नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिको उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बनाउने भएको छ । मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेका न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टी पदाधिकारी बैठकले निर्णय गरेको र आफूलाई उम्मेदवारी दिन भनिएको न्यौपानेले बताइन् ।
उनले भनिन्, ‘पार्टी पदाधिकारी बैठकले निर्णय गरेको भन्ने सुनियो । अहिले घरबाट निस्किदैँ छु, आधा घण्टापछि उम्मेदवारी दर्ता गर्छु होला ।’
समितिका सदस्य दिलेन्द्रप्रसाद बडुलाई सभापति बनाउने तयारी भए पनि अन्तिम समयमा आएर संसदीयु सुनुवाइ समितिका सभापति रहेका न्यौपानेलाई त्यहाँबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने पदाधिकारी बैठकले निर्णय गरेको हो ।
समिति सभापतिका लागि मंगलबार मनोनयन दर्ता र बुधबार निर्वाचनको तालिका छ । कुलिङ पिरियड छेडखानीमा संसदीय समितिले नैतिक जिम्मेवार ठहर्याएपछि तत्कालीन सभापति रामहरि खतिवडाले गत साउन २८ मा राजीनामा दिएका थिए ।
रिक्त सभापतिका लागि दिलेन्द्र बडु, सरिता प्रसाई, अम्बिका बस्नेत लगायतका सांसद आकांक्षी देखिएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८