साउन-१३, २०८०
भुसुनाको टोकाइबाट लाग्ने लम्पी स्किन रोगबाट नेपालमा ५० हजार गाईभैंसी मरेका छन् ।
पशुसेवा विभागका १२ साउनसम्म ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेका हुन् । जसमा कोशीमा ५ हजार ४२, मधेसमा १ हजार ७ सय, वाग्मतीमा ३ हजार ४७६, गण्डकीमा २ हजार २९५, लुम्बिनीमा ४ हजार, कर्णालीमा ८ हजार ७०३ र सुदूरपश्चिममा २५ हजार ६१० पशु मरेका छन् ।हालसम्म २७ अर्ब २२ करोड ५० लाखको क्षति भइसकेको छ।यो अवधिमा १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएका छन् । तर, २ लाख ४८ हजार संक्रमित अवस्थामा छन् ।
कुल ३ लाख ५० हजार पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । तर, सरकारले न पशु चिकित्सक र पशु प्राविधिक खटाउन सकेको छ न त रोगविरुद्ध खोप नै निशुल्क दिएको । धेरैजसो ठाउँमा किसानले आफै किनेर गाईभैंसीलाई खोप लगाइरहेका छन् भने केही ठाउँमा स्थानीय तहले निशुल्क उपलब्ध गराइरहेका छन् ।
केन्द्र सरकार भने यस विषयमा मौन छ । तर, लम्पी स्किन रोगबाट सवा एक खर्ब रुपैयाँभन्दा बढीको क्षति हुने अनुमान गरिएको छ । ७७ मध्ये ७६ वटा जिल्लामा फैलिसकेको लम्पी नियन्त्रण तथा रोकथामका लागि कदम चाल्न नेपाल पशु चिकित्सा परिषद्ले सुझाव समेत दिएको छ।
समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेमा २५ लाख २६ हजार पशुमा संक्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने अनुमान पनि परिषद्ले गरेको छ ।
नेपालमा सन् १९४० को दशकमा गाईवस्तुमा फैलिएको गगौटी रोगको महामारीले ठूलो क्षति निम्त्याएको थियो ।नेपालमा पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईगोरुमा रोग देखा परेको थियो । रोगबाट हाल कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी प्रभावित भएका छन् । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने र र्याल सिँगान बग्नेजस्ता लक्षण देखा पर्छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८