दैनिक सयौँको संख्यामा भारतीय नम्वर प्लेटका सवारी साधन नेपालको सडकमा गुडिरहेदा दुर्घटना पनि त्यतिकै सख्यामा बढिरहेका छन् । तर दुर्घटनापछि भारतीय गाडिका चालक तथा धनीहरु फरार हुने र गाडिनै छोड्न तयार देखिने प्रवृत्तिले भिमाया जस्ता धेरैलाई धरीधरी रुवाइरहेको छ । यसरी दिनहुँ प्रवेश गर्ने भारतीय सवारी साधनका लागि दुर्घटना भएपश्चातको अवस्थामा कुन तरिकाले दायरामा ल्याउन सकिन्छ भन्ने तर्फ सरकारले बेलैमा प्रष्ट नीति लिनुपर्ने देखिन्छ ।
केपी शर्मा, चैत २०, २०७७
चितवन। गएको पुष १ गते विहानको करिव करिव ९ बजेर २० मिनेट यस्तै कति थियो । भिममाया घरमा सामान्य काम गरिरहेकी थिइन् । यसैवखत उनलाई अचानक कसैले खबर गर्यो, तिम्रो छोरा त दुर्घटनामा पर्यो नि १ उनले पत्याउन सकिनन् । भर्खरै मात्र आफैले घरबाट पठाएको १०, १५ मिनेट को बीचमै यस्तो सूचानाले उनलाई छाँगा बाट खसेझैँ बनाइदियो ।
हो, वास्तवमै विहानको ९ : २५ बजे गैँडकोट ९ स्थित पूर्व पश्चिम राजमार्गको बाँधखोला नजिक एउटा मोटरसाइकल र भारतीय नम्वर प्लेटको कन्टेनर एक आपसमा दुर्घटना ग्रस्त भएका रहेछन् । त्यही दुर्घटनामा भिममायाको १७ वर्षीय छोरा शिशिर आले गम्भिर घाइते भए । घाइतेलाई उद्धारको लागि प्रहरी र स्थानीयको सहयोगमा भरतपुर स्थित चितवन मेडिकल कलेज पुर्याइयो तर अस्पतालले उपचार असम्भव भन्दै पुरानो मेडिकल कलेज लैजान भन्यो ।
तुरुन्तै घाइतेलाई पुरानो मेडिकल कलेज पुर्याइयो र उपचार सुरु गरियो । करिव तीन दिनको उपचार पछि सो अस्पतालले पनि काठमाण्डौ लैजान दिएको सल्लाहा अनुसार भिममायाले घाइते छोरालाई काठमाण्डौको मेडिसिटी अस्पतालमा लगिन् । करिव दुई लाख बढिको बील भुक्तानी गरेर उनले हेलिकप्टर मार्फत छोरालाई मेडिसिटी अस्पताल पुर्याइन् । अस्पतालको बील वाहेक एक लाख ४० हजार त उनले हेलिकप्टरलाई मात्रै बुझाइन् ।

अहिले सम्म उनले घाइते छोराको उपचारमा ६० लाख भन्दा वढि खर्च गरीसकेकी छिन् । सुन्दै अचम्म लाग्ने, एउटा दुर्घटनामा एउटा विरामीलाई ६० लाख बढिको खर्च !
