असार ४, २०८०
दाङमा बोक्सी आरोप लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-२ निमुरीया बस्ने करिब ४५ वर्षका झाँक्री यमबहादुर सार्की र घोराही-३ गौरीगाउँ बस्ने करिब ३३ वर्षीया सरस्वती गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
गत जेठ ३१ गते गुरुङले आफ्ना छोराछोरी बिरामी भएको भन्दै यमबहादुरलाई बोलाएर घरमा झाँक्री बसाएको र सोही क्रममा देउरानी र जेठानी नाता पर्ने गाउँका दुई महिलालाई ‘तिमीहरू बोक्सी लागेर मेरो छोरा खान लागेको’ भन्ने आरोप लगाएका थिए।
आफूहरूको मान प्रतिष्ठामा आँच आउने गरी सामाजिक रूपमा बहिष्कार गराउन बोक्सीको आरोप लगाएको र अपमानजनक व्यवहार गरेको भन्दै पीडितहरूले यमबहादुर र सरस्वतीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।
जाहेरीका आधारमा उनीहरूलाई गत जेठ ३१ गते गते बिहान २ बजे बोक्सीको आरोप लगाएको प्रमाणसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए।
बोक्सीको आरोप कसूर र सजाय ऐन २०७२ को दफा ३ को (च) अन्तर्गत धामी झाँक्रीको माध्यमद्वारा बोक्सीको आरोप लगाउन नहुनेसम्बन्धी कसूरमा दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८