• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

नेपाल बारमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

  • खबरदाता

नेपाल बारमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

नेपाल बार एसोसिएसनमा प्रा।डा विजयकान्त मिश्रको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । बार एसोसिएसनद्वारा आज आयोजित वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा यसअघिका अध्यक्ष गोपालकृष्ण घिमिरेको कार्यसमितिले नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको हो ।

बारको अध्यक्षसहित २७औँ केन्द्रीय कार्यसमिति चयनका लागि गत चैत २३ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनमा वृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनले बारमा २५ जना नयाँ कार्यसमिति चयन गरेको हो ।

पदभार हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिश्रले नेपाल बारलाई राजनीतिबाट मुक्त तुल्याउने, वकिलहरूको पेसागत हकहितका लागि आवाज उठाउने साझा र बलियो संस्थाका रूपमा अघि बढाउने अभियानमा साथ सहयोगको अपेक्षा गरे।

उनले भने, ‘निर्वाचनका बेला जारी गरिएको घोषणपत्र कार्यान्वयन, संस्थालाई राजनीतिबाट मुक्त, गतिविधिलाई पारदर्शी र नतिजा मूलक बनाउन नयाँ कार्यसमितिले ध्यान पुर्‍याउने छ ।’

अध्यक्षका प्रत्यासी श्रेष्ठले निर्वाचनमा राजनीतिक दल र सरकारको प्रत्यक्ष असर पर्न नहुने धारणा राखे। उनले बारका निर्णय तथा गतिविधिमा राजनीतिक दल र सरकारको प्रभाव परेमा वा त्यस प्रकारका गतिविधि भएमा स्वीकार्य नहुने बताए।

श्रेष्ठले भने, ‘बारले वकिलको हकहित र कतिपय सन्दर्भमा न्यायलयबारे उठ्दै आएको प्रश्नलाई स्वतन्त्रपूर्वक निष्कर्षमा पुर्‍याउन कोसिस गर्नुपर्छ ।’

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्तव्य राख्ने अन्य वक्ताले पुर्खाले आर्जेको प्रतिष्ठा र एकताको भावसहित निष्पक्ष वातावरणमा काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिए ।

  • प्रकाशित मिति : वैशाख ६, २०८२, शनिवार १९:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८