• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पश्चिमी वायु ढिलो पूर्व सर्दै, आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • खबरदाता

पश्चिमी वायु ढिलो पूर्व सर्दै, आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

फागुन ८, २०८०

चितवन । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ ।

विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौंमा आज आंशिकदेखि सामान्य बदली हुनेछ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौंमा आज बादल लाग्ने र घाम लाग्ने दुवै हुनेछ । “काठमाडौंमा आज वर्षाको धेरै सम्भावना छैन । भयो भने पनि छिटपुट वर्षा मात्रै हुनेछ,” मौसमविद् मानन्धर  भन्छिन्, “छिटपुट वर्षा भयो भने दिउँसोतिर हुनेछ ।”

पश्चिमी वायु पश्चिमबाट पूर्वतर्फ ढिलो सरिरहेको उनको भनाइ छ । “यो प्रणालीले पनि ठूलो अथवा भारी वर्षा वर्षा गराउने त होइन, सानो वर्षा गराउने हो । तर यो पनि पश्चिमबाट पूर्वतर्फ ढिलो सरिरहेको छ । पश्चिमबाट पूर्वमा आइपुग्दा पानी पार्ने जलवास्पयुक्त प्रणाली कमजोर भइसकेको हुन्छ,” उनले भनिन् ।

विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

  • प्रकाशित मिति : फागुन ८, २०८०, मंगलवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८