर्ने देउवाले:

जुनसुकै दलका भए पनि यस्ता अनुशासनहीन, अनैतिक, अराजक र अस्थिर झुण्डको पछाडि नलागी उनले आफ्नो पार्टीको यथार्थ शक्तिलाई स्वीकार गरेर निर्णय लिनुपर्छ । आफ्नो पार्टीमै उनी केन्द्रित हुनुपर्छ । आउँदो भदौको सट्टा त्यसभन्दा अगाडि नै संक्षिप्त प्रक्रियाबाट महाधिवेशनको औपचारिकता पूरा गर्नुपर्छ र ताजा जनादेशबाटै शक्ति आर्जन गरी सरकार सञ्चालन गर्नुपर्छ । अन्य कम्युनिस्टहरूसँगै मिसिएर झगडिया बनेर अदालत धाउने काम बन्द गर्नुपर्छ ।

  • प्रकाशित मिति : जेठ १३, २०७८, बिहीवार ००:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८