सुर्खेत । खेलकुदको महाकुम्भका रूपमा लिइने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल आजदेखि कर्णाली प्रदेशमा सुरु हुँदै छन् । कर्णाली प्रदेशले पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलका खेलबाट प्रतिस्पर्धा सुरु हुन लागेको हो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार आज दिउँसो १ बजे वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा पुरुष फुटबल प्रतियोगिताको खेल सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र आयोजक कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी तथा सहभागी टोलीको आवास व्यवस्थापनलगायत चुनौतीलाई मध्यनजर गर्दै केही खेल निर्धारित मितिभन्दा अगाडि नै संचालन गर्ने निर्णय गरेपछि आजदेखि प्रतियोगिताका खेल सुरु हुन लागेका हुन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन भने यही मंसिर १६ गते हुनेछ । मंसिर २७ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न खेल विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि सोमबार कर्णाली प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई औपचारिक रूपमा स्वागत गरिसकेको छ । बाजागाजा, खेलाडी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा सुर्खेतमा बृहत् र्याली निकालेर प्रतियोगिताको स्वागत गरिएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८