• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

अस्ट्रेलियामा विद्यार्थीमाथि अध्यागमनको कडाइ

  • खबरदाता

अस्ट्रेलियामा विद्यार्थीमाथि अध्यागमनको कडाइ

कात्तिक २४, २०८०

अस्ट्रेलियन सरकार र अध्यागमन विभागले अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कसिलो नीति लागु गरेपछि यसको चपेटामा नेपाली विद्यार्थीहरू पनि पर्न थालेका छन्।

अस्ट्रेलियन सरकारले तोकेको साप्ताहिक २४ घन्टे काम र कलेजको हाजिरीमा कडाइका साथ छड्के नजर पार्न थालेपछि केही नेपाली विद्यार्थीहरू मारमा पर्न थालेका हुन्।

पछिल्ला केही महिनादेखि नेपाली विद्यार्थीहरूको लागि पनि निकै कठिन भएको अस्ट्रेलियाको शैक्षिक गन्तव्यमा यो कडाइ नीतिले थप अप्ठ्यारो स्थिति सृजना गरेको छ।

अस्ट्रेलियन अध्यागमनको पछिल्लो आंकडा हेर्ने हो भने करिब ७० हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च अध्ययनमा छन्। त्यसमाथि पनि विश्वविद्यालयस्तरमा चालिस प्रतिशत र प्राविधिक ९भेट० शिक्षामा ६० प्रतिशत नेपाली विद्यार्थी अध्ययनरत तथ्यांकले देखाउँछ।

बग्रेल्ती खुलेका भेट कलेजहरूको शैक्षिक स्तर र नियमनको समस्याले पनि विद्यार्थीहरूको हेलचक्र्याइँ बढेको कारण पढाइमा भन्दा कमाइमा बढी ध्यान दिने विद्यार्थीहरू यतिखेर अस्ट्रेलियन सरकारको निगरानीमा पर्न थालेका छन्।

सरकारको होम अफयर्स विभागले विद्यार्थीको सबै खाले डाटा खोतलेर कर छली गर्ने र करको दायरामा समेत नआउने विद्यार्थीमाथि पनि एटिओमार्फत् कारबाहीको दायरामा ल्याउन कसरत गरेपछि दुई वटा काम गर्ने र नगदमा काम गर्नेहरू अत्तालिएका छन्।

नेपाल गएका दुई नेपाली विद्यार्थीहरू बिदा मनाएर अस्ट्रेलिया फर्कने क्रममा कलेजको हाजिरी र बढी काम गरेको पाइएपछि भिसा रद्द भएको समाचार आएपछि सिड्नीमा विद्यार्थीहरू धमाधम काम छाड्दै नियमित कलेज आउन थालेका छन्।

भर्खरै डेढ महिनाका लागि नेपाल गएकी निशा ९नाम परिवर्तन० ले यी खबर साथीभाइमार्फत् सुनेपछि डेढ हप्तामै आफ्नो बिदा छोट्याएर फर्कने भएकी छन्।

सेतोपाटीसँग कुराकानी गर्दै निशाले भनिन्, ुखोई के हो सबैले हल्ला गर्न थाले त्यसैले पनि बिदा छोट्याएर फर्कन लागेको हुँ।ु

सिड्नीमा डिप्लोमा पढिरहेकी सातदोबाटोकी सरिता केसीले महँगो फी र बसाइका लागि पनि विद्यार्थीले कम्तीमा काम गर्न पाउनुपर्ने दायरा बढाउनु पर्ने तर्क राख्छिन्।

‘२४ घन्टाको कामले त खान र बस्न ठीक्क हुन्छ तर यहाँको विश्वविद्यालयको महँगो फी तिर्न अब नेपालबाट पैसा झिकाउनु पर्ने भोु, सरिताले भनिन्।

सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले तोकिएको समय र करको दायरामा नबस्ने र नगदमा काम गर्ने बढी पाइएकोले पनि अस्ट्रेलियन कर कार्यालयले यसमा कडाइ गर्न थालेको हो। यसअघि कोरोनाका कारण कामदारको अभाव हुँदा भने सरकारले विद्यार्थीलाई समेत काम गर्न पूर्ण छुट दिएको थियो।

सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको हकमा तोकिएको साप्ताहिक २४ घन्टाको समयसीमाभित्र रहेर काम गर्न र भिसा कन्डिसनलाई उल्लंघन नगर्न आग्रह गर्छन् एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु संयोजक बिनोद कुँवर।

एक्स्ट्राटेक आइटी एन्ड एकाउन्टिङ सर्भिसका प्रशिक्षक ट्रेनर समेत रहेका उपाध्यक्ष कुँवर कुनै पनि देशमा अध्ययन गर्न आएपछि त्यहाँको नीति नियम र कानुन मान्नुपर्ने सबैको दायित्व हुने बताउँछन्। त्यसमाथि पनि विद्यार्थीले प्रारम्भमै आफ्नो भिसा कन्डिसनमा यी सबै नीति नियम मान्छु भनेर सहीछाप समेत गरिसकेको हुनाले यसलाई अक्षरसस् पालना गर्नुपर्ने बताउँछन् उनी।

अहिलेसम्म करिब हजारौं नेपाली विद्यार्थीलाई आइटी र एकाउन्टिङमा जागिर लगाउन सफल भैसकेको कुँवर विद्यार्थी जीवन अनुशासित भएमा मात्र त्यसले पछि प्रतिफल दिने हुनाले सबैलाई काम र कमाइमा भन्दा पनि पढाइ र बसाइमा ध्यान दिन आग्रह गर्छन्।

होम अफयर्स विभागले विद्यार्थीहरूले प्राप्त गरेको प्रवेशाज्ञाको आधार उल्लंघन गरेपछि यस्तो कारबाहीको हकदार बन्न सक्ने कानुन व्यवसायी कल्याण खड्का बताउँछन्।

यस्तो अवस्थामा होम अफयर्स विभागले एनइसिसी अर्थात् नोटिस अफ इन्टेन्सन टु कन्सिडर क्यान्सिलेन्सन अफ भिसाको सूचना जारी गर्न सक्छ। यो विद्यार्थीलाई विभागले सोधपुछको लागि प्रारम्भमा पठाउने पत्राचार हो। यसमा विद्यार्थीले पुनरावेदन गर्न पाउने ठाउँ समेत रहन्छ। अध्यागमन विभाग र अस्ट्रेलियन कर कार्यालयबीच आपसमा समन्वय भई एकअर्कामा तथ्यांक अनुगमन गर्ने सहमति भएपछि धमाधम विद्यार्थीमाथि कडाइ गरिन लागिएको हो।

  • प्रकाशित मिति : कात्तिक २४, २०८०, शुक्रवार ०६:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८