फागुन २२,२०७७
आफूसँग बहुमत सांसद र केन्द्रीय सदस्य रहेको बताउँदै नेकपाको आधिकारिकता आफूले पाउनुपर्ने दावी गरेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको समूहले निर्वाचन आयोग र सभामुखलाई पत्र लेखे पनि सहजै आधिकारिकता प्राप्त गर्न मुस्किल देखिएको छ ।
पार्टी केन्द्रीय कमिटीमा बहुमत देखाए पनि अन्तरिम विधानमा दुई अध्यक्ष र महासचिवलाई निर्णायक बनाइएकाले आयोगलाई निर्णय गर्न कठिन भएको छ भने यता संसदीय दलमा दुवैतर्फ बराबर सांसद देखिएका छन् । संसदको दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरू प्रधानमन्त्री केपी शर्मा ओली र अर्को विभाजित खेमाका अध्यक्ष प्रचण्डको पक्षमा बराबर देखिएका छन् ।
प्रचण्ड-नेपाल पक्षले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी १०५ सांसद उपस्थित थिए। उक्त समूहमा खुलेका तर उपस्थित हुन नसकेका ६ गरी १११ सांसदको समर्थन प्रचण्डलाई देखिएको छ।
सोही बैठकमा नेपालको प्रस्तावना प्रचण्डलाई संसदीय दलको नेता चयन गरिएको छ । यस समूहले प्रचण्डलाई यसरी नेता चयन गरेको दोस्रोपटक हो । तर यसपटकको चयनले पनि वैधानिकता पाउन कठिन छ । त्यसो भएमा फेरि अर्कोपल्ट उनलाई नेता चयन गर्नुपर्ने अवस्था पनि आउन सक्ने सम्भावना छ । किनभने, न नेकपाको औपचारिक विभाजन भएको छ, न त ओलीबेगरको प्रचण्ड समूहले मान्यता नै पाएको छ ।
प्रतिनिधि सभामा नेकपाका एक सय ७४ जना सांसद छन्। तीमध्ये सानु शिवाको केही समयअघि मृत्यु भइसकेको छ भने अग्नि सापकोटा सभामुख छन्।
मतदान गर्न मिल्ने एक सय ७२ सांसदमा लालबाबु पण्डित र तुलसा थापा ९वामदेवपत्नी० कतै खुलेका छैनन्। जम्मा १७० मध्ये ८७ प्रतिनिधि सभा सदस्य प्रचण्ड-नेपाल पक्षमा छन्।
राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले मतदान गर्न पाउँदैनन्। बाँकी ४९ जनामध्ये प्रचण्ड-नेपाल पक्षमा २४ सांसद छन् भने ओली समूहमा पनि २४ नै देखिएका छन्। वामदेव गौतम कतै खुलेका छैनन्।
यसरी दुवै सदनमा बराबरी हैसियतमा रहेका दुवै खेमाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन त सक्छन् तर अहिलेकै अवस्थामा अन्य दलको समर्थन लिएर आफै सरकार बनाउन भने सक्दैनन् ।
संसदीय दल र केन्द्रीय समितिको कम्तीमा ४० प्रतिशत सदस्य लिएर दल विभाजनको प्रक्रिया अपनाउन ओलीले नसक्ने भएका छन् भने ओलीलाई निष्काशन गरेर पार्टी कब्जा गर्ने प्रचण्डको प्रयास पनि सफल हुने देखिँदैन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८