भदौ २, २०८०
संविधान सभा अध्यक्ष एवं नेकपा (एमाले)का नेता सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन्।
सङ्घीय संसद्द्वारा शनिबार आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रियामा बोल्दै नेम्वाङले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँग नभएको बताएका हुन्। “संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन,” एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, “राजनीतिक रुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको साढे ६० किलो सुनको विषयलाई लिएर एमालेले संसद् अवरुद्ध गर्दै आएको छ। सुन तस्करीको छानिबनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेले माग गरिरहेको छ।
सत्तारुढ गठबन्धनले भने छुट्टै छानबिन समिति आवश्यक नभएको जनाएको छ। सुन तस्करीको राज्यका निकायले नै छानबिन गरिरहेकाले छानबिन समिति गठन गर्न नहुने निष्कर्ष निकालेको छ।
एमालेले भने उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद् चल्न नदिने अडान लिएको छ। जसले गर्दा एक महीनादेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन। यस्तो वेला एमाले संसदीय दलका उपनेता नेम्वाङले संसद्को अवरोधलाई संविधान र नियमसंगत नभएको अभिव्यक्ति दिएका छन्।
त्यस्तै, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि संसद् अवरुद्ध गर्नु ठीक नभएको बताए। “सदन अवरुद्ध मलाई मन परेको छैन, अवरोध नगरौं, संवाद गरौंं, संवादको विकल्प संवाद मात्रै हो,” श्रेष्ठले भने, “अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन कि भन्ने लाग्छ।”
उपसभामुख इन्दिरा रानाले पत्रकारिता संसद् र आमनेपाली जनताको ऐनाका रुपमा रहेको धारणा व्यक्त गरिन्। “मुलुकको सञ्चार जगतले राष्ट्र र जनताको हितका पक्षमा सधैँ चनाखो भएर कलम चलाउन आवश्यक छ,” उपसभामुख मगरले भनिन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८