• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

बाढीले बिगारेका त्रिशूली करिडोरका १८ झोलुङ्गे पुल बने, साढे ५ करोड खर्च

  • खबरदाता

बाढीले बिगारेका त्रिशूली करिडोरका १८ झोलुङ्गे पुल बने, साढे ५ करोड खर्च

काठमाडौँ- भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएका छन्।

स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीले त्रिशूली करिडोरका १८ वटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको थियो। ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले बताए।

उनका अनुसार क्षतिग्रस्तमध्ये ११ वटा पुलको लट्ठा बटारिएको, डेक तथा बिम र छेउको जाली बगेको थियो भने बाँकी सातवटा पुलमा सामान्य क्षति पुगेको थियो।

बढी क्षति भएका ११ वटा पुलको बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने, नयाँ स्टिल डेक र बिम जडान गर्ने तथा साइडको जाली राखेर मर्मत गरिएको हो। बाँकी सातवटा पुल सामान्य मर्मतपछि सञ्चालनमा आएका छन्। यी पुल बनाउन करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको बुढाथोकीले जानकारी दिए।

बुढाथोकीका अनुसार बृहत् मर्मत गरिएका पुलहरूमा नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार जागाराम, बेलकोटगढी–५ देखि धादिङको गल्छी–१ जोड्ने फोस्रेटार, बेलकोटगढी–८ र विदुर–३ जोड्ने जिलिङ, तथा धादिङको सिद्धलेक–३ र बेनीघाट रोराङ–३ जोड्ने झोलुङ्गे पुल छन्।

यस्तै, नुवाकोटको बेलकोटगढी–५ केउरेनी गहते र धादिङको गल्छी–१ जोड्ने, धादिङको सिद्धलेक–६ र गजुरी–१ जोड्ने, गल्छी–१ र ६ जोड्ने महेशदोभान मास्टार, गल्छी–१ र ४ जोड्ने, गल्छी–२ र ४ जोड्ने शीतलबजार क्युरेनीटार, नुवाकोटको बेलकोटगढी–५ र धादिङको गल्छी–२ जोड्ने कोल्पु कल्लेरीघाट, तथा गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७ जोड्ने पुलको पनि बृहत् मर्मत गरिएको थियो।

सामान्य मर्मत गरिएका पुलहरूमा गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५ जोड्ने बादरे, धादिङको सिद्धलेक–६ र गजुरी–२ जोड्ने बिहानी पम्प, सिद्धलेक–५ र बेनीघाट रोराङ–३ जोड्ने मलेखु, गल्छी–२ र ४ जोड्ने बेल्खु भुतिया, गोरखाको सहिद लखन–४ र चितवनको इच्छाकामना–४ जोड्ने कुरिनटार (लेवाटार), धादिङको गल्छी–२ र ४ जोड्ने महादेवस्थान तथा गोरखाको गण्डकी–६ र चितवनको इच्छाकामना–३ जोड्ने फिस्लिङ झोलुङ्गे पुल छन्।

  • प्रकाशित मिति : असोज ३०, २०८३, शुक्रवार ०६:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८