कानुनीरुपमा मान्यता नपाएको एउटा टोलविकास संस्थाले प्रहरी प्रशासन, सिँचाई र स्थानीयलाई समेत धम्की वा वेवास्ता गर्दै रातारात संरचना खडा गरिनुले टोलविकासका पदाधिकारीका सामु सरकारी निकाय र स्थानीय सरकार निरीह वन्न पुगेको देखिन्छ ।
केपी शर्मा– माघ १४, २०७७
चितवन । चितवनको भरतपुर महानगरपालिका वडानम्वर २ आँपटारीमा रहेको सार्वजनिक जग्गामा प्रशासनलाई समेत चुनौति दिँदै त्यहाँको एक टोलविकास संस्थाले रातारात संरचना खडा गरेको छ ।
जलदेवी टोल विकास संस्थाले नारायणी लिफ्ट खगेरी सिँचाई व्यवस्थापन कार्यालयको नाउँमा रहेको साविक नारायणगढ ४ (ख) कित्ता नम्वर १०४४ को पुँगी खोला किनारमा रहेको जग्गामा कानुन विपरीत संरचना बनाइरहेको छ ।
सो संरचना निर्माण गर्नमा जलदेवी टोल विकास संस्थाका अध्यक्ष मधुविलास अधिकारी लगायतका व्यक्तिहरुले जवरजस्त आफ्नो अग्रसरता देखाएका छन् । सो स्थानमा संरचना निर्माण हुनु भन्दा अगाडि स्थानीयहरुले सो जग्गाको संरक्षण गर्दै पार्क समेत निर्माण गरेका थिए । सो पार्क निर्माणमा उक्त टोल विकास संस्थाका पदाधिकारीहरुले समेत हस्ताक्षर गरी सहमति जनाएका थिए । सोही अनुसार सो जग्गाको स्वामित्व रहेको खगेरी सिचाई व्यवस्थापन कार्यालयसँग समेत स्वीकृती लिई २०७५ साल जेठको २१ गतेबाट पार्क समेत बनाइएको उक्त ठाउँमा अहिले सोही पार्क भताभुङ्ग पारेर उक्त टोलविकास संस्थाले कानुन विपरीत संरचना खडा गरिरहेको छ ।

सो क्षेत्रका १२ जना स्थानीयले सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भनेर सोही वडाका वडाअध्यक्ष पूर्ण बहादुर श्रेष्ठलाई पटक पटक मौखिक जानकारी गराउँदा पनि उनले उल्टै संरचना बनाउने कार्यलाई बढावा दिँदै गएको स्थानीयले बताए । स्थानीयले भने,“वडाअध्यक्षले हाम्रो कदमलाई साथ दिनुहोला भनेको त उल्टै जनताको माग हो, जनताले चाहेपछि जे पनि हुन्छ । यहाँ संरचनामा बनाएरै छोडिन्छ । तपाइहरुले भनेर केही लाग्दैन ।”
तर यस विषयमा वडाअध्यक्ष श्रेष्ठले आफूपनि उक्त संरचना निर्माणको विरोधमै रहेको बताए । उनले भने,”म त पुँगी खोला संरक्षणमा लागेको मान्छे हुँ । पुँगी खोलालाई आठ मिटर कायम गराउनुपर्छ भन्ने मेरो माग हो । त्यसैले म यो संरचना निर्माण हुन दिन्न ।”
उनले यो कुरा भनेपनि व्यवहारमा भने लागु भएको पाइदैन । किनकी दिनमा सुनसान रहने संरचना स्थलमा रातारात बत्तिको सहायतमा निर्माण कार्य भइरहेको छ । यति सम्मकी आज भोलिमै उनीहरुले सो संरचनामा जस्ताले छाउने योजना समेत रहेको स्थानीय बताउँछन् । अझ रोचक त के छ भने जग्गा संरक्षण गर्न आवाज उठाउने स्थानीयलाई वडाअध्यक्ष स्वयम्ले हस्ताक्षर गरी फागुन १२ गते पत्र काटेर बैठकमा बोलाई उक्त भवन निर्माण गर्न अवरोध नगर्न समेत भनेका छन् । यसैवाट पनि वडाअध्यक्षको भनाई एकातिर गराई अर्कोतिर देखिन्छ ।

संरचना नबनाउन स्थानीयले माग गर्दा टोल विकासका अध्यक्ष अधिकारी लगायतका केही व्यक्तिहरुले स्थानीयलाईनै हप्की दप्की गर्ने र डरत्रास देखाउने गरेको समेत स्थानीयको भनाई छ । यति सम्मकी उनीहरुको त्रासका कारण केही स्थानीयहरु त ठाउँनै छाडेर अन्तै गएको समेत बताइन्छ । सो टोल विकास समितिका राजेन्द्र भट्टराइले त संरचना निर्माण रोक्न माग गर्ने स्थानीयलाई तथानाम गालीगलौच र मार्ने काट्ने धम्की समेत दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले बोलाएर गत माघ २३ गते अवदेखि यस्ता गल्ती नगर्ने गरी स्थानीयसँग मिलापत्र समेत गराएको थियो ।
खबरमुलुकको टोली अवैध निर्माण भइरहेको संरचनामा स्थलमा पुग्दा डर त्रासका कारण स्थानीयले केही बताउन चाहेनन् । केहीले भने,“ यो निर्माणको कार्य राम्रो त होइन तर हामीले के भन्ने । हामीलाईनै अफ्ठेरो छ ।”
सार्वजनिक जग्गालाई स्थानीय तहले संरक्षण गर्नुको साटो वडानम्वर २ का अध्यक्ष पूर्ण बहादुर श्रेष्ठ लगायतको सक्रियतामा अतिक्रमण गरी संरचना बनाएपछि वडाअध्यक्ष विरुद्धमै १२ जना स्थानीयहरुले विभिन्न निकायमा गएर सो संरचना निर्माण रोकी जग्गाको संरक्षण गर्न माग गरेका हुन्।
ती स्थानीयले उक्त अवैध कार्य रोक्न वडाकार्यलयमा पटक पटक जानकारी गराएर आग्रह गरे । तर वडा कार्यालयले उल्टै संरचना निर्माण गर्ने पक्षमा लागेपछि स्थानीयहरु नारायणी लिफ्ट खगेरी सिँचाई व्यवस्थापन डिभिजन कार्यालय भरतपुमा पुगेर मिति २०७७ साल माघ १९ गते पत्र दिएर उक्त कार्य रोक्न ध्यानाकर्षण गराए ।

