• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, ‘हामी तयार छौँ’ अभियानमा केन्द्रित हुने

  • खबरदाता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, ‘हामी तयार छौँ’ अभियानमा केन्द्रित हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै छ । बैठक ‘हामी तयार छौँ’ अभियानमा केन्द्रित हुनेछ ।

सभापति गगनकुमार थापाको नेतृत्वमा रहेको नयाँ केन्द्रीय कार्यसमितिको बैठकमा अभियानको प्रभावकारिता, नेताहरूको जिम्मेवारी र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले स्थानीय तह निर्वाचन केन्द्रित अभियानअन्तर्गत केन्द्रीय नेताहरूका विचार र सुझाव बैठकमा समेटिने जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले अभियान सञ्चालनका विषयमा आफ्नो धारणा राख्नेछन् । उनीहरूले अभियानमा निर्वाह गर्न चाहेको भूमिका, जिम्मेवारी र कार्यक्षेत्रका विषयमा समेत छलफल हुनेछ ।

दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्नेछ । बैठकमा अभियानलाई प्रभावकारी बनाउने कार्ययोजना र केन्द्रीय नेताहरूको परिचालनका विषयले प्राथमिकता पाउने बताइएको छ । कांग्रेसले आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी र पार्टी संगठन सुदृढीकरणका लागि मंसिर १ गतेदेखि देशव्यापी रूपमा ‘हामी तयार छौँ’ अभियान सञ्चालन गरिरहेको छ ।

१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गरेको निर्णयअनुसार मंसिर महिनाभर सञ्चालन हुने अभियानलाई वडा तहसम्म विस्तार गरिएको छ ।

अभियानमार्फत वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य, क्षेत्रीय प्रतिनिधिसहित करिब तीन लाख नेता–कार्यकर्ता परिचालन गर्ने कांग्रेसको लक्ष्य छ । यसका लागि केन्द्रीय नेताहरूलाई जिल्ला तथा स्थानीय तहसम्म खटाउने र पार्टीका तल्लो तहका संरचनालाई सक्रिय बनाउने तयारी छ । अभियानका क्रममा सबै जिल्ला र वडामा कार्यक्रम सञ्चालन गरिने कांग्रेसले जनाएको छ ।

अभियान स्थानीय तह निर्वाचनको तयारीमा मात्र सीमित नरहने कांग्रेसको भनाइ छ । पार्टीको आन्तरिक सुदृढीकरण, संगठनात्मक रूपान्तरण, पार्टीका नीतिगत निर्णयको प्रचारप्रसार तथा प्रमुख प्रतिपक्षी दलका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउने उद्देश्य अभियानले लिएको छ।

१५औँ महाधिवेशनबाट पारित नीति, कार्यक्रम र दस्तावेजलाई तल्लो तहसम्म पुर्‍याउनु अभियानको अर्को महत्त्वपूर्ण उद्देश्य हो ।

पार्टीले देश बनाउन, समाज बदल्न, विकास र समृद्धिको लहर ल्याउन तथा देशलाई अभिभावकत्व प्रदान गर्न तयार रहेको सन्देशसहित अभियान अघि बढाएको छ । यसक्रममा नेताहरूले पार्टीका आर्थिक, शिक्षा, स्वास्थ्य, विकास तथा रूपान्तरणसम्बन्धी नीतिबारे स्थानीय नागरिकलाई जानकारी गराउनेछन् ।

कांग्रेसले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्ने, आमनागरिकका गुनासा र सुझाव सुन्ने तथा स्थानीय तहमा पार्टीको उपस्थिति बलियो बनाउने रणनीति पनि लिएको छ ।

त्यसका लागि नेता तथा कार्यकर्ताहरू टोल–टोल र घर–घरमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन् । स्थानीय नागरिकका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै पार्टीका नीति तथा कार्यक्रमबारे अन्तरक्रिया गर्ने कांग्रेसको तयारी छ ।

अभियानलाई आगामी निर्वाचनमा पार्टीको जनमत विस्तार गर्ने रणनीतिका रूपमा समेत हेरिएको छ । स्थानीय तह निर्वाचनमा उमेदवार छनोट, संगठन परिचालन र जनतासँगको सम्बन्ध विस्तारका लागि अहिलेबाटै आधार तयार गर्ने कांग्रेसको योजना छ । अभियानका क्रममा स्थानीय तहमा पार्टीको अवस्था, संठनको सक्रियता र जनताको अपेक्षाबारे समेत जानकारी संकलन गरिनेछ ।

सभापति थापासहित कांग्रेसको केन्द्रीय नेतृत्व पछिल्लो समय मधेस तथा तराई क्षेत्रमा पार्टीका नेता–कार्यकर्ता र स्थानीय तहका प्रतिनिधिसँगको भेटघाट तथा छलफलमा सक्रिय थियो ।

केन्द्रीय नेतृत्वले जिल्ला तथा स्थानीय तहमा पुगेर अभियानलाई गति दिने र पार्टीका नीतिगत विषयलाई जनतासम्म पुर्‍याउने तयारी गरेको छ । बैठकले अभियानलाई थप व्यवस्थित बनाउन नेताहरूको भूमिका र जिम्मेवारी स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट आउने सुझावमा समेत बैठकमा छलफल हुने दुलालले बताएका छन् ।

  • प्रकाशित मिति : मंसिर ८, २०८३, मंगलवार ०६:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८