• असार १३, २०८३, शनिवार Saturday, 27 June, 2026

चिसोले विद्यार्थी बिरामी भएपछि पठनपाठन प्रभावित

  • खबरदाता

चिसोले विद्यार्थी बिरामी भएपछि पठनपाठन प्रभावित

बागलुङ- चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ।

उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताए। विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया देखिँदा पढाइ प्रभावित भएको उनको भनाइ छ। जाडो याममा ढोरपाटनमा हिउँदमा विद्यालय बन्द हुने गर्छ।

पुस महिनाभर पठनपाठन गर्ने योजना बनाए पनि चिसोका कारण छिट्टै विद्यालय बन्द गर्ने स्थिति देखिएको अदैले बताए।

कक्षा ९ र १० का लागि बिहान सञ्चालित ट्युसन कक्षामा विद्यार्थी कठ्याङ्ग्रिएर पढ्न नसक्ने अवस्था भएको उनको भनाइ छ। विद्यालयमा ‘हिटर’को व्यवस्थापन नहुँदा बालबालिकालाई चिसोबाट जोगाउन समस्या भएको छ।

“बिहान तुसारोले खेलमैदान पुरिएको हुन्छ, बिहान १० बजे घाम लाग्ने हुँदा समयमै पठनपाठन सुरु गर्छौँ, साँझ ३स्३० बजेनै छुट्टी गर्छौँ”, उनले भने। ढोरपाटनका अधिकांश हुने खाने वर्गले छोराछोरी पोखरा, काठमाडौँलगायतका ठाउँमा पढाउने गरेका छन्।

ढोरपाटन उपत्यका क्षेत्रमा ज्योति विकास माध्यमिक विद्यालय, सिद्धबराह प्राथमिक विद्यालय, सहलथान प्राथमिक विद्यालय, बाल ज्योति प्राथमिक विद्यालय, ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र ढोरबहारा प्राथमिक विद्यालय सञ्चालनमा छन्। यी विद्यालय चिसोका कारण हरेक वर्ष पुस दोस्रो सातादेखि बन्द हुने गर्छन्।

  • प्रकाशित मिति : मंसिर १०, २०८१, सोमवार ०६:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८