• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना गाउँपालिका

  • रासस

श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना गाउँपालिका

असार १०, २०८०

 

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण शुरू गरेको छ ।

इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न शुरू गरिएको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिवार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गरे । उनले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेको भन्दै पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताए ।

उनले श्रमदानका लागि जनप्रतिनिधि, कर्मचारी र स्थानीय वासिन्दालाई आह्वान गरिएको जानकारी दिए ।

‘३० देखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गर्नेछौं,’ उनले भने, ‘प्राविधिक र निर्माण सामग्रीका लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्था गरेको छ ।’ उनले पुल निर्माणका लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

असार महिनाभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको भन्दै उनले पालिकाले नियमित निगरानी गर्ने बताए ।

यसअघि हरिपुर खोलामा राखिएको बेलीब्रिजको संरचना प्रयोग गर्ने गरी स्याङ्दी खोलमा पुल निर्माण गर्न लागिएको इच्छाकामना–७ का वडाध्यक्ष बमबहादुर रानामगरले जानकारी दिए । हरिपुर खोलामा अहिले पक्की पुल निर्माण भइसकेको छ ।

उनले बेलीब्रिज राख्नका लागि वडावासीले श्रमदान गर्ने बताए । उनले पुल निर्माणपछि गर्दास र स्याङ्दीका वासिन्दा लाभान्वित हुने जानकारी दिए । हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण विद्यालय जाने विद्यार्थी र स्थानीयले सास्ती खेप्दै आउनुपरेको थियो ।

 

  • प्रकाशित मिति : असार १०, २०८०, आइतवार ०९:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८