मध्यमवर्गीय परिवारका लागि यतिका रकम जुटाउन चानचुने कुरा थिएन । तर मुटुभन्दा प्यारो शिशिर एक्लो छोरा थिए । बाउआमाको मन न हो जस्तो सुकै परिस्थितीमा पनि छोराछोरीको उपचार गर्न पछि पर्ने कुरो भएन । उनले काठमाण्डौको मेडिसिटीमा पनि ३ महिना १ दिन उपचार गराइन् ।
काठमाण्डौको उपचारले भिममायासँग भएको श्रीसम्पती मात्रै सकिएन, उनका आफन्तको त्यतिकै मात्रामा रकम सकियो । सो अस्पताललाई मात्रै उनले करिव ५२ लाख रुपैया बुझाइन् । उनका अनुसार दैनिक जसो २० हजार देखि साँढे ३ लाख सम्मको बील सो अस्पतालमा भुक्तानी गर्नुपर्दथ्यो । काठमाण्डौमा उपचार गराउन नसक्ने भएपछि अहिले पुन चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी छिन् ।
सीएमसीको आइसीयुको १५ नम्बर बेडमा उपचाररत शिशिरको अहिले पनि दैनिक खर्च ३० हजार बढि लागिरहेको भिममायाले बताइन् । भएजतिको सम्पती ,गरगहना, ऋण र सरसापटी गरेर जम्मा भएको रकम काठमाण्डौमै बुझाएर आएपछि अहिले खर्च जुटाउन उनी नसक्ने अवस्थामा पुगेकी छिन् । उनले पहिला नै आफ्नो नाममा रहेको घडेरी बेचिन् । त्यति ले पुगेन, उनले सिँगापुरमा रहेका भिनाजु मार्फत १५ लाख रुपैयाँ पनि सापटी लिइन् । अनि आफ्नो, आमा, दिदी र वहिनी सवैसँग भएको गरगहना समेत बेचिन् र उपचार गरीन् । त्यतिले मात्रै कहाँ पुग्थ्यो र गैँडकोटको एक सहकारीबाट रु. १० लाख रुपैया उपचारकै लागि उनले ऋण समेत लिइन् । अहिले चैत मसान्तमा सहकारीले उनलाई ताकेता ऋण तिर्न ताकेता गरिरहेको छ ।

यतिका खर्च भएपछि पनि उपचार गरिरहदा विरामीको अवस्था लगभग लगभग स्थिर रहेको भिममाया बताउँछिन् तर डाक्टरहरुका अनुसार मेरुदण्ड नै भाँचिएकाले यस्तो विरामीहरुको अवस्थामा सुधार आउन निकै लामो समय लाग्ने देखिन्छ ।
अहिले उनी खर्च जुटाउन हरहमेशा प्रयास गरिरहेकी छिन् । उनले दिनहुँ जसो इलाका प्रहरी कार्यालय गैँडाकोटलाई यस विषयमा घचघच्याइरहेकी छिन् । तर प्रहरीले भनेजस्तो सहयोग नगरेको उनको गुनासो छ । उनका अनुसार प्रहरीले उनलाई राम्रो काउन्सिलिङ समेत गर्दैनन् । प्रहरीले किटानी जाहेरी दिएका आरोपितलाइ पक्राउ गर्ने तथा ट्रक चालक र सो सँग सम्वन्धीत कसैलाई पनि कानूनी दायरामा ल्याउने प्रयास गरेको देखिदैन ।
अझै गैँडकोटका प्रहरीले अभियुक्त जति भाग्यो पीडितलाई त्यति सजिलो हुन्छ भन्ने जस्ता कुराहरु बताउने गरेको भिमायाले गुनासो गरिन् । यता इलाका प्रहरी कार्यालय गैँडकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले भने आफूहरु यस विषयमा गम्भिर रहेको बताए । उनले भने,“हाम्रै प्रयासमा ट्रकको तर्फबाट क्षतिपूर्ति स्वरुप तत्काल ५ लाख रुपैया उपलब्ध गराएका हौँ । यस विषयमा अझै हामी अनुसन्धानमै छौँ । ”
उनले कुनैपनि हालतमा पीडितलाई क्षतिपूर्ति दिलाउने बताए । तर दुर्घटना भएको केही समयमै प्रहरी घटनास्थलमा पुगेको र घाइतेलाई प्रहरीकै भ्यानमा ल्याएको प्रत्यक्षदर्शीले बताइरहदा छिट्टै पुगेको प्रहरीले ट्रक चालक भने फरार रहेको बताउँदा भिममायाले प्रश्न सँगै आशंका व्यक्त गरेकी छिन् ।
उनले दुर्घटना भएपश्चात ट्रक चालकको खोजीका लागि निवेदन गरिन् । त्यतिमात्रै होइन आफ्नो छोरा सवार मोटरसाइकल चालक लाई पनि यसमा सहयोग गर्न आग्रह गरिन् । टोल विकास संस्था लाई पनि यस विषयमा जानकारी गराइन् ।
