• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सेना हिंड्यो हिमालतिर

  • खबरदाता

सेना हिंड्यो हिमालतिर

बैशाख १, २०७८

प्रधानसेनापति पूर्णचन्द्र थापाले सफा हिमाल अभियान २०२१ शुभारम्भ गरेका छन् । जङ्गी अड्डामा आयोजित एक विशेष समारोहका बीच अभियानका अगुवाहरुलाई सफा हिमाल अभियानको ब्यानर हस्तान्तरण गरी अभियानको सुरुवात गरेका हुन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको प्रतिनिधिबाट स्वागत मन्तव्य तथा अभियानसम्बन्धी प्रस्तुतीकरणसहित कार्यक्रम सुरु भएको थियो । अभियानअन्तर्गत प्रकृति तथा पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनका असरहरुलाइ  न्यूनीकरण गर्न सगरमाथासहित अन्य पाँच हिमाल ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र आमादब्लम को सफाइ गर्ने उद्देश्य राखिएको छ । भविष्यका लागि हिमालय बचाऔँ भन्‍ने मुख्य भावका साथ अभियान सञ्चालन गर्न लागिएको हो ।

समारोहमा शुभकामना मन्तव्य राख्‍दै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले राष्ट्र र नागरिकहरुप्रतिको आफ्नो उत्तरदायित्व निर्वाह गर्ने क्रममा विगत लामो समयदेखि उच्च हिमाली भेगहरुमा राष्ट्रिय हित र जनआकांक्षा अनुसार विभिन्न गतिविधि सञ्‍चालन गर्दै आएको स्मरण गराउँदै हिमाली क्षेत्रको भौगोलिक विकटता, कठोर मौसमी अवस्था तथा जटिल परिस्थितिमा पनि काम गर्न सक्ने बताए । विपद् व्यवस्थापनअन्तर्गत खोज तथा उद्धार कार्य गर्ने आफ्नो क्षमताको सदुपयोग गर्दै हालसम्म सयौं व्यक्ति तथा शवहरुको कुशलतापूर्वक उद्धार र व्यवस्थापन गरिसकेकाले पनि यो अभियान सफलताका साथ सम्पन्न गर्न सक्ने विश्वास व्यक्त गरे ।

सेनाको अगुवाइमा सञ्चालन हुन लागेको उक्त अभियानमा सरकारका सम्बद्ध निकायहरु लगायत नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनालगायत विभिन्न सामाजिक तथा व्यापारिक संघसंस्थाहरुको साथ सहयोग रहेको छ ।

यस किसिमको अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तन को असरलाई कम गर्न केही हदसम्म सहयोग पुर्‍याउने तथा कोभिड-१९ को कारण शिथिल बनेको पर्यटन व्यवसायमा सकारात्मक ऊर्जाको सञ्चार हुने नेपाली सेनाले विश्‍वास लिएको छ

  • प्रकाशित मिति : वैशाख १, २०७८, बुधवार ००:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८