रेल र पानी जहाजको सपना देख्ने सरकारले ४ दशक अघि वनेका सडकलाई किन स्तरोन्नती गर्न सक्दैन ? नचाहेको हो वा नसकेको ?
केपी शर्मा–माघ १२, २०७७
चितवन । चितवन जिल्लामा भएका सवारी दुर्घटनाहरुमध्ये ७३ प्रतिशत दुर्घटना तिव्र गतिका कारण भएको देखिन्छ।
चालु आर्थिक वर्षको ६ महिनामा जम्मा २१७ दुर्घटना भएका छन् । ति मध्ये १५८ दुर्घटना तिव्र गतिका कारण भएको हो । जुन दुर्घटनामध्येकै ७३ प्रतिशत हुन आउँछ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १६७ वटा सडक दुर्घटनामध्ये तिव्रगतिका कारण ५३ वटा मात्र दुर्घटना भएका थिए । यो ३२ प्रतिशत हो ।
यसबाट यो प्रमाणीत हुन्छ की अहिले तिव्र गतिका कारण हुने दुर्घटनामा ४१ प्रतिशतले बृद्धि भएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा भएका २१७ दुर्घटनामा जथाभावि ओभरटेक तथा लेन अनुशासन उल्लंघनबाट ४ प्रतिशत अर्थात् ८ वटा दुर्घटना भएका छन् । मादक पदार्थ सेवनका कारण ७ वटा दुर्घटना भएको देखिन्छ । यो कुल संख्याको ३ प्रतिशत हुन आउँछ । यस्तै चालकको लापार्वाहीले १८ प्रतिशत अर्थात ३७ वटा दुर्घटना भएको देखिन्छ भने पैदल यात्रुले लापार्वाही गरेर ६ महिनामा ४ वटा दुर्घटना गराएका छन् । यो कुल संख्याको २ प्रतिशत हो ।
गत आर्थिक वर्षको सोही अवधिमा जथाभावि ओभरटेक र लेन अनुशासन उल्लंघन गरेका कारण ९ वटा सवारी दुर्घटना भएका थिए भने मादक पदार्थ सेवनका कारण १५, चालकको लापार्वाहीले ७३, पैदलयात्रुको लापार्वाहीले ५ र सडकको अवस्थाले १ गरी १६७ वटा दुर्घटना भएका थिए । जसमा ७० जनाले ज्यान गुमाए भने ३२४ जना अंगभंग भए ।

सोही तथ्याङ्को आधारमा चालु आर्थिक वर्षको सोही अवधिमै २१७ सवारी दुर्घटनामा ५७ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेको सख्यामा चालु आर्थिक वर्षमा १९ प्रतिशतले कमी आएको छ । तर घाइतेहरुको सख्ंयामा भने गत वर्षको तुलनामा ३७ ले बढि छ । जुन ११ प्रतिशतले वृद्धि हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले तिव्र गतिका कारण दुर्घटना बढेको स्वीकार गरेका छन् । उनले भने,“ २०३० /०४० सालतिर बनेको सडक अहिले सम्म स्तरोन्नती भएको छैन । तर सोही सडकमा गुड्ने गरी दिनहुँ सवारी साधन खरिद गर्नेहरुको संख्या बढेको बढ्यै छ । यसैले थाहा हुन्छ सडकको अवस्था र दुर्घटनाको जोखिम ।”
खास गरी टिकौलीको गोन्द्राङ देखि लोथर सम्म अत्याधिक मात्रामा सवारी दुर्घटना भएको देखिन्छ । अहिले यो क्षेत्रमा बढी दुर्घटना भएका कारण लाइडर गन प्रयोग गर्न थालिएको छ । जुन बागमती प्रदेशमै पहिलो हो । उनले भने,“यो प्रयोग भएपछि हामीले पौष महिनामा मात्रै तिव्र गतिमा सवारी साधन कुदाउने ५२५ जनालाई कारवाही गरिसकेका छौँ । ”

प्रहरी सख्ंया, भौतिक सामाग्री थप गरेर मात्रै सवारी दूर्घटना न्यूनिकरण सम्भव देखिदैन। यसको लागि सडक मर्मतसम्हार र सवारी साधनको संख्या अनुसार सडकको चौडाई बढाए मात्रै दुर्घटनामा केही कमी आउने देखिन्छ ।
राजनीतिक भाषणमा पानी जाहाज र रेलका कुरा गरिहदा वर्षेनी साँघुरो सडकमा दुर्घटना भई अनाहकमा ज्यान गुमाउनेको सख्या बढिरहेको तथ्याङ्ले छर्लङ पारेको छ । रेल र पानी जहाजको सपना देख्ने सरकारले ४ दशक अघि वनेका सडकलाई किन स्तरोन्नती गर्न सक्दैन ? नचाहेको हो वा नसकेको ?
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८