तर सम्वन्धित कुरालाई कुनै पनि निकायले सुष्म अनुसन्धान नगरेको उनको बुझाई छ । त्यहाँ सहयोग नपाएपछि आफूले वाध्य भएर मोटरसाइकल चालकविरुद्ध किटानी जाहेरी दिएको उनले बताइन् । उनले भनिन्,“मैले किटानी जाहेरी दिएको अघिल्लो दिनसम्म घरमै रहेका मोटरसाइकल चालक, जाहेरी दिएको दिनदेखि हराएका छन्।”
हराएका व्यक्तिलाई खोजीदिन आफूले बाँध खोला टोल विकास संस्थाका अध्यक्ष उत्तम बकावललाई समेत गुहारको बताइन् । तर टोल विकास संस्थाले त आफूले किटानी जाहेरी दिएका व्यक्तिलाई नै भगाउन सहयोग गरेको आरोप समेत उनको छ ।
यस विषयमा टोल विकास संस्थाको अर्कै बुझाइ छ । टोल विकास संस्थाका अध्यक्ष वकावलले आफूहरुलाई नै पीडितले आरोप लगाएपछि समस्यामा परेको बताएका छन् ।
बकावलले भने,“पीडित आफ्नै बहिनी भान्जा हुन् । नहुने दुर्घटना भइगयो । हामी सहयोग गर्न लागिरहेका छौँ । तर पीडितले युटुव च्यानलमा संस्थालाई नै आरोप लगाएपछि समस्या भएको छ । तर पनि अहिले हामी सहयोगका लागि देश विदेशमा भनिरहेका छौँ । सहयोग आउनेक्रम जारी छ । एक दुई दिनमै हामी एक दुई लाख रुपैया सहयोग गर्न सक्छौँ भन्ने आशामा छौँ । ” उनले थपे,“किटानी जाहेरी दिएका सवारी चालकलाई समाएर थुन्दैमा क्षतिपूर्ति आउने भए त्यो पनि हामी गर्छौँ । तर त्यसरी समस्या समाधान होला जस्तो लाग्दैन ।”
छोराको उपचार गर्दागर्दै झिटीझाम्टो समेत सकिएर करिव एक सरो लुगामा मात्रै आइपुगेकी भिममाया साहारा खोज्दै हाम्रो कार्यालय सम्म आइपुगिन् । दुर्घटना हुनुअघिसम्म सवारी चालकको काम गरिरहेका उनका श्रीमान् व्यस्तता र विछिाप्तताले गर्दा अहिले घरमै छन् ।
परिवारको आयस्रोत प्राय शून्य छ । ऋण लिने ठाउँमा सहयोग माग्ने ठाउँमा हार गुहार गरिसकीन् । अव आउने बाटो केही पनि छैन । त्यसैले उनी सहयोगको याचना र क्षतिपूर्ति पाइन्छकी भन्ने आशामा दिनहुँ सम्वन्धीत निकायमा धाइरहेकी छिन् । तर सम्वन्धित निकायले पनि उधारो आश्वासनमा उनलाई फर्काइरहेको छ । यता अस्पतालले भने दैनिक उपचारका लागि रकम जम्मा गर्न भनिरहेको छ । आइसीयूमा रहेको छोराको उपचारको आशामा यता र उता भौँतारिदैमा उनको दैनिक वितिरहेको छ ।
प्रश्न यहाँ छ की उनलाई क्षतिपूर्ति दिलाउने निकाय किन यति मौनता साँचरे कठोर बनिरहेको छ ? पीडितले बोल्न नसकेकै भरमा प्रहरी प्रशासन अर्थात सम्वन्धित निकायले दिनहुँ जसो आश्वासन मात्रै दिइरहने र तत सम्बन्धि कुनै पनि प्रकृया वा समन्वय अगाडि नबढाउनुले पीडितलाई झन् पीडा भइरहेको छ। यदी प्रहरीले चाह्यो भने जुनसुकै अवस्थामा सवारी चालक र सवारी धनीलाई नियन्त्रणमा ल्याउन सक्ने अवस्था रहन्छ । एक ट्राफिक प्रहरी प्रमुख भन्छन्,“अनुसन्धान गर्ने प्रहरीले चाह्यो भने सजिलै सवारी धनी र चालकलाई पनि नियन्त्रणमा ल्याउन सक्छन् । तत्काल चालक या सवारी धनी फरार रहेका सम्वन्धीत सवारी साधनमा भएको चलानीका आधारमा उसले ल्याएको सामाग्री कहाँ झार्ने अर्थात कहाँबाट ल्याइयो यसलाई अनुसन्धान गर्दै जाँदा सवै कुरा पत्ता लाग्छ । ”
पाँच लाख रुपैया सम्वन्धीत भारतीय ट्रकका पक्षबाट नै उपलब्ध गराउन सक्ने गैँडाकोट प्रहीले त्यसपछिका दिनमा किन मौनता देखाएको छ ? यो कुरा प्रष्ट हुन्छकी सम्वन्धीत ट्रकबाट पाँच लाख क्षतिपूर्ति भराउन सक्ने प्रहरीले अहिले आएर ट्रक सँग सम्वन्धित कुनैपनि व्यक्ति हाम्रो सम्पर्कमा छैनन् भनि पीडितलाई जवाफ दिनुले कतै प्रहरीको मिलेमतो त छैन भन्ने गम्भिर प्रश्न पीडित पक्षले उठान गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८