नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा नजाने भएका छन् ।
देउवा स्वयम्ले आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका थिए । तर, देउवा पदाधिकारी बैठकमा नजाने निर्णय भएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
उनले आज बस्ने पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ललितपुरको कुपण्डोलस्थित एक होटलमा हुने जानकारी दिए ।
हिजो रातिसम्म देउवा बैठकमा सहभागी हुने निश्चित थियो, तर आज बिहान उनले सुरक्षा ‘थ्रेड’लाई लिएर बैठकमा नजाने निर्णय गरेका हुन् ।
जेन–जी आन्दोलनका क्रममा उनीमाथि गत २४ भदौमा आक्रमण भएको थियो । प्रदर्शनकारीले उनको बूढानीलकण्ठस्थित घरमा आगजनी गरेका थिए । हाल देउवाले आफू रहेको निवास सार्वजनिक गरेका छैनन् ।
जेन–जी आन्दोलनपछि परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल तथा केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
देउवाले २६ असोजमा हुने केन्द्रीय समितिको बैठकमा भने सहभागी हुने बताएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८