• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

जुम्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्या घट्दै

  • खबरदाता

जुम्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्या घट्दै

साउन  ४, २०८०

 

 

सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ । विगत वर्षको तुलनामा गत आवमा जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्यामा कमी आएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेम सुमाइले जानकारी दिएका छन् ।

उक्त कार्यालयको तथ्याङ्कनुसार आर्थिक वर्ष २०७७-७८ मा जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्या आठ सय ६० जना थियो । जसमा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा एक सय ९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ किशोरी रहेका छन् । पातारासीमा एक सय ३४, कनकासुन्दरीमा ९०, सिञ्जामा ६८, गुठीचौरमा ९५, तिलामा एक सय ४० र हिमामा ७७ जना गरी जम्मा आठ सय ६० जुम्लाका किशोरी सो आवमा उमेर नपुग्दै गर्भवती अर्थात् आमा बनेका थिए ।

उनीहरूबाट जन्मिएका एक सय ८० बच्चा कम तौलका रहेको सो कार्यालयले जनाएको छ । दुई वर्ष पहिला २० वर्ष नपुग्दै आमा अर्थात् गर्भवती हुने किशोरीको सङ्ख्या आठ सय ६० रहेकोमा आव २०७९-८० मा दोब्बरले घटेर तीन सय १० कायम भएको कार्यालय प्रमुख सुमाइको भनाइ छ ।

तीन सय १० जना किशोरीमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा एक सय २७ जना किशोरी २० वर्ष नपुग्दै सुत्केरी भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सबैभन्दा कम सिञ्जा गाउँपालिकामा पाँच जना २० वर्ष नपुग्दै सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । चन्दननाथ नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले बढी देखिएको हो ।

यस वर्षको तथ्याङ्कले जुम्लामा बालविवाह घट्दै गएको देखाए पनि अवस्था सन्तोषजनक नरहेको तातोपानीका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंले जानकारी दिए । अझै गाउँघरमा बालविवाहका असर तथा कानुनी दण्ड सजायबारे सचेतना फैलाउन जरुरी रहेको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाको धारणा छ । तथ्याङ्कले बालविवाहमा अपेक्षित सुधार नआए पनि बालविवाह दर घट्दो क्रममा रहेको स्थानीय तहका महिला तथा बालबालिका शाखाले जनाएको छ ।

  • प्रकाशित मिति : साउन ४, २०८०, बिहीवार ०६:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८