• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

क्यान्सरको सेकाइ गरेर आएका कुशुवाहा बन्दले दिनभर आफै सेकिए


क्यान्सरको सेकाइ गरेर आएका कुशुवाहा बन्दले दिनभर आफै सेकिए

कुनैपनि संघसंस्था वा पार्टीहरुले जस्तासुकै विरोधका कार्यक्रम ल्याएपनि जनतालाई मान्य हुनेछन् होला सायद । तर बन्द जस्तो घातक र जनताले धेरै अघिदेखि प्रतिकार गर्दै आएको परिपाटीलाई परिवर्तन नगरे ती संस्था र पार्टीप्रति जनताले गर्दै आएको समर्थन विस्तारै फितलो हुँदै जानेछ । तीन तीन जना देशका पूर्वप्रधानमन्त्रीहरुले यस्तो बन्दकै कार्यक्रम ल्याउँदा उनीहरु अहिलेसम्म कति पनि सच्चिन सकेका रहेनछन् भन्ने प्रष्ट हुन्छ । अर्को तर्फ यो विकास निर्माणका लागि गरिएको बन्द नभएर आफ्नै पार्टी भित्र को ठूलो भन्ने लडाई भएकाले यसलाई प्रत्येक जनताले नियालिरहेका छन् । यस विषयमा सम्वन्धित समूहका अगुवा नेताहरुले वेलैमा सोच्नुपर्ने देखिन्छ ।

केपी शर्मा–माघ २२, २०७७
चितवन । उनी क्यान्सर पीडित । वेलावखत थप उपचारका लागि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आइरहनपर्ने घर हो उनको । उनी अहिले क्यान्सरको उपचारको क्रममा छन् । जिव्रोमा क्यान्सर भएका उनको सेकाई चलिरहेको छ ।

नवलपरासी प्रतापपुर ७ का अमित कुशुवाहा । उनी आज एकै दिन दुई पटकको सेकाईमा परे । उनले क्यान्सर अस्पतालमा जिव्रोको एउटा सेकाई गरे भने घर फर्किदा बन्दले दिनभर गाडी पर्खदै पुल्चोकमा आफै सेकीरहे ।

उनी हिजोनै अस्पताल आएर आफ्नो काम सकेर आज विहानै घर फर्कन पुल्चोक पुगेका हुन् । तर उनका लागि अप्रत्यासीत बनेको दाहाल नेपाल (दाने) समूहको बन्दले दिनभर गाडी पर्खिएर बसिरहे । खाना खान समेत घर जान भनेर हिँडेका उनले नारायणगढको पुल्चोकमै ८ घण्टा विताउनु पर्यो ।

उनी मात्रै होइन कपिलवस्तुको चन्द्रौटाबाट उपचार गराउनैका लागि भरतपुरको चितवन अस्पताल आएकी जानुका वेल्वासेको पनि पीडा उस्तै छ । रात्रीवस चढेर विहान ६ बजे चौविसकोठी झरेकी वेल्वासे १० बजे उपचार सकेर घर फर्कन पर्ने थियो । तर वन्दले उनको योजना विफल बनाइदियो । बाटोमानै खाना खाने योजना बनाएकी उनी दिनभर भोकै थिइन् । उनीमात्रै होइन उनका श्रीमान् पनि ।
त्यस्तै चोरमारा देखि अटो रिजर्भ गरी सहवीर सारु श्रीमती सहित उपचारको लागि आँखा अस्पताल चितवन आएका थिए । तर समस्या त यो भयो की फर्कदा पुल्चोकबाट अगाडी अटो जानै पाएन ।त्यसपछि उनी छट्पटीदै पुल्चोकमा बसी वन्दकर्ताको नाच हेरिरहेका थिए ।
चनौलीको गुरुकुलमा संस्कृति विषय अध्ययनरत अभिषेक सिग्देल पनि बन्दकै कारण समस्यामा परे ।
माथि उल्लेखित सवै भोगाईहरु त्यसै भएका होइनन् । जनताले प्रत्येक पटक प्रतिकार गर्दै आएको बन्द जस्तो आन्दोलनको स्वरुपले यो समस्या निम्ताएको हो । दाने समूहको बन्दले आज चितवन प्राय ठप्पनै रह्यो । यहाँका कलकारखाना, शैक्षिक संस्था, व्यापार, व्यवसाय, होटल आदि संचालनमा आउन सकेनन् ।


आंशिक रुपमा मोटरसाइकल चलेपनि अत्यावश्यक बाहेक अन्य सवारी साधन भने ठप्पनै रहे । सरकारले जनतालाई निर्वाधरुपमा व्यवासाय संचालन गर्नु, सुरक्षा दिन्छौँ भनेपनि चितवनका नारायणगढ, भरतपुर, टाँडी, पर्सा लगायतका बजारहरु बन्द रहे । प्रशासनले यसलाई खुलाउने तर्फ खासै चासो दिएको पाइएन । नारायणगढको पुल्चोकमा पश्चिमतर्फबाट आएका मालवाहक सवारी साधनलाई संचालन गराउनेक्रममा तनावको स्थिती पैदा भएको थियो ।

प्रहरीले पुलमा सवारी हुँदा समस्या हुने भन्दै खाली ठाउँमा पठाउन खोजेपनि वन्दकर्ताले सडकमै सुतेर अवरोध जनाएका थिए ।
त्यस्तै मुग्लिनतर्फबाट स्कर्टीङ गरेर ल्याइएका पूर्वजाने सवारीसाधनहरु पनि केन्द्रीय बसपार्कको खाली जमिनमा राखिएको थियो । त्यस्तै पश्चिम जाने सवारी साधन भने नारायणगढको पोखरा बसपार्कमा रोकिए ।
वन्दकर्ताले चितवनका दुई स्थानमा चार वटा गाडीमा सामान्य क्षती पुर्याएको वाहेक अरु कुनैपनि अप्रिय घटना नभएको चितवन प्रहरीले जनाएको छ।
पुल्चोकमा जम्मा भएका बन्दकर्ताहरु दिनभर क्रान्तिकारी गितहरुमा नाच्दै रमाउदै विरोध गरिरहे ।
समापन कार्यक्रममा बोल्दै नेकपा चितवनका नेता प्रकाश ढुँगानाले ओलीको संविधान विघटन र संवैधानिक आयोगमा भएका नियुक्तिको विरोधमा बन्द गरेको बताए । उनले भने,“अहिले ओलीका साइवर स्यालहरुले मात्रै उनको समर्थन गरिरहेका छन् ।

हामीले चाहायौँ भने ती स्यालहरुलाई स्याल बस्ने ठाउँमै पुर्याउन सक्नेछौँ । ” ओलीको उक्त असवैधानिक कदम नसच्चिए थप आन्दोलन गर्दै जाने उनले बताए । प्रहरीले बलप्रयोग गर्न खोजेपनि आफ्नो पार्टीका कार्यकर्ताको कडा प्रतिकारपछि उनीहरु पछि हटेको भन्दै बन्द सफल भएको बताए ।

कार्यक्रममा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले नचाहादा नचाहादै वाध्यात्मक परिस्थितीमा जनताहरुलाई सानो दुख दिएर भोलि धेरै सुविधाहरु दिने उद्देश्यले बन्द गरिएको बताए । उनले संविधान जोगिए मात्रै नेपाल र नेपाली रहने भन्दै ओलीको असवैधानिक कदम सच्चिनै पर्ने बताए ।

  • प्रकाशित मिति : माघ २२, २०७७, बिहीवार ११:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८