• भदौ १०, २०८३, बुधवार Wednesday, 26 August, 2026

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

  • खबरदाता

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन भएका छन्।

बिहान करिब ९ बजे आएको भीषण बाढीले टिमुरे बजारका बस्ती तथा संरचना बगाउँदा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) बाट ड्युटीमा खटिएका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार बीओपीमा भने बाढीले क्षति पुर्‍याएको छैन। बीओपीमा कार्यरत कुल ३० जनामध्ये ६ जना बिदामा रहेको र १५ जना सुरक्षित रहेको बताइएको छ। बाँकी ९ जना ड्युटीमा खटिएको अवस्थामा सम्पर्कविहीन भएका हुन्।

यस्तै, टिमुरे क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोलीसमेत सम्पर्कमा नरहेको बताइएको छ।

चीनतर्फबाट आएको ठूलो बाढीका कारण टिमुरे बजार क्षेत्रमा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीसँगै आएको लेदो र माटोले बजार क्षेत्रका घर, पसल तथा सवारीसाधन बगाएको बताइएको छ।

सम्पर्कविहीन सशस्त्र प्रहरीको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको भए पनि घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रहरी तथा प्रशासनले क्षतिको विवरण संकलन गरिरहेका छन्।

  • प्रकाशित मिति : भदौ १०, २०८३, बुधवार ११:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८