• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

  • खबरदाता

मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।

आजनै नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आज नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । ती अधिकारीले भने, “प्रधानमन्त्रीद्वयबीच संक्षिप्त भेटवार्ता हुनेछ ।”

प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । प्रधानमन्त्री यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामानुसार नेसनल डेमोक्र्याटिक एलायन्स (एनडीए) २९३ स्थानमा विजयी भएको छ । प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले २४० सिट जितेको छ ।

एनडीएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न तेस्रो कार्यकालका निम्ति शपथग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ ।

मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै भारत सरकारले श्रींकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ ।

 

  • प्रकाशित मिति : जेठ २७, २०८१, आइतवार ०५:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८