उक्त कार्यालयका कर्मचारी र उपभोक्ता समितिले समेत निरीक्षण गरेपछि गैरकानुनी कार्य रोक्न टोल विकास संस्थालाई मिति २०७७ साल माघ महिनाको २५ गते र फागुन महिनाको ४ गते पत्र लेखी निर्माण कार्य रोक्न टोल विकासलाई भनेको थियो । तर उनीहरुले उक्त पत्रलाई वेवास्ता गर्दै निर्माणकार्य गरिरहे । यति मात्रै होइन माघ २५ गतेनै भरतपुर महानगरपालिकाले समेत उक्त निर्माण कार्य अवैध भएको भन्दै तत्काल रोक्न टोलविकासलाई पत्र पठाएको थियो । तर पनि काम रोकिएन ।
त्यसपछि स्थानीयले माघ २२ गते सार्वजनिक जग्गा खोजविन एवम संरक्षण समिति भरतपुर महानगरपालिकालाई सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरी पाउँ भनी निवेदन समेत दिए । सो समितिका अध्यक्ष अरुण पीडित भण्डारीले यो कानुनी राज्य हो भन्दै विना नक्सा संरचना बनाउने र सार्वजनिक जग्गा हडप्ने अधिकारी कसैलाई नभएको भन्दै यस्ता कार्य तुरुन्तै रोकेर बैठकमा आउन भने ।
त्यसपछि पनि उक्त अवैध काम नरोकिएपछि सिँचाई व्यवस्थापन कार्यालयले पुन २०७७ फागुन ७ गते जिल्ला प्रशासन कार्यालयलाइ पत्र लेखि आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध समेत गरेको थियो ।
त्यसपश्चात जिल्ला प्रशासन कार्यालय चितवनले २०७७ साल फागुन ९ गते जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखि निर्माण कार्य तत्काल रोक्न आदेश सहितको पत्राचार गरेको थियो ।
तरपनि सो स्थानमा अहिलेपनि निर्माणकार्य चलिरहेको छ । उनीहरुले दिनमा नभई रातको समयमा निर्माण कार्यलाई तिव्रता दिइरहेका छन् । केहि दिन अघि सम्म जग मात्रै खनेको ठाउँमा हप्तादिनभित्रमा छानो छाउने अवस्थामा संरचना पुगेको छ । त्यस्तै छानो छाउँदा विजुलीको तार छुने र फलामका संरचनाबाट उक्त बनाइएको संरचनामा ठूलो जोखिम छ ।
यस विषयमा नारायणी लिफ्ट खगेरी सिँचाई व्यवस्थापन कार्यालयका प्रमुख विनय पौडेलले भने, “संरचना नबनाउन पटक पटक भनेको तर अटेर गरी बनाइरहेको पाएका छौँ । हामीले बनिसकेपछि पनि भत्काउछौँ । यस विषयमा प्रशासन र प्रहरीलाई भनेका छौँ ।”

निर्माणकार्य जारी रहदा कोहि पनि पक्राउ समेत नपर्ने र काम समेत नरोकिने भइरहेको विषयमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम प्रसाद अधिकारीलाई सम्पर्क गर्दा उनले जुन कुनै हालतमा पनि काम रोकिने बताए । उनले वेलावेलामा प्रहरीको टोली सो स्थानमा पठाइरहेको तर सो स्थानमा कोही पनि नभेटिएको जानकारी दिए ।
तर प्रहरीले यसो भनिरहदा जग खन्न सुरु गरेदेखि थाहा पाइरहेको प्रहरी प्रशासनले टहरा बनाइसकेर छानो लाउने बेलासम्म निर्माण कार्य रोकिन्छ मात्र भन्नुले प्रशासनप्रतिनै प्रश्न खडा भएको छ ।
सुरु देखिनै जानकार रहेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले संरचना निर्माणकार्य रोक्न भनेपनि टोलविकासका पदाधिकारीले अटेर गरिरहेको बताए ।
उनले भने,“निर्माणकार्यलाई अव पनि अगाडि बढाइएको पाइएमा सो स्थानमा जो प्रयोग भएको छ उसैलाई समात्नुपर्ने अवस्था आउनसक्छ । सो सार्वजनिक जग्गा हो । त्यसमा सरकारले स्वीकृति नदिई कुनैपनि व्यक्ति वा संस्थाले प्रयोग गर्न पाउने छैन । अहिले प्रहरी परिचालन भइरहेको छ ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८