• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बागलुङमा उत्पादन भयो ६० हजार मेट्रिकटन आलु

  • खबरदाता

बागलुङमा उत्पादन भयो ६० हजार मेट्रिकटन आलु

बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ।

केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने किसानहरू व्यावसायिक रूपमा आलु खेतीमा छन् ।

गत आर्थिक वर्षमा आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धिमा सहयोग गरेको ज्ञान केन्द्रले चालु वर्षमा तीन करोड ६० लाख बजेट बिनियोजन गरेको छ । ज्ञान केन्द्रको लागि बिनियोजित कूल बजेटको झन्डै आधा बजेट आलु प्रवर्द्धनका लागि छ । चालु आर्थिक वर्षमा ज्ञान केन्द्रका लागि आठ करोड ६ लाख ४८ हजार रुपैयाँ विनियोजन गरेको छ ।

कृषि ज्ञान केन्द्रबाहेक स्थानीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन् । आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई आलुको बीऊ, कृषि औजारदेखि बजारीकरणमा सहयोग पुर्‍याइने कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले बताए ।

ुकृषकलाई आलुको बिऊ उपलब्ध गराउँछौँ । सिँचाइका सामग्री र उपकरण पनि सहयोग गर्छौँ,ु उनले भने, ुउत्पादित आलुको बजारीकरणमा पनि सहयोग पुर्‍याउँछौँ ।ु गत वर्ष बागलुङमा तीन हजार छ सय ५५ हेक्टर जमिनमा आलु खेती गरिएको थियो । किसानले उत्पादित आलुमध्ये ३० प्रतिशत खानका लागि र ७० प्रतिशत आलु बिक्री गरिरहेका छन् ।

  • प्रकाशित मिति : भदौ १२, २०८०, मंगलवार १६:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८