बैशाख ७,२०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन भएको बताएका छन्। नेपाल विद्यार्थी सङ्घको ५२ औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सभापति देउवाले माओवादी केन्द्रले सरकारसँगको समर्थन फिर्ता नगरेको र आफ्नो बहुमत नभएकाले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताए।
कार्यक्रममा सभापति देउवाले नेविसङ्घको केन्द्रीय कार्यसमितिलाई तत्काल पूर्णता दिने प्रतिबद्धता पनि जनाए। तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने भन्दै सभापति देउवाले देश विकास गर्न युवा विद्यार्थीको ठूलो भूमिका रहने बताए।
नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टी सभापतिले नयाँ सरकार गठन र सञ्चालनका लागि नेतृत्व लिनुपर्ने धारणा राखे। सत्तारूढ पार्टीभित्रको किचलोका कारण नेपाली जनताले दुःख खेप्नु परेको भन्दै महामन्त्री कोइरालाले अब कांग्रेसले सरकार सञ्चालन गर्नुपर्ने बताए।
कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरूलाई कब्जा गर्ने उद्देश्यसहित अगाडि बढिराखेको आरोप लगाए। न्यायपालिका, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग सबैको निष्पक्षता र स्वतन्त्रता गुम्ने खतरा रहेको पनि पनि उनले धारणा राखे। नेविसङ्घका महामन्त्री बलदेव तिमिल्सिनाले लामो समयदेखि खाली रहेका केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने माग राखे। (रासस)
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८