• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमाले भित्र कोतपर्व , ओली जंगबहादुर बन्दै !

  • खबरदाता

एमाले भित्र कोतपर्व , ओली जंगबहादुर बन्दै !

फागुन २९,२०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधी र प्रतिस्पर्धीलाई नामेट पार्ने क्रममा शुक्रबार आफू र महासचिवबाहेक सबै पदाधिकारीलाई खोसुवामा पारिदिए । उनले विधानको बाधा अड्काउ फुकाउको प्रावधानमा टकेर एकल निर्णयका आधारमा पार्टीलाई पदाधिकारीमुक्त बनाएका हुन् । यसबाट माधव नेपाल लगायत अधिकांश नेपाल पक्षधर नेताहरुको एमालेभित्रको करिअर समाप्त पारेको छ ।

ओलीले पार्टी विधानबाट ७० वर्षे उमेर हद निलम्बन गरेका छन् । प्रदेशका मुख्यमन्त्रीहरुविरुद्धका अविश्वास प्रस्ताव फिर्ता लिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सारतः माधव नेपाल पक्षधरलाई उनले पार्टी छाड्न स्पष्ट जनाउ दिएका छन् ।

संसद विघटन गर्दा अदालतबाट फर्केर आयो । अदालतकै फैसलाले नेकपाको एकीकरण खारेजीमा पऱ्यो । बहुमतका आडमा ओलीलाई निष्काशन गर्ने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको प्रयास पनि अदालतको यही फैसलाले विफल बनाइदियो ।

एमाले र माओवादी पूर्ववत् हुने अदालतको फैसला आउँदानआउँदै माधव नेपालले जसै ओलीतिर फर्किन कोटेश्वरबाट धुम्बाराहीतर्फ के हिँडेका थिए, नयाँ बानेश्वर नपुग्दै ठेस लागेको छ । त्यहीँ घाइते भएका नेपाल अर्याल होटलभन्दा अगाडि बढ्न सकेका छैनन् ।

माधव लडेपछि झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत यस खेमाका सबै नेतालाई घाउ लागेको छ । उनीहरु अब ओली शिविरमा आइपुग्ने सम्भावना निकै कम छ । बरु प्रचण्ड शिविरमा गएर नयाँ संयुक्त दल बनाउने र त्यहीँबाट संयुक्त रुपमा ओलीलाई चुनौती दिने यस खेमाको प्रयास हुनेछ । प्रचण्डले पार्टीको नामै नयाँ राख्ने प्रस्ताव गर्नु र माधव नेपाललाई तत्कालै शरणको आवश्यकता पर्नु सायद संयोग मात्रै होइन ।

प्रधानमन्त्री ओलीलाई शक्तिको भोक कति थियो भन्ने कुरा उनी प्रधानमन्त्री हुँदा नहुँदै कतिपय सरकारी विभाग र निकायहरुलाई आफ्नो प्रत्यक्ष मातहतमा ल्याएबाटै प्रस्ट हुन्छ । सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायमा उनले प्रत्यक्ष नियन्त्रण त कायम गरे नै, पछिल्लोपल्ट रक्षा मन्त्री ईश्वर पोखरेललाई हटाएर त्यो जिम्मेवारी आफै लिई सेनालाई समेत उनले प्रत्यक्ष रुपमा आफूमातहत ल्याएका छन् । उनले संसद विघटन गरे तर राजीनामा दिएनन् । संसद फर्केर आयो र उनको निर्णय बदर भयो, उनले आफू झन् बलियो बनेको सन्देश दिन खोजे ।

सामान्यतः राजनीतिमा आफूले चालेका कदम असफल भएमा, व्यापक विरोध भएमा वा व्यापक क्षति निम्तिएमा त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट हट्ने चलन छ । नैतिक जिम्मेवारी लिएर पछि हट्नुपर्ने अवस्था ओलीमाथि बारम्बार आएकै हो । उनले ल्याएको गुठी विधेयक संसदबाटै फिर्ता लिनुपरेको थियो । उनले ल्याएका दुईवटा अध्यादेश पनि फिर्ता लिनुपरेको थियो । उनले सदनमा पठाएका धेरै विधेयक संसदीय प्रक्रियाकै विभिन्न चरणमा अड्किएकै हुन् । तर, त्यसमा उनले आफू होइन, अरुलाई नै दोषी देखाउन सफल भए ।

अझ भनौँ, ओलीले राजनीतिक नैतिकताको परिभाषा नै बदलिदिए । उनले आफ्ना विरोधी, आलोचक एवं प्रतिद्वन्द्वी नै खराब र असान्दर्भिक प्रमाणित गर्ने एक मात्र अस्त्र आफू पदमा बसिरहनु, टिकिरहनु र त्यसैको आडमा विरोधीलाई तह लगाउनुलाई बनाइरहेका छन् । यसमा अहिलेसम्म उनी सफल पनि भइरहेका छन् ।

माधव नेपाल पक्षधरले पार्टी छाड्नु भनेको प्रतिनिधिसभाका झण्डै ३० जना सांसदले पनि पद छाड्नु हो । यस्तै माओवादी खेमाका केही नेतालाई आफ्नो पार्टीमा समाहित गरेर पनि सांसद पद घटाइदिएका छन् । अर्कोतिर, उनी सत्ता साझेदारीका निम्ति जनता समाजवादी पार्टीसँग वार्ता गरिरहेका छन् । वार्ता समझदारीको नजिक पुगिसकेको छ । पद मिलान करिब भइसकेको छ । त्यसलाई सैद्धान्तिक आवरणले कसरी छोप्ने भन्ने मात्र बाँकी छ ।

ओलीसँगै सत्तारोहण गर्न जसपाका जति नेता जानेछन्, तीबाहेकले अर्को पार्टी घोषणा गर्नेछन् । अर्थात्, नेकपा पछि एमाले टुक्रियो । एमालेपछि जनता समाजवादी पार्टी टुक्रिँदै छ । जब जसपा टुक्रिन्छ, त्यहाँ पनि एउटा पक्ष संसदबाहिर पर्नेछ । त्यसपछि टुक्रिने पालो कांग्रेसको हुनेछ ।

जब संसदका तीनवटै शक्ति छिन्नभिन्न हुन्छन्, ओली अझै सर्वशक्तिमान हुनेछन् । यो संसदलाई औचित्यहीन देखाउन ओली थप सफल हुनेछन् । उस्तै परे यो व्यवस्थालाई नै औचित्यहीन प्रमाणित गर्न पनि उनका कदमले भूमिका खेल्नेछन् ।
संसदविहीनको अवस्था सिर्जना गरेपछि जंगबहादुर बन्ने ओली अभीष्ट धेरै हदसम्म पूरा हुनेछ ।

हिजो प्रचण्डले नारामा सत्ता कब्जा गरे, व्यवहारमा ओलीले कब्जा गरेर देखाइदिए । हिजो प्रचण्डले यो देशमा नयाँ जंगबहादुरको खाँचो औँल्याएका थिए, आज ओली जंगबहादुर बन्न अग्रसर देखिएका छन् ।

एमालेभित्र मच्चाइएको कोतपर्वको सन्देश स्पष्ट छ, पुनर्जीवित एमालेमा केपी ओलीको नेतृत्वका कमजोरीलाई आलोचनात्मक प्रश्न गर्ने नैतिक साहस भएकाहरुलाई कुनै ठाउँ अब बाँकी हुने छैन । ठाउँको ठाउँ तिनको घाँटी रेटिनेछ । जसले ओलीलाई देशका राजनेता र ज्ञानका विश्वविद्यालय ठानेर प्रत्येक दिन नमन गर्छ, उसले राम्रै भाग पाउनेछ ।

तर उदेक वा रमाइलो जे भनौँ, ओलीलाई अहिलेसम्म न उनकै सहयोद्धा कमरेडरहरुले बुझेका रहेछन्, न त कथिक विश्लेषक र बुद्धिजीवीले । किनभने ती सबैले अपेक्षा गरेका थिए कि एमाले ब्युँतिएपछि ओलीले माधव पक्षलाई स्वागत गरेर पार्टीमा भूमिका दिन्छन् भनेर । तर शुक्रबार जसरी ओलीले माधव नेपाल पक्षधरमाथि तरबार उचाले, त्यसले उनी अझै कठोर र अप्रिय बाटो हिँड्न खोज्दै छन् भन्ने स्पष्ट हुन्छ । बरू जंगबहादुरले कोतपर्वपछि अरू केके पर्व मच्चाएको थिए रु एकपटक इतिहासको विचरण गर्ने पो हो कि ?

  • प्रकाशित मिति : फागुन २९, २०७७, शनिवार १०:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८