साउन- १७,२०८०
जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा फैलिएको लम्पी स्किन रोगले यहाँका तीन सय ६५ पशुचौपाया मरेका छन् । पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण तीन सय बढी पशुहरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले जानकारी दिए।
जिल्लाका स्थानीय तहका करिब पाँच सय गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । एक हजार सात सय पशुलाई उपचार गरिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ । अहिले कार्यालयमा प्रदेशबाट थप औषधि आएकाले स्थानीय तहलाई लिन परिपत्र गरिएको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ ।
सो सङ्क्रमणबाट पशुहरु धमाधम बिरामी हुन थालेको तिला गाउँपालिका–१ स्थानीयवासी नौसेर रावतले जानकारी दिए । जुम्लालगायत कर्णालीमा लम्पी स्किनबाट आठ हजार सात सय ९३ पशुचौपायाको मृत्यु भएको छ । दुई लाख १७ हजार एक सय ३४ पशुचौपाया उक्त रोगबाट सङ्क्रमित भएको कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
लम्पी स्किनबाट विशेष गरी दैलेख, जाजरकोट, जुम्ला, हुम्लालगायत जिल्ला बढी प्रभावित छन् । पशुचौपायाको सङ्क्रमण र मृत्युबाट कर्णालीमा रु १७ करोड ५३ लाख ७६ हजार बराबरको आर्थिक क्षति भएको प्रदेशको पशुपन्क्षी विकास निर्देशनालयका प्रमुख कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८