• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026

विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

  • खबरदाता

विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

काठमाडौँ-कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन्।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिर तथा मूर्ति स्थापना गरी विधिपूर्वक पूजाआराधना गर्ने चलन छ ।

आजका दिन मजदुर तथा कालिगढले उद्योग र कलकारखानालाई विशेष रूपमा सिँगारेर यो पर्व मनाउने गर्छन् । यस अवसरमा बालुवा तथा माटोबाट बनाइएका मूर्तिलाई वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध जलाशयमा लगेर विसर्जन गरिन्छ ।

आजको दिन आफूले प्रयोग गर्ने औजार, मेसिन र सवारीसाधनको पूजाआराधना गरेमा ती साधन लामो समय टिक्ने, काम गर्दा नबिग्रने र दक्षता बढ्ने धार्मिक विश्वास रहिआएको छ ।

पौराणिक मान्यताअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी लुकाएका थिए । त्यही समयदेखि विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा पूजा गर्ने परम्परा बसेको प्राध्यापक तोयराज नेपालले जानकारी दिए ।

प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक मानिन्छ । विश्वकर्माले बनाएको उक्त ‘भेद द्वारका’ हाल भारतको गुजरात राज्यस्थित समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाता मानिन्छ र उनले नै ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ रचना गरेको विश्वास गरिन्छ । यही योगदानको कदर गर्दै कालिगढले उनको विद्वताको सम्मानमा पूजाआराधना गर्दै आएका हुन् ।

यसरी पूजा गर्दा आफूमा पनि विश्वकर्माको जस्तै शिल्प र दक्षता प्राप्त हुने जनविश्वास छ । सोही कारण आज कलकारखानाका यन्त्र तथा इन्जिन जडित सम्पूर्ण सवारीसाधनको पूजा गर्ने गरिन्छ । वास्तुशास्त्रका अध्येता तथा अनुसन्धानकर्ताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रूपमा पनि मनाउँछन् ।

पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको चासो र प्रयोग बढ्दै गएको छ । चार उपवेदमध्येको एक ‘स्थापत्यवेद’ मा वास्तुशास्त्रकै विषय विस्तारमा उल्लेख गरिएको छ ।

हराउन थालेको स्थापत्यवेदमा आधारित भएर सुरक्षित र व्यवस्थित सहर तथा आवास निर्माण गर्ने क्रम बढेकाले पछिल्ला दिनमा वास्तु विद्याको महत्त्व अझ बढेको पाइन्छ ।

  • प्रकाशित मिति : असोज १, २०८३, बिहीवार ०६